२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वास्थ्य शिविर लिएर मुगु जाँदाको अनुभव 

स्वास्थ्य शिविर लिएर मुगु जाँदाको अनुभव 


यात्रा आफैमा एउटा काव्य हो । र यात्री त्यस काव्यको रचनाकार । यात्रा गर्नलाई कुनै न कुनै एउटा अवसर जुट्नुपर्छ । समय र अवस्थाले पनि साथ दिनुपर्छ। मलाई धेरै पहिलेदेखि कर्णाली जिल्लाको पहाडी जीवन हेर्ने निकै नै रूची थियो । तर कार्यव्यस्तताले  प्रायः शहर केन्द्रीत निरस जीवनले यी मेरा संकल्पहरुलाई धिक्कारिरहेका थिए ।

मलाई एक दुई बजार, एक दुई घर, बाटा घाटा र जंगल मात्र हेर्नु थिएन । त्यहाँको  सभ्यतासँग परिचित हुनु थियो। सायद अति नै चाहना राखिदिएपछि पनि धेरै चीजहरु पूरा हुने गर्छन् । यस्तै भइदियो । केएमसी पूर्व विद्यार्थी संघद्वारा आयोजना हुने भनिएको निःशुल्क स्वास्थ्य शिविर मेरा लागि वरदान सावित भयो । संस्थाको अध्यक्ष समेत भएको हिसाबले पहिले-पहिले पूर्वमा सुनसरी र नजिकमा धादिङसम्म गएर निःशुल्क स्वास्थ्य शिविर गरेका अनुभवहरु थिए । यो चोटी पश्चिम त्यो पनि कर्णालीको विकट मुगु जिल्ला नै जाने अठोटका साथ कार्यहरु अघि बढाएँ । नजिक त सबै जान्छन्, जहाँ आवश्यकता पर्छ टाढा नै किन नहोस् सामाजिक सेवाको भावले हामी जानैपर्छ भन्ने हेतुले छायाँनाथ रारा नगरपालिकाको कार्कीवाडालाई शिविर हुने स्थानका रुपमा तोकियो ।

वडाको स्वीकृति पत्र सँगसँगै खर्च र औषधि उठाउन संयोजन टोली गठन पनि गरियो । जुम्लाकै वासिन्दा नवीन भाइले टोलीको नेतृत्व गरे भने यासना बहिनी र मुगुकै वासिन्दा पुष्पराज भाइ पनि निरन्तर कार्यक्रम सफल बनाउन लागि परे । सायद हाम्रो आत्मविश्वास बलियो भएर होला मौसमको प्रतिकूलतामा समेत हाम्रो ९ जना चिकित्सकसहितको अठार जनाको टोली ९ असोजमा काठमाडौंबाट सुर्खेतका लागि निस्कियोैं ।

दशैंको बेलामा सुर्खेतसम्मको यात्रा कष्टदायी नै रह्यो । अझ थानकोटको जामले हाम्रो यात्राको अवधिलाई एक दिन लम्बाइदियो । १० गते सुर्खेत पुग्नासाथ ढिला नगरी दिउँसोको ३ बजे हामी मुगु जिल्लाको यात्राका लागि ९/९ जना बाँडिएर स्कोरपियो र बोलेरोमा चढ्योैं ।त्यसपछि भने यात्राले रोमाञ्चक मोड लियो । कर्णाली राजमार्ग आफैमा जोखिमयुक्त राजमार्ग हो भन्ने हामीले सुन्दै आएका थियौं, प्रत्यक्ष देख्दा भोग्दा आङ नै सिरिंग हुने अवस्था थियो । गुराँसे हुँदै खुड्कीज्यूला पुगेर त्यो दिनको बास बस्यौं । सायद व्यग्र थकानले होला मिठो खाना खाएर हामी मिठो निद्रामा डुब्याैं ।

एघार गते विहानै उठेर तातो पानी खाएर उही रफ्तारमा हामी हुइकियौं कर्णालीको तिरैतिर । नेपथ्यमा नेपथ्य ब्यान्डको ‘शा कर्णाली…’ गुञ्जीरहेथ्यो । बाटो-बाटोमा खोला झरनाहरु हाम्रै स्वागत गर्न तम्तयार बसिरहेका थिएँ । सम्भावनाको दुरीलाई मेट्दै-मेट्दै हामी चियाको चुस्की लिन कालिकोटको सदरमुकाम मान्मा पुग्यौं । हुस्सु लागेर मान्मा बजार पुरै ढाकिनै आटेको थियो । मान्मा बजारबाट अगाडि बढ्दै गर्दा हाम्रो बोलेरो र विपरित दिशाबाट आएको गाडी घुम्तीमा अचानक ठोकिन पुग्यो । त्यो घटना सामान्य थियो, हामीलाई चोटपटक केही लागेन तर मान्मा बजार पुरै उर्लिएर आयो दुर्घटनाको लेखाजोखा गर्न । कर्णाली राजमार्गमा यो घटना सामन्य हो भन्दै थिए धैरै त्यहाँका बासिन्दाहरु । केही मेलमिलापपछि हामी फेरि यात्रामा अघि बढि रह्यौं । त्यसपछि हाम्रो भेट नाग्मासँग भयो । नाग्मा पुगेर जुम्लाको सिमी र माछासित मिठो मानी मानी टन्न खाना खायौं । यो खानाको पछिसम्म नै यादगार बन्न पुग्यो ।

नाग्मापछि हामी जुम्ला जाने पिच बाटोलाई छाडेर मुगुतर्फ मोडियौं । सायद अबको बाटो सबै कच्ची थियो र उत्तिकै अत्यासलाग्दो पनि ।नदी किनारमा राजारानीका कुदिएका मनै लोभ्याउने तस्वीरहरुसँग अंकमाल गर्दै हामी फेरि उही रफ्तारमा अघि बढ्यौं । लाग्यो यो त्यही ठाउँ हो जहाँका कलाकारहरु नेपाली हृदयहरुलाई सत्य र सुन्दरको माधुर्य बुझेर लहराउन सिकाउँछन् र विशाल नेपाल स्पर्श गर्ने कला जन्माउँछन्।

गाडी भित्र मिठा-मिठा गफहरु गुञ्जिदै गए । कोही आकाशमा उड्दै थिए कोही धर्तीलाई स्पर्श गर्दै । गाडी धेरै ठाउमा फस्यो, तान्दै धकेल्दै र बेल्चाले माटो समेल्दै हामी अघि बढिरह्यौं । कर्णाली यात्राका कठिनाइहरु भोग्दै छिचोल्दै गुडिरह्यौं । लाग्यो दुनियाँ कर्णालीका हर दुःख र कमजोर उपर सदा प्रभावकारी बन्दैछ । शक्ति बढाउ भनेर हरेक क्षण कर्णाली आत्मशक्ति व्यय गरिरहेछ तर हरेक पटक कर्णाली दुःख पाइरहेछ । पानी पर्दा हिलो, अरु बेला धुलो यो राजमार्गको बेहाल देख्दा खै ! प्रदेश र संघीय सरकार के हेरेर बसिरहेछ ?भ्रमण वर्ष २०२० को तयारी गर्ने सरकारले रारा पुग्ने बाटो मर्मतमा किन ध्यान नदिएको होला? जसोतसो पानीमा भिज्दै हामी सिञ्जा हुँदै गुठीज्यूला आइपुगेर बास बस्यौं । हामी तय गरिएको मितिभन्दा निकै ढिला हुँदै गइरहेका थियौं तर मानवसेवाको अठोटले प्राकृतिक असहजतालाई समेत जित्ने आँट भर्दै थियो ।

१२ गते बिहानै हामी शिविरस्थलका लागि हिड्यौं तर फेरि पनि बाटोमा आइलागेका अनेकौं असहजताले गर्दा गाडी ताल्चाभन्दा उता जान सकेन । हामी केही साथीहरु परिवेश बुझ्न ओरालो गोरेटो बाटो झर्यौं । राति अबेरसम्म भोलि हुने शिविरको स्थान अवलोकन एवं पर्यावरण बुझ्ने प्रयत्नमा लाग्यौं । तर, उता अन्य साथीहरु ताल्चा हुँदै मुगुको सदरमुकाम गमगढी जाने बाटैमा फसेका हुनाले त्यो दिनको बास उतै गमगढीमा गर्नुपर्ने भएकाले रातारात कार्कीवाडाबाट पानीमा भिज्दै हामी पनि गमगढीतिर लाग्यौं । त्यसदिन हामी सबैजना सदरमुकाममा भेला भएपनि औषधि ल्याइपुर्याउन सकेको अवस्था थिएन । सबैले त्यस दिनको दुःख सुख साट्दै हिले शरीरलाई आराम दिनका लागि ओछ्यानतर्फ लाग्यौं।

१३ गतेको दिन बिहानै भरियाहरुद्वारा ताल्चाबाट औषधि बोकाएर शिविरस्थलसम्म पुर्याएर औपचारिक कार्यक्रमसँगै बिरामी जाच्ने र निःशुल्क औषधि वितरण गर्ने कार्य सुचारु गर्यौं । यसरी बेलुकी ७ बजेसम्मको निरन्तर चेक जाँच पश्चात विकट मुगु जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । केएमसी पूर्व विद्यार्थी संघको आयोजनामा मिति २०७६ असोज १३ गते श्री नेपाल राष्ट्रिय आधारभूत.मा.विद्यालय, छायाँनाथ रारा न.पा-५,कार्कीवाडा मुगुमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न हुँदा हामी सबै खुशी थियौं।शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुद्वारा रोगीको परिक्षण सँगसँगै निःशुल्क औषधि वितरण कार्यक्रम समेत सम्पन्न भएको थियो।रगत, पिसाब, सुगर जाँचका साथै सबै बिरामीलाई उचित परामर्श समेत दियौं ।


मौसमको प्रतिकूलतामा समेत काठमाडौंबाट चार दिन लगाएर गाडी नपुग्ने  स्थलमा भरियाद्वारा औषधि बोकाएर समेत हाम्रो संस्थाले बृहत स्वास्थ्य शिविर गर्न सफल भएको हुँदा स्थानीय समेत खुशी थिए ।  स्वास्थ्य शिविरबाट जिल्ला अस्पतालको पहुँचमा नभएका छायाँनाथ नगरपालिकाका सम्पूर्ण बासिन्दाले स्वास्थ्य लाभ लिए।

केएमसी एजुकेसन नेटवर्क र छायाँनाथ रारा नगरपालिका-५ को सहकार्यमा सम्पन्न उक्त स्वास्थ्य शिविर मा करिब ६०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको देख्दा र यस्तो विकट जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्दै असक्त, वालवृद्ध, विपन्न, पहुँच नभएकाहरुको हकहितमा कार्य गर्न पाउदा संस्थाको अध्यक्ष र अभिभावक भएको नाताले मलाई धेरै नै खुशी लागेको थियो । उक्त शिविरमा एक सय बिरामी बालरोग, एक सय बिरामी नसा तथा हाडजोर्नी समबन्धि रोग, एक सय बिरामी महिला तथा स्त्री रोग र अरु रोगका बिरामीहरु जेनरल रहेका थिए । निःशुल्क शिविरहरुको आयोजनाले गरिब जनताहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार आउन सक्ने हुँदा भविष्यका दिनमा समेत समाजलाई टेवा पुग्ने अनुकरणीय कार्यमा सधै अग्रसर रहने वाचा समेत मैले तिनै मुगुका जनताका सामु गरेको थिए।

समयको बोलावट, स्थानको आह्वान र आत्माको आमन्त्रण थियो । सायद हामी आफ्नो जीवन नै जोखिममा राखेर यति लामो यात्रा तय गरेर निःशुल्क शिविर गर्न आइपुगेका थियौं । जति नै कठिनताको उकालो भएतापनि हामी माथि सयपत्री फूलको माला र अविर लगाएर गरिएको स्वागत र सम्मान, च्याङ्ग्राको मासुसँग मार्सी चामलको भातसहितको भोजन र त्यो आत्मीयता र कृतज्ञता अमूल्य थियो । कति टाढा-टाढाबाट स्वास्थ्य उपचार गर्न आएका ती मनहरुलाई म कसरी शब्दमा व्यक्त गरु ? सायद चरम गरिबी र उनीहरूका लागि केही गर्न नसकेको सरकारकाबीच जीवनको मूल्य सिकाउने ती हँसिला र सहयोगी चेहेराहरुलाई जे-जे छ आफूसँग सर्वस्वै दिन मन लागेको थियो ।

स्वर्गका झिल्काहरु टिप्ने सुन्दर तर मौन ती चेतनाहरुलाई नेता भनाउँदाहरुले हरेक प्रहर पासोमा पारी निकम्मा बनाउँदै गइरहेका छन् ।घनिष्ठ प्रभावका साथ अन्तस्करणमा नघुसी त्यहाँ सुधार हुँदैन्थ्यो । तर, जीवनको अग्रिम रेखासम्म भेट्टाउन पनि ताल्चा विमानस्थलबाट सिधै उड्नुपर्ने बाध्यताका बीच कोदो, फापर, ढिंडो र सिस्नोको रससंँग बाँचिरहेछ मुगु । पहाडपारीका दुनियाँका अनेकौं चमत्कारले सपनामा ऐठन परे पनि आखिर ! धूलोमा अक्षर नटिक्ने रैछ, मैनबत्तीले भूगोल नदेखिने रैछ, रारा हेरेरै मात्र भोक मेट्दो रैनछ । पहाडका कथा, सभ्यता र कठिनाइका कथा सारङ्गीले गाएर मात्र के गर्नु सुन्नेले नसुने पछि? राराले पर्यटकको इसारामा रङ मात्र बदल्छ तर मुगुले विकासको रङ अझै बदल्न सकेको छैन् । यो भौगोलिक कमजोरी मात्र होइन मुगु राज्यको आँखा उपर सौतेनी बन्धनमा छ। यी ठाँउहरुमा मानिसहरु कसरी आए होलान् ? कसरी बाच्दा हुन् ? तुषाराले कठांग्रिने र धुलो हिलोमा लट्पटिने जीवनहरु कसरी फुल्दा हुन् ? भविष्यको सम्भावना एउटा उपन्यासको कथाजस्तै । गरिबीको पासोमा परी धर्म परिवर्तन र विदेशी दातृ संस्थाको शिकार भएर मुगु अप्ठयारो तरिकाले बाचिँरहेछ। मार्फाको ह्यांगमा मुगुलाई अन्यायमा पार्ने छुट कदापी राज्यलाई छैन ।

तैपनि सच्चाइको आनन्द नेपालले यहीबाट सिकेको होस् ।अतिथी देवो भव:मा मोहनी तवरले हाँस्ने, नाच्ने, गाउने ती अंग प्रत्यंगहरु । गुलाफी रङमा फुलेका गालाहरु। मैलाको वास्तै नगरी खेतिपातीमा व्यस्त शैलीहरु । सनातन रीतिथितिमा अडिएका विश्वास, श्रद्धा र भक्तिभावहरु । ढिकी, जाँतो, बिस्कुन र भकारोहरु । खरका छानाहरु, रातो माटोले पोतिएका भुँइहरु, हरेक घर मुनी गोठहरु, भिराला खेतहरु, जंगलहरु । मुगुले आफ्नो परिवेशको मायाजाल त्यहाँ पुग्ने हरेकलाई बिछ्याउँछ।

विस्तारै-विस्तारै मुगुको निकटतालाई अझ प्राकृतिक तवरले आत्मसाथ गर्न हामी रारा ताल पुग्यौं । आर्मी क्यामहरु छिचोल्दै, लालीगुराँसका जुसहरु पिउँदै, बाटोमा भेटिएका स्याउका बोटहरुबाट स्याउ टिप्दै असोज १४ गते बेलुकी हाम्रो वास रारा तालको किनारमा अवस्थित होटलमा पुगेर भयो । १०.८ वर्ग कि. मि क्षेत्रफल, ५कि.मि औसत लम्बाई, ३कि.मि औसत चौडाइ र १६७ मि गहिराई रहेको रारा ताल २९९० मि उचाइमा अवस्थित छ । यति विशाल प्रकृतिको अनुपम वरदानलाई आफ्नै आँखा अगाडि आत्मसात गर्न पाउदा हामी मन्त्रमुग्ध भयौं । तोते बोलीमा ब्यूँझँदै अघि बढ्दै लहरहरुमा किनारलाई स्पर्श गर्दै, अनेकौं रङहरुमा मोहनी लाउँदै एउटा शिशुजस्तै मुगुको काखमा चल्मलाउँदै रारा प्रेमको भाव बोकिरहेथ्यो । हामी इसारामा नै लठ्ठ थियौं । साँझ परेपछिको दोहोरी र १५ गते बिहानै उठेपछि रारा तालमा गरिएको डुंगा सयर पनि अति नै स्मरणीय रहे ।

टुना,मन्त्र र मोहनी जगाउने राराको अद्भूत कलाले समेत हामीलाई रोक्न सकेन किनकी दशैं घर दैलोमा आइसकेको थियो। सबैलाई मान्यजनको हातको टिका लगाउन घर घर पुग्नै पर्ने बाध्यता थियो । फेरि आउँदाको बाटो देखेर जाँदाको अवस्था आँकलन गर्न सकिन्थ्यो किनकि पानी पर्न अझै रोकिएको थिएन । स्वर्गको टुक्रा रारालाई आँखाका नानीहरुमा कैद गर्दै फेरि आउने बाचाका साथ हामी किनारै-किनार हुFदै ताल्चा ओर्लियौं । र गाडीको यात्रामा अघि बढ्यौं । आउँदा सिन्जाको बैरागीडाँडामा अत्यन्तै दुःख पायौं । रातको बाह्र बजे भोको पेटमा हिलो सम्याउन र गाडी धकेल्नुपर्यो । जसोतसो हामी चार बजे बिहान नाग्मा आइपुग्यौ र खाना खाइसकेर एकछिन आराम गरेर फेरि कर्णाली राजमार्गमा हुँइकिन थाल्यौं । रातको १२ बजे सुर्खेत आइपुग्यौं । भोलिपल्ट १६ गते दिउँसो सुर्खेतको बुलबुले ताल, काक्रेबिहार र देउती बजै मन्दिरको भ्रमणसँगै हामी बेलुकी पाँच बजेको गाडीमा काठमाडौेंतिर लाग्यौं।

यसरी असोज ९ गते थालिएको यात्रा १८ औ दिनमा गएर टुंगिदा हामीले १० दिन बितायौं । सादा जीवन र उच्च विचारको आदर्शमा बाच्न प्रेरित गर्ने हेतुले सामाजिक उत्तरदायित्वका साथ निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरियो । कामना छ ! मुगुका अभावहरु मेटिउन्, स्वर्ग जाने बाटो झै रारा (मुगु जिल्ला)जाने बाटोहरु सिंगारिउन् । मुगुको सभ्यतालाई जोगाइ राख्न सबै जनताहरु स्वस्थ रहनू निरोगी बनून। शुभकामना !


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ