भारतको कन्नड सिरियलकी वरिष्ठ अभिनेत्री चेतना राजको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार २१ वर्षीया अभिनेत्रीको बेंगलुरुको एक निजी अस्पतालमा प्लास्टिक सर्जरी गराएपछि निधन भएको हो ।
रिपोर्टमा अभिनेत्रीले शल्यक्रियाको बारेमा आफ्ना अभिभावकलाई समेत जानकारी नगरेको दाबी गरिएको छ । उनी मे १६ मा बिहान ‘फ्याट फ्री’ शल्यक्रिया गर्न साथीहरूसँग अस्पताल गएकी थिइन् । रिपोर्टका अनुसार शल्यक्रियापछि साँझ उनको स्वास्थ्य अचानक बिग्रियो र फोक्सोमा पानी जम्न थाल्यो । जसकारण केही समयपछि नै उनको मृत्यु भयो ।
डाक्टरले धेरै प्रयास गर्दा पनि अभिनेत्रीलाई बचाउन सकेनन् । २१ वर्षीया अभिनेत्रीका अभिभावकले डाक्टरमाथि लापरवाही गरेको आरोप लगाएका छन् । चिकित्सकको लापरबाहीका कारण छोरीको अकालमै मृत्यु भएको उनीहरुको दाबी छ ।
यति मात्र होइन चेतनाराजका अभिभावकले अस्पताल प्रशासनविरुद्ध नजिकैको प्रहरी चौकीमा उजुरी समेत दिएका छन् । हाल चेतनाको शव अस्पतालमै छ । उनलाई भोलि (१८ मे २०२२) बिहान पोष्टमार्टमका लागि रामैया अस्पताल पठाइनेछ।
दुई वर्षअघि (अक्टोबर २, २०२०) हिन्दी र बंगाली फिल्म अभिनेत्री मिष्टी मुखर्जीको पनि केटो डाइटका कारण बेंगलुरुमा निधन भएको थियो । त्यतिबेला उनी २७ वर्षकी मात्रै थिइन् र आफ्नो तौल घटाउन केटो डाइट लिइरहेकी थिइन्, जसका कारण उनको मृगौला फेल भएको बताइएको छ ।
त्यतिबेला अभिनेत्रीका एक प्रतिनिधिले भनेकी थिइन्, ‘केटो डाइटका कारण उनको मृगौला फेल भएको थियो, जसले हामीलाई सानै उमेरमा छोडेर गएको थियो ।’
-एजेन्सी