२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्ययोग गर्ने सही समय र फाइदाहरू

योग गर्ने सही समय र फाइदाहरू


व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट् कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ ।

योगले शरीरको अङ्ग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्वोत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यस कारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ ।

मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वास्थ्य बनाउन योगले महत्त्वपूर्ण काम गर्छ ।

योगको नियम

योग गर्ने भन्दैमा जथाभाबी गर्नु राम्रो हुँदैन । हरेक कुराको आफ्नै विधि, नियम र तौर तरिका हुन्छ । योग पनि सिलसिलाबद्ध ढङ्गले गर्नुपर्छ ।

 

१. कुनै गुरुको निर्देशन एवं परामर्शमा योग अभ्यास सुरु गरौँ ।

२. सूर्योदय वा सूर्य अस्तको समयमा योग गर्नु ठिक हुन्छ ।

३. योग गर्नुअघि स्नान गर्नु सर्वोत्तम हुन्छ ।

४. योग खाली पेट गरौँ । योग गर्नु २ घण्टाअघि केही नखाने ।

५. योगका लागि रमदायक सुती कपडा लगाउनु राम्रो हो ।

६. तन जस्तै मन पनि स्वच्छ हुनुपर्छ । योग गर्नुअघि नराम्रो बिचार त्याग्नुपर्छ ।

७. कुनै शान्त वातावरण र सफा स्थानमा योग गरौँ ।

८. योग गरिरहँदा धैर्यता र दृढता आवश्यक हुन्छ ।

९. निरन्तर योग अभ्यास जारी राखौँ ।

१०. योग गरिसकेको ३० मिनेटसम्म केही नखाने ।

११. प्राणायाम जहिले पनि आसन अभ्यास पछि मात्र गर्ने ।

१२. यदि कुनै रोग छ भने चिकित्सकको सल्लाह लिएर मात्र योग थाल्नुपर्छ ।

१३. योगाभ्यासको अन्त्यमा शव सन गर्नै पर्छ ।

योगको प्रकार

योग चार किसिमको हुन्छ, राज योग, कर्म योग, भक्ति योग र ज्ञान योग ।

योग कहिले सुरु गर्ने ?

योग गर्नका लागि सूर्योदयअघिको एक वा दुई घण्टा सबैभन्दा राम्रो हुन्छ । यदि बिहान सूर्योदयअघि योग गर्न सकिएन भने सूर्यास्तको समयमा पनि योग गर्न सकिन्छ ।

योग गर्नुअघि मनलाई शान्त राख्नुपर्छ । सम्पूर्ण ध्यान योगमा केन्द्रित गर्नुपर्छ ।

–     योगाभ्यास धैर्यतापूर्वक गर्नुपर्छ । यदि शरीर लचिलो छैन भने जबरजस्तै कुनै पनि आसन गर्नु हुँदैन । बरु, बिस्तारै बिस्तारै अभ्यास गर्नुपर्छ ।

–     सुरुमा त्यही आसन गर्नुहोस्, जुन तपाई सजिलैसँग गर्नुहुन्छ ।
–     सुरुवातमा दुई आसनको बिच केही सेकेन्ड आराम गर्नुपर्छ ।
–     आसन गरेको समय सास लयबद्ध हुनुपर्छ ।
–     मासिक धर्मको बेला वा गर्भावस्थामा योग गर्दा गुरुको परामर्श आवश्यक हुन्छ ।
–     १० वर्षभन्दा कम उमेरका बच्चालाई जबरजस्ती कुनै पनि आसन गर्न लगाउनु हुन्न ।
–     योगसँगै खानपानमा संयम अपनाउनुपर्छ ।
–     पुरा निन्द्रा लिनुपर्छ । शरीरलाई व्यायाम र पौष्टिक आहारका साथै आरामको पनि जरुरी हुन्छ ।


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ