२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यजाडोमा हृदयघातको जोखिम बढ्दो : कसरी बच्ने ?

जाडोमा हृदयघातको जोखिम बढ्दो : कसरी बच्ने ?


पछिल्ला एक–दुई वर्षमा मुटु रोग विशेष गरी हृदयघातका घटना निकै बढेको पाइएको छ । धेरै अवस्थाहरूले यो जोखिम बढाउन सक्छ, स्वास्थ्य विशेषज्ञहरूले मानिसहरूलाई चिसो मौसमले मुटुको स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावहरूबारे पनि सचेत गराइरहेका छन् ।

यस मौसममा लापरबाहीले हृदयघातजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ । पहिलेदेखि नै मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई थप सावधानी अपनाउन सल्लाह दिइन्छ ।

मुटु रोगको बढ्दो जोखिमका कारण सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले अपिल गरेका छन् । पछिल्लो समय ३० वर्ष मुनिका मानिसमा यसको जोखिम देखिएको छ । यस्तो बढ्दो खतराबारे चिकित्सकहरू भन्छन्, चिसो मौसमले मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यस समयमा सबैले सतर्कता अपनाउन जरुरी छ ।

हृदय स्वास्थ्यलाई असर गर्ने कारकहरू
मौसम र हावापानीले मुटुको स्वास्थ्यमा पार्ने असरबारे गरिएको अध्ययनमा शोधकर्ताहरूले तापक्रम, भिटामिन डी, सीरम कोलेस्ट्रोलको मात्रा, शारीरिक निष्क्रियता, हर्मोन, वायु प्रदूषण, सङ्क्रमण, उमेर, लिङ्ग, आहार र मोटोपना हृदयाघातसँग सम्बन्धित रहेको पत्ता लगाएका छन् । यी अवस्थाहरू हृदयघातको जोखिममा छन् साथै हृदयको स्वास्थ्यमा धेरै तरिकामा नकारात्मक प्रभावहरू छन् । यो जोखिम चिसो मौसममा उल्लेखनीय रूपमा बढ्छ, त्यसैले सबै मानिसहरूलाई सतर्क रहन सल्लाह दिइन्छ ।

चिसो मौसममा समस्या बढ्न सक्छ
मुटु रोग विशेषज्ञ डा. विभव सिंह बताउँछन्, चिसो मौसममा हाम्रो शरीरले स्वाभाविक रूपमा तापक्रम सन्तुलनमा राख्ने प्रयास गर्छ । जब बाहिरको तापक्रम घट्न थाल्छ, शरीरले त्यही अनुसारको तापक्रम सेट गर्न कडा मेहनत गर्नुपर्छ । यसका कारण बीएमआर (बेसल मेटाबोलिक रेट) बढ्छ । बेसल मेटाबोलिक दरले शरीरको मेटाबोलिज्म मापन गर्दछ । यसबाहेक जाडो मौसममा नसामा सङ्कुचन हुने समस्या पनि बढ्छ, जसका कारण मुटुमा अतिरिक्त दबाब बढ्ने खतरा हुन्छ ।

हृदय रोगको जोखिम कारकहरू बारे जान्नुहोस्
मुटु रोगको जोखिम अहिले सबैलाई कायम रहे पनि केही कारणले यो जोखिम बढेको भारतीय चिकित्सक डा. विभव बताउँछन् । पहिले नै हृदयघात भइसकेका वा मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल जस्ता जोखिममा रहेका व्यक्तिहरूलाई यो मौसममा हृदयघातको जोखिम बढ्छ । यस्ता व्यक्तिहरूलाई मुटुको स्वास्थ्यमा विशेष सावधानी अपनाउन सल्लाह दिइन्छ ।जाडो मौसममा पनि नियमित योग–व्यायाम गर्ने बानी बसाल्नुका साथै अतिरिक्त दबाब नआओस् भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

मुटुलाई कसरी स्वस्थ राख्ने ?
मुटुको स्वास्थ्य ठिक राख्नको लागि जीवनशैली ठिक राख्नु अति आवश्यक छ । स्वस्थ आहार र नियमित व्यायाम गर्ने बानीले धमनीहरूलाई स्वस्थ राख्न र मुटुलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । जाडोमा उच्च क्यालोरीयुक्त खानाको सेवन कम गर्नुहोस् । अत्याधिक चिसोबाट जोगिनुहोस्, यदि तपाईँ पहिले देखि नै मुटु रोगको औषधि लिइरहनुभएको छ भने, यसमा लापरबाही नगर्नुहोस् । थोरै ख्याल गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

उमरउजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ