२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्यो

गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्यो

लिंग पहिचान गरेर गर्भपतन गराउने गैरकानुनी परिपाटी विकास


जनकपुर—नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रुपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ ।

त्यस्तै भारतबाट नेपालमा दर्ता नभएका औषधीहरुको समेत प्रयोग बढ्दो छ । अधिकारीहरुले बताएअनुसार मधेश प्रदेशमा १२ हप्तामाथिको गर्भपतन गराउने दक्ष जनशक्ति २ जना मात्रै छन् ।

मधेश प्रदेशको जनकपुरमा ‘गर्भपतनको स्वास्थ्य मापदण्ड र यसको गलत प्रयोग’का बारेमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले असुरक्षित गर्भपतन गराउनेहरु बढ्दो क्रममा रहेको भन्दै यसलाई निरुत्साहित बनाउन सबै लाग्नुपर्ने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गर्भपतन गराउनेमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएको छ । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय यादवले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न एक्लै सम्भावना नरहेको बताए ।

यादवले सबै निकायले यसमा साथ दिनुपर्ने पनि बताए । उनले यसका लागि प्रदेशले छुट्टै निर्देशिका बनाउन थालेको स्पष्ट पारे । प्रदेशमा दक्ष जनशक्तिको अभावले पनि सुरक्षित गर्भपतन हुन नसकेको उनको तर्क छ । अनुगमनको पाटो तीब्र बनाउनुपर्ने देखिएको उनको भनाइ छ ।

मधेश प्रदेशमा ७ हजार ५ सय १३ जनाले यस वर्ष सुरक्षित गर्भपतन गराएका छन् । तर, यो संख्या अत्यन्तै न्युन भएको अधिकारीहरुले बताएका छन् । सहभागीहरुले भनेका छन्, मधेश प्रदेशमा सूचीकरण भएका स्वास्थ्य सस्थाबाट सेवा र नेपालमा दर्ता नभएका औषधी व्यापक प्रयोग भइरहेको छ । प्रदेशका पत्रकारहरुलले भनेका छन् कुन—कुन स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन गराउने भन्ने जानकारी आम नागरिकलाई दिन जरुरी देखिएको छ ।

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक रामनरेश पण्डितले प्रसुती गराउने दक्ष जनशक्तिको अभावले गर्दा पनि असुरक्षित गर्भपतन बढेको देखिन्छ । ‘प्रदेशमा दर्ता बिनाका स्वास्थ्य सस्थाको कारबाही सुरु गर्दा सेवा नै ठप्प हुने अवस्था आउँन सक्छन्,’ डा. पण्डितले भने, ‘यसलाई कडाइका साथ कानुनी दायरामा ल्याउँदै जानुपर्छ ।’

डा. पण्डित देशमा गर्भपतनको तथ्यांक निकै भयावह भएको सुनाउँछन् । हरेक वर्ष कम्तिमा १२ लाख महिला गर्भवती हुन्छन् । तर, ६ देखि ७ लाखको बीचमा मात्रै महिला सुत्केरी हुन्छन् । यो बीचको लाखौं गर्भवती महिलाले कुनै न कुनै रुपमा गर्भ फाल्ने गरेको उनको भनाइ छ ।

प्रसुती तथा स्त्री रोग र एमडिजिपी चिकित्सकले मात्रै गर्भपतन गराउने व्यवस्था छ । जिल्लाहरुमा यो दुवै जनशक्ति छैन । जिल्ला अस्पताल सबै सुचिकृत गरेको बताएपनि व्यवहारमा त्यस्तो छैन । १२ हप्ता सम्मको गर्भपतन गराउन जिल्ला अस्पताल सूचीकृत रहेका छन् । ‘तर, १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन प्रसुती तथा स्त्री रोग चिकित्सक हुनुपर्छ वा तालिम लिएको एमडिजिपी चिकित्सक आवश्यक पर्छ,’ डा पण्डित भन्छन्, ‘मधेश प्रदेशभर २८ हप्तासम्मको तालिम लिएका २ जना मात्रै स्वास्थ्यकर्मी छन् । त्यसैले असुरक्षित गर्भपतन भइरहेको छ । गर्भपतन धेरै गराएर जनतालाई फाइदा पुग्ने होइन् ।’

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य प्रा. डा. अंकुर साहले लिंग पहिचान गरेर गर्भपतन गराउने परिपाटी पनि विकास भएको बताए । ‘समाजमा महिला र पुरुष पेटमा हुँदै हेरेर आफूले नचाहेको अवस्थामा गर्भपतन गराउने परिपाटीको विकास पनि हुँदै आएको छ,’ डा साहले भने, ‘तर, यो सम्बन्धित सेवाग्राही र चिकित्सकको बीचमा मात्रै जानकारी हुने भएकाले पुष्टि गर्न सहज छैन ।’ कानुनअनुसार लिंग पहिचान गर्न पाइदैन् ।

तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार देशमा १५ सय स्वास्थ्य संस्था गर्भपतनको सेवा दिन सूचीकृत छन् । सूचीकृत स्वास्थ्य संस्थाबाट वि.सं. २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । गर्भपतनको सेवा लिनेहरु अधिकांश २० वर्षभन्दा मुनिका छन् ।

मेरी स्टोप्स इन्टरनेशनलका म्यानेजर कुमार आचार्यले गलत रुपमा हुने गर्भपतनका औषधिको प्रयोगमा सबै सचेत हुनुपर्ने बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ