२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यगुलियो पेय पदार्थले हुनसक्छ असामयिक निधन : अध्ययन

गुलियो पेय पदार्थले हुनसक्छ असामयिक निधन : अध्ययन


गुलियो पेय पदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने एउटा नयाँ अनुसन्धानले देखाएको छ । हार्वर्ड विश्वविद्यालयको टी एच चान स्कुल अफ पब्लिक हेल्थले प्रकाशित गरेको अनुसन्धानमा धेरै गुलियो खाने मानिसको असामयिक निधनको खतरा देखिएको हो ।

सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो । “महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ,” प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन ।

अनुसन्धानले गुलियो पेय पदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बिच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ । संसारभरि गुलियो पेय पदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेय पदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ ।

हार्वर्डको अध्ययनले ‘डायट’ वा चिनी कम भएका पेय पदार्थ खाँदा कम खतरा देखिए पनि उक्त प्रकारको पेयको विश्वव्यापी खपत औसतमा प्रतिव्यक्ति प्रतिवर्ष ३.१ लिटर मात्रै रहेको जनाएको छ ।

बोतलमा बेचिने पेय पदार्थ धेरै खपत गर्ने देशको पहिलो नम्बरमा चीन रहेको छ । प्रति व्यक्ति खपत औसतमा प्रतिलिटर ४१०.७ रहेको छ । त्यस्तै अमेरिका ३५६.८, स्पेन २६७.५, साउदी अरेबिया २५८.४, अर्जेन्टिना २५०.४,नाइजेरिया २३३, जापान १८५ रहेको छ ।
चीनमा प्रतिव्यक्ति दैनिक औसत खपत एक लिटरभन्दा बढी छ ।

माथिको सूचीको पेय पदार्थमा बोतलमा पाइने पानी पनि समावेश छ । तर तथ्याङ्कले के देखाउँछ भने चीनमा सन् २०१७ मा चीनमा बोतलको पानीको खपत प्रतिवर्ष प्रतिव्यक्ति औसत ३०.८ लिटर मात्रै छ ।
सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेय पदार्थबाट दैनिक औसतमा १५७ क्यालोरी प्राप्त गर्ने तथ्याङ्क थियो ।

त्यति क्यालोरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ । कोका–कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चा बराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन ।
तर अमेरिकाभन्दा धेरै चिनी खाने देशहरू पनि छन् । गुलियो पेय पदार्थको बालबालिका र किशोर किशोरीमा पार्ने असरबारे विश्वभरि चिन्ता व्यक्त हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७५ मा मोटोपन भएका पाँचदेखि १९ वर्षका व्यक्ति एक करोड १० लाख रहेकोमा सन् २०१६ मा त्यो सङ्ख्या १२ करोड ४० लाख पुगेको थियो ।तर गुलियो पेय पदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्वर्डको अध्ययनले देखाएको छ ।


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ