२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यजेपी हस्पिटलद्वारा कलेजो प्रत्यारोपणबारे सिएमई आयोजना

जेपी हस्पिटलद्वारा कलेजो प्रत्यारोपणबारे सिएमई आयोजना


काठमाडौं—भारतको नोयडास्थित जेपी हस्पिटलले काठमाडौंमा कलेजो प्रत्यारोपण बारे सिएमई आयोजना गरेको छ । शनिबार साँझ ललितपुरस्थित होटल हिमायलयमा उक्त सिएमई आयोजना गरिएको थियो ।

करिब ३ दर्जन चिकित्सकहरु उपस्थित उक्त कार्यक्रममा जेपी हस्पिटलको कलेजो प्रत्यारोपण तथा सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजी विभागका एशोसिएट डाइरेक्टर डा. पुनित सिंगलाले कलेजो प्रत्यारोपणका बारेमा लामो प्रस्तुती दिएका थिए । उनले कलेजो बिग्रनु र सिरोसिसको प्रमुख कारणका रुपमा अल्कोहल सेवन रहेको बताए ।

डा. सिंगलाले कलेजो प्रत्यारोपणमा डाक्टरको भूमिका टेक्नीसियनको मात्रै भएको बताए । ‘कलेजो प्रत्यारोपण प्रक्रियामा दाता र बिरामीले सिंगो संसचार परिवर्तन गर्छन्,’ उनले भने, ‘हामी सर्जनहरु त टेक्नीसियन मात्रै हौं ।’ उनले जेपी हस्पिटलमा विश्वस्तरीय मेडिकल टिमद्वारा ३ सयभन्दा बढी सफल कलेजो प्रत्यारोपण गरिएको जानकारी दिदैं ९६ प्रतिशत केसहरुमा सफलता हात पारेको बताए ।

कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी कलेजो प्रत्यारोपण सर्जन डा. अनिशा तिवारीले नेपालमा कलेजोको प्रत्यारोपणको अवस्था र कलेजो बिग्रनुका कारणहरुबारेमा प्रस्तुती दिएकी थिइन् । उनले सन् २०१६ देखि नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको बताउँदैं अहिलेसम्म २२ वटा कलेजो प्रत्यारोपण भएको जानकारी दिइन् ।

‘हामीले कलेजो प्रत्यारोपण सेवा सुरु गरेको प्रारम्भिक चरणमै छौं,’ उनले भनिन्, ‘त्यही कारण हामीले प्रत्यारोपणका लागि कम रिस्क भएका केसहरु छान्ने गरेका छौं ।’ उनले अहिले नेपालमा तीन वटा सेन्टरले कलेजोको प्रत्यारोपण सेवा दिइरहेको उल्लेख गरिन् ।

कार्यक्रममा हालैमात्रै आफ्ना बुवालाई कलेजो दान दिएकी मोरङकी भावना राईले आफ्नो अनुभव सुनाएकी थिइन् । उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुवालाई उपचारलाई जेपी अस्पताल पठाएको उल्लेख गर्दै अस्पतालबाट पाएको सेवाबाट आफू खुसी भएको उल्लेख गरिन् । ‘अन्तिम स्टेज भनेर डाक्टरहरुले भनेपछि म निराश भइसकेकी थिए,’ उनले भनिन्, ‘एक जना डाक्टर साबले भारतमा कलेजोको उपचार राम्रो हुन्छ भनेपछि हामी भारत गयौं । जेपी हस्पिटलमा कलेजो प्रत्यारोपण गरेर अहिले फर्किसकेका छौं । बुवा र म दुवै जनाको स्वास्थ्य अवस्था राम्रो छ ।’

जेपी हस्पिटलमा २१ लाख भारतीय रुपैयाँमा बिरामीको कलेजो प्रत्यारोपण हुने गरेको छ । कलेजो प्रत्यारोपण गरेका बिरामीले २१ दिन र कलेजो दाताले ७ दिन अस्पताल बस्नुपर्ने डा. सिंगलाले बताए ।

कार्यक्रममा जेपी अस्पतालकी एसिस्टेन्ट म्यानेजर इन्टरनेशनल सेल्स एण्ड मार्केटिङ तथा बिरामी सेवा निकिता चौधरीले आफूहरु नेपाली बिरामीलाई न्यानो स्वागत गर्न र उपचार गर्नका लागि  सदैव तयार रहेको बताइन् ।

यस्तै, अस्पतालका नेपाल प्रतिनिधी अभिषेक स्वाँर जेपी हस्पिटलका अनुभव नेपाली चिकित्सकहरुमाझ साझा गर्न र अस्पताल सेवामा बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ