हाल अमेरिकामा कोभिड—१९ को एक नयाँ सब भेरियन्ट फैलिरहेको छ । त्यस्तै, यूकेमा पनि केही व्यक्तिमा यसको संक्रमण देखिएको छ । हामीले एक्सबीबी.१.५ भेरियन्टबारे जान्नैपर्ने कुराहरु के—के छन् त ?
एक्सबीबी.१.५ के हो ?
यो विश्वमा भयानक तरिकाले फैलिएको कोभिड–१९ को भेरियन्ट ओमिक्रोनको सबभेरियन्ट हो । सन् २०२१ मा देखा परेको यो भेरियन्ट नै अल्फा, बेटा, गाम्मा र डेल्टा गरी विभिन्न रुपमा देखा परिसकेको छ ।
त्यस्तै ओमिक्रोनका विभिन्न विषालु सबभेरियन्टहरु पनि देखा परिसकेका छन् । एक्सबीबी.१.५ भेरियन्टका लक्षण पनि ओमिक्रोनका पछिल्ला सब भेरियन्टहरुसँग मिल्दोजुल्दो रहेको विज्ञहरुले जनाएका छन् ।
के यो धेरै संक्रमण फैलाउने र खतरनाक छ ?
एक्सबीबी.१.५ एक्सबीबीबाट उत्पति भएको हो, जुन सन् २०२२ को सेप्टेम्बरमा युकेमा देखा परेको थियो । एक्सबीबीले मानिसको प्रतिरक्षा प्रणलीलाई कमजोर बनाउने गुण बोकेको थियो ।
तर, यसको यही गुणले गर्दा यसले मानिसहरुको कोषलाई संक्रमण भने गर्न सकेन् । इम्पेरियल कलेज लण्डनकी प्रोफेसर वेन्डी बार्कलेले संक्रमण गराउने भाइरसहरुले मानिसको प्रतिरक्षा प्रणालीलाई कमजोर बन्दै कसरी शरीरभित्र प्रवेश गर्ने भनेर बाटो खोजिरहने बताइन् । उनले एकपछि अर्को तह पार गर्ने जसरी भाइरसहरुले पनि मानव शरीरलाई क्षति पु¥याउन सक्रिय रहेको बताइन् ।
हप्तामा ५ हजार कोभिडका नमुनाहरु परीक्षण गर्दै आएको स्यान्जर इन्स्टिच्युटका डा. इवान ह्यारीसनले एक्सबीबी.१.५ एकै व्यक्तिमा दुई वटा प्रकारका ओमिक्रोनले संक्रमण गरेपछि उत्पत्ति भएको हुनसक्ने बताए ।
एक्सबीबी.१.५ कहाँ फैलिरहेको छ ?
अमेरिकाको ४० प्रतिशत कोभिड संक्रमण यसैबाट भएको विश्वास गरिएको छ र यसैले हाल अमेरिकामा संक्रमण बढाइरहेको छ ।
डिसेम्बरको सुरुवाती महिनामा ४ प्रतिशतमा मात्र संक्रमण भेटिएको यो भेरियन्टले संक्रमणमा ओमिक्रोनको अर्को रुप लिएको छ ।
केही हप्तामै अमेरिकाका कोभिड अस्पतालहरुमा संक्रमण भएर भर्ना हुने पनि बढिरहेका छन् । त्यस्तै अमेरिकी सरकारले निःशुल्क कोभिड परीक्षणका सेवाहरुको पुनः सुरुवात गरिसकेको छ ।
के वैज्ञानिकहरु यो भेरियन्ट देखेर त्रसित भएका छन् ?
प्रोफेसर बार्कले भन्छिन्, ‘यूकेका जनताहरुलाई संक्रमण हुन्छ भनेर हाल चिन्ता भने छैन । किनकी, यसको विरुद्ध भ्याक्सिनले सुरक्षा दिन्छ ।’ तर, उनले आफू कमजोरहरुका प्रति भने डराएको बताएकी छन् । प्रतिरक्षामा कमी भएकाहरुलाई यो खतरनाक हुनसक्ने उनले बताइन् ।
त्यस्तै, लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका प्रोफेसर डेबिड हेम्यानले यसले यूकेजस्तो पूर्णरुपमा खोप लगाएको देशमा यो भेरियन्ट धेरै फैलिन नसक्ने बताउँदै यो भेरियन्टबाट केही अध्ययन गर्न सकिने बताएका छन् । उनले आफू चीनको अवस्थामा भने डराएको बताउँदै कम मात्रामा खोप लगाएको र प्राकृतिक रुपमा प्रतिरक्षा प्रणाली कमजोर भएकले ती देशमा फैलिन सक्ने बताएका छन् ।
त्यस्तै उनले चीनले खोप नलागाएकाहरुमा यो भेरियन्ट कुन रुपमा छ त्यो बारेमा क्लिनिकल जानकारी दिन आवश्यक रहेको उल्लेख गरेका छन् ।
बीबीसीबाट भावानुवाद