रोशनी कार्की नेपाल सरकारको उपसचिव हुन् । विभिन्न सरकारी निकायको अनुभव संगालेकी उनी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत छन् । मन्त्रालयको लैङ्गिक तथा सामाजिक समानता शाखामा काम गरिरहेकी छन्, उनी । कार्कीले ओखलढुंगादेखि स्वास्थ्य मन्त्रालयको उच्च तहको जागिरेसम्म पुग्नका लागि धेरै संघर्ष गरेकी छन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका—२ को संयुक्त परिवारमा वि.सं २०३३ साल पुस १७ मा रोशनी कार्की को जन्म भएको हो । १६ जनाको उनको परिवारका सबै एउटै छानोमुनि बस्थे । आर्थिक रुपले गाउँकै सम्पन्न परिवारमा गनिन्थ्यो । रोशनीका हजुरबुबा गाउँका प्रधानपञ्च थिए । घरमा केन्द्रीय भूमिका पुरुषहरु नै हावी थिए । पुरुषहरु राजनीति गर्थे तर महिलाहरुलाई भने घरायसी कामकाजमै व्यस्त रहन्थे । गाउँमा भन्ने गरिन्थ्यो—अन्यायमा परे पञ्च राख्नु । तर, हजुरबुवा र बुबाले गाउँले अरुका लागि गरिरहेको काम रोशनीलाई भने कहिले मन परेन । किनभने केटा मान्छे घरको कामै नगरी राजनीति गरेर हिडेको रोशनीलाई मन पर्दैन थियो । पुरुषहरु पनि महिलाजस्तै घरको काम गर्नुपर्छ भन्ने सोच सानैदेखि उनमा थियो ।
उनको घर परिवारमा धार्मिक मान्यतालाई एकदमै सम्मान गरिन्थ्यो । तर, धर्म भित्रको विभेदलाई उनले सहन सक्दैन थिइन् । सानैदेखि घरमा पुरुष र महिला बीचको विभेद देखेकी रोश्नीले आफूमाथि जुनसुकै विभेदको सानैदेखि प्रतिवाद गरिन् । एक पटकको कुरा हो—घरमा बाहुन टिका लगाउँदा छोरालाई छुट्टै मन्त्र र छोरीलाई छुट्टै मन्त्र पढेर टिका लगाइदैं थियो । उनले त्यति नै खेर टिका पुछेर आफूलाई पनि भाइको जस्तै मन्त्र पढेर टिका लगाइ दिनु अड्डी कसिन् । उनले तबसम्म टिका लगाउन मानिनन्, जबसम्म पुरुषलाई टिका लगाउँदा उच्चारण गर्ने मन्त्र उनलाई टिका लगाउँदा पढिएन् । रोशनीले नमानेपछि पण्डितले पुरुषलाई टिका लगाउँदा पढिने मन्त्र ‘आयु द्रोणसुते…’ पढेर उनलाई टिका लगाएका थिए ।
५ जना भाइबहिनीमध्ये कान्छी हुन्—रोशनी । परिवारमा सबै शिक्षित भएपनि हजुरबुबाले प्रधानपञ्चका रुपमा गरेको काम उनलाई अरुको सेवाभन्दा पनि उनीहरु माथी शासन गरेजस्तै लाग्थ्यो । त्यसैले उनको सोच राजनीतितिर कहिले पनि गएन । परिवारमा सबै शिक्षित भएकाले रोशनीलाई पनि स्कुल जान भने कुनै रोकटोक भएन । उनको प्रारम्भिक शिक्षा श्री गणेश निम्न माध्यमिक विद्यालय ढुस्कीबाट अगाडि बढेको हो ।
त्यतिबेला घरबाटै परालको चकटी बोकेर स्कुलको चौरमा बसी पढेको उनी स्मरण गर्छिन् । चकटीमै बसी कक्षा ८ सम्म उनले त्यही विद्यालयमा अध्ययन गरिन् । त्यसपछि उनले घरबाट ४५ मिनेट दूरीमा रहेको रामपुरमामा गएर पढिन् । उनले वि.सं. २०४९ सालमा रामपुरबाटै एसएलसी उत्तीर्ण गरिन् ।
वि.सं. २०५१ मा उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । पद्मकन्यामा मानविकी विषय लिएर पढ्न थालिन् । त्यसपछि वि.सं. २०५८ सालमा उनले नेपाली र अर्थशास्त्रमा स्नातक सकाइन् । स्नातक पढ्दा पढ्दै उनको चिनजान उदयपुर गाइघाटका शिव कार्कीसँग भयो । शिवसँग प्रेम अकुंराएपछि उनले वि. सं. २०५४ सालमा मागी विवाह गरिन् ।
उनका श्रीमान् आँखा अस्पतालमा जागिरे थिए । श्रीमानको साथ सहयोगमै उनले वि.सं. २०६१ सालमा नेपाली विषयबाट मास्टर्स डिग्री हासिल गरिन् । त्यही बीचमा उनको एउटा छोरा जन्मिए । संयुक्त परिवार भएको हुँदा आर्थिक भार पढ्दै गएपछि रोशनीलाई पनि जागिर गर्न मन लाग्यो ।
उनले वि.सं. २०६३ साल असोज ६ गते लोकसेवामा शाखा अधिकृतमा नाम निकालिन् । ६ महिले इनसर्विस तालिमपछि वि.सं. २०६३ मा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत भएर काम गर्न थालिन् । पहिलो पटक बुहारी जागिरे भइन् भनेर उनको परिवार एकदमै खुसी छाएको थियो । त्यतिबेला तलब मासिक ९ हजार थियो । त्यसपछि उनले २ वर्ष नगर विकास समिति र भौतिक मन्त्रालयमा गरी चार वर्ष काम गरिन् । र एक वर्ष राष्ट्रिय योजना आयोगमा काम गरिन् ।
वि.सं. २०६७ सालमा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्जमा शाखा अधिकृत भएर दुई वर्ष त्यहाँ अनुभव संगाल्ने अवसर पाइन् । सगरमाथा राष्ट्रिय निकुञ्जमा काम गर्दैगर्दा उनले कहिले नदेखेको एउटा छुट्टै परिवेश देख्न पाइन् । त्यस क्षेत्रमा शेर्पा जातिको बाक्लो वस्ती छ । शेर्पा समुदायमा महिला र पुरुषबीच कुनै प्रकारको विभेद् थिएन । घरको सामान्य कामकाजमा पनि पुरुषले महिलालाई सघाउने गर्थे । उनलाई त्यहाँका मानिसहरुबाट यहाँ त विभेद् नहुने समाज पनि रहेछ भन्ने बुझिन् ।
त्यसपछि उनले केही समय युवा तथा खेलकुद मन्त्रालयमा काम गर्ने मैका पाइन् । र, त्यसपछि वि.सं. २०७३ साल प्रमुख प्रशासकीय अधिकृत भएर उनको प्रमोशन सिद्धिचरण नगरपालिका ओखलढुंगामा भयो । केही समय त्यहाँ काम गरेपछि उनले चार वर्ष जति महिला मन्त्रालयमा काम गर्ने मौका पाइन् । त्यहाँ रहेका पाँच वटै शाखामा उनले शाखा प्रमुख भएर काम गरिन् । त्यहाँ उनले लैंगिक हिंसामा, मानव बेचबिखन नियन्त्रण, महिला सशक्तिकरण तथा मूलप्रवाहिकरण, लैङ्गिक हिंसा निवारण शाखा, राष्ट्रपति महिला उत्थान कार्यक्रम जसलाई अहिले महिला सशक्तिकरण परियोजनालगायतमा काम गरिन् । त्यसमा सुत्केरीहरुको हवाई उद्धार गर्ने काम पनि पथ्र्यो ।
अहिले रोशनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैङ्गिक तथा सामाजिक समानता शाखामा उपसचिव भएर काम गरिरहेकी छन् । ‘अहिले लैङ्गिक हिंसामा परेका पीडितहरुलाई एकद्वार संकट व्यवस्थापनद्वारा सेवा पु¥याइरहेको छ,’ उनले भनिन्, ‘यो सेवा ७७ जिल्लाका ९४ वटा सरकारी अस्पतालहरुमा संचालनमा रहेको छ ।’ यसलाई अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) पनि भनिन्छ । ओसिएमसी कोही व्यक्ती लैङ्गिक हिंसामा प¥यो भने उसलाई अस्पतालमा चौबिसै घण्टा निःशुल्क एकीकृत सेवा दिइन्छ । एकीकृत सेवामा अस्पतालले मानसिक परामर्श, चिकित्सकीय प्रमाणहरु संकलन, त्यसको व्याख्या, प्रतिवेदन र सम्बन्धित ठाउँमा गएर साक्षीको रुपमा बोल्ने काम मेडिको लिगलले गर्छ ।
औषधी उपचार, मानसिक परामर्श दिएर मानसिक उपचार पनि गरिन्छ । तर, त्यो व्यक्तिलाई पुनःस्थापना गर्ने पाटोमा अरु संस्थाहरुसँग मिलेर समन्वय गरी सहजीकरण गन्छि । पीडकले प्राप्त गर्ने सबै सेवा मिलाएर त्यसलाई एकीकृत सेवा भनिन्छ । यो संचालनमा आएको १० वर्ष भएको छ । यो सेवालाई अझ व्यापक रुपले विस्तारित गर्दै लैजाने नीति रहेको कार्की बताउँछिन् ।
ओसिएमसीले पीडितहरुलाई सबै सेवाहरु निःशुल्क दिएको छ । तर, यहाँ अरु विभिन्न संस्थाहरुले पनि त्यही सेवा कोषको पैसा लिएर काम गरिरहेका छन् । अझै पनि कतिपय पीडितहरुले उपचार नपाएको अवस्था छ । किनभने, सेवा छ तर सचेतना छैन । ‘पीडित व्यक्तिको उपचारपछि पुनःस्थापना केन्द्रलाई सहयोग गर्न जरुरी छ र क्षमता विकासको कामहरुमा खर्च गर्न जरुरी छ,’ उनी भन्छिन्, ‘साथै महिला आयोगले पीडित महिला र पुरुषहरुलाई पनि सहयोग गर्छ ।’ त्यसैले अब दुई—दुई महिनामा जनचेतनाका कामहरु पनि अगाडि बढाइरहेको छ ।
पछिल्लो समय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रोगहरुको मात्रै रिसर्च गरिरहेको देखिन्छ । अहिले जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा कसरी काम भैरहेको छ त भनेर पनि एनालाइसिस गर्न काम स्वास्थ्य मन्त्रालयले परिषद्लाई दिएको छ । अहिले २४ वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना भैरहेको समयमा सेवा प्रभाव कसरी भैरहेको छ भनी सर्वेक्षण गर्न लगाएर अहिले त्यसको रिपोर्ट पनि आइसकेको छ । यसका साथै सामाजिक सुरक्षा एकाई ६६ वटा अस्पतालमा संचालनमा छ ।
ओखलढुंगाको ग्रामीण परिवेशमा जन्मिएकी रोशनीलाई स्वास्थ्य मन्त्रालयको यो महत्वपूर्ण जिम्मेवारीमा आइपुग्न सहज थिएन् । ‘मेरो परिवार शिक्षित थियो, मैले पढ्न पाए आज म यहाँसम्म पढेर, काम गरे रै पुगे । तर, यहाँसम्म पुग्न त्यति सहज भने पक्कै थिएन । सानैदेखि विभेदमा हुर्किएकी म, जहाँ पनि समानता खोज्थे । मेरो विवाह भयो श्रीमानको साथ सहयोग राम्रै पाए र विवाहपछि पनि पढ्न पाए । विहे भएको वर्षौसम्म बच्चा नजमिँदा मेरै आफन्तले यो त बाझ हो कि ? भन्ने जस्ता कुरा सुन्थे,’ उनले भनिन् । सन्तान नजन्मिएपछि धेरैले अर्को विवाह गर्न सल्लाह उनका श्रीमानलाई दिन्थे । ‘यी सबै कुराहरुले छोरी भै जन्मनु दुःख पनि लाग्थ्यो,’ उनी थप्छिन्, ‘मेरो पहिलो सन्तान छोरा जन्मिएपछि धेरैको बोल्ने मुख बन्द भयो ।’
कार्यक्षेत्रमा पनि महिला र पुरुषबीच विभेद अझै रहेको उनी बताउँछिन् । रोचक त के भने कतिपय शिक्षित र सम्पन्न महिलाहरुले नै महिनावारीलाई लिएर नछुनु भन्ने धारणा व्यक्त गर्थे । ‘जुन मैले कति पनि फ्लो गर्दिन्,’ उनी भन्छन्, ‘महिनावारी प्राकृतिक प्रक्रिया हो ।’ स्वास्थ्यमा महिलाको अधिकारलाई कसरी जोडिन्छ त भन्ने बिषयमा काम गर्ने उनको इच्छा पनि थियो । अहिले आफूले चाहेको क्षेत्रमा काम गर्न पाउँदा र धेरै कुरा सिक्न पाउँदा उनी खुसी छन् । स्वास्थ्य क्षेत्रमा अझै परिवर्तन ल्याउन बाँकी रहेको उनले अनुभव उनले सुनाइन् ।