वि.सं. २०६८ सालमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन बनाइयो । उक्त कानुनमा सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाउने कानुनी व्यवस्था गरिएको छ । तर, वर्षौ बितिसक्दा पनि सार्वजनिक क्षेत्रलाई धुम्रपानमुक्त बनाउने सरकारी कानुन अलपत्र छ । किनभने, यो कानुन कार्यन्वयनको जिम्मा कुनै पनि सरकारी संयन्त्रले स्पष्ट रुपमा लिएका छैनन् । सूर्ति तथा सूर्तिजन्य पदार्थ नियन्त्रण समिति बनाइएका भएपनि ती समितिहरु पनि कामकाजी मात्रै छन् ।
वि.सं. २०७४ मा काठमाडौं महानगरपालिकाले ‘स्वास्थ्य र निरोगी महागनर’ बनाउने उद्देश्यका साथ सार्वजनिकस्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको निषेध गर्ने घोषणा गरेका थियो । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ कार्यन्वयन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । तर, त्यसमा काठमाडौं महानगरले कामै गर्न सकेन् ।
तर, यतिबेला ललितपुर महानगरपालिका सार्वजनिक स्थानमा धुम्रपान निषेध गर्ने ऐन कार्यन्वयनमा ल्याएपछि चर्चामा छ । यो कन्सेप्टका फ्रन्टलाइनमा रहेर कानुन कार्यन्वयन गराइरहेका छन्, १८ महिनाअघि ललितपुरको नगर प्रहरी प्रमुख नियुक्त भएका सीताराम हाछेथु । ७८ जनाको नगर प्रहरी डफ्फाको नेतृत्व गरिरहेका उनले सरकारले ल्याएको यो कानुन नगरवासीको सार्वजनिक स्वास्थ्यका सबैभन्दा महत्वको विषय भएको बताए ।
विश्व स्वास्थ्य संगठनकाअनुसार संसारभर वर्षेनी ८० लाख मानिसहरु धुम्रपानका कारणले ज्यान गुमाउँछन् । जसमध्ये धुम्रपानको धुँवाले ज्यान गुमाउने संख्या पनि उतिकै छ । ‘धुम्रपान गर्ने व्यक्तिहरुलाई विभिन्न रोग लाग्छ भन्ने थाहा छ । धुम्रपान नगर्ने व्यक्तिहरु प्नि अरुले गरेको धुम्रपानका कारण क्यान्सरलगायतका रोग लागेर मृत्यु हुने गरेको छ,’ हालैको एक अपरान्ह हेल्थआवाजसँग सीतारामले सुनाए, ‘उत्कृष्ट नियम भएपनि कार्यन्वयन गर्ने संयन्त्रको अभाव थियो ।’ नगर प्रहरी प्रमुख भएपछि सीतारामले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनसँग ललितपुरका बढी भिडभाड हुने सार्वजनिक ठाउँहरु धुम्रपान निषेधित क्षेत्र बनाउनुपर्ने प्रस्ताव राखे ।
मेयर महर्जनले सार्वजनिक स्वास्थ्यसँग जोडिएको सीतारामको यति महत्वको प्रस्तावलाई इन्कार गर्ने कुरै थिएन् । उनले सीताराम नेतृत्वको नगरप्रहरीलाई यसमा साथ दिए । एकहप्ताअघि पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र बनाइयो । ‘त्यहाँ मानिसहरु बसेर सार्वजनिकस्थलमै धुम्रपान गर्ने त्यसले पर्यटक, मन्दिरमा आउने बुढाबुढी, स्कुल जाने बालबालिकालाई असर गरिरहेको थियो,’ उनले भने, ‘त्यही कारण पाटन दरबार स्क्वायर क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्रका बनाउने योजनाका साथ काम अगाडि बढाए ।’ त्यसका लागि विहान ८ बजेदेखि बेलुका ९ बजेसम्म नगर प्रहरी धुम्रपान नियन्त्रणका लागि ड्युटी गर्छ । जसको काम नै धुम्रपान गर्नेहरुलाई ‘नमस्कार । यहाँ चुरोट नखानुहोला, यसले स्वास्थ्यमा असर गर्छ, रोग लाग्छ, बिरामी हुन्छ’ भनेर सम्झाउनु रहेको सीताराम बताउँछन् ।
त्यसपछि, पुल्चोक पार्क, फल्चा क्षेत्र र जावलाखेललाई पनि धुम्रपान निषेधित क्षेत्र बनाउन सीतारामको टोली खटिएको छ । ‘कर्पोरेट अफिसहरु रहेको जावालाखेलमा अफिसमा चुरोट खान नपाउनेहरु बाहिर आएर चुरोट खाने गर्दारहेछन्,’ उनले भने, ‘त्यहाँ पनि रोक्यौं ।’ अब केही समयमै लगनखेललाई पनि धुम्रपान निषेधित क्षेत्र बनाउने योजनामा उनले काम गरिरहेका छन् । ‘यसमा मुख्य नेतृत्व महानगरपालिकाका मेयरज्यूले लिनुभएको छ,’ सीताराम भन्छन्, ‘नगर प्रहरीले कार्यन्वयन गरेको मात्रै हो ।’
ती ठाउँमा धुम्रपानका असरबारेर सचेतना जगाउने विभिन्न बोर्डहरु पनि राखिएको छ । ‘पढेलेखेका मानिसहरु त बुझ्छन्,’ उनले भने, ‘यस्ता ठाउँमा खान आउने मानिसहरु पढेलेखेका हुन्छन् । नपढेका मान्छे त बाटैमा खाइदिन्छ ।’ त्यही कारण बोर्डहरुमार्फत दिइएको धुम्रपान विरुद्धको सचेतना सामाग्री प्रभावकारी भएको उनले बताए । नगर प्रहरीले चुरोट खानेलाई शिष्ट भाषामा नम्रताका साथ नमस्कार गरेर सम्झाउँछ । तर, त्यसबाहेक अन्य जरिवाना कुनै गरिदैन् ।
‘उहाँहरुको ज्यानका लागि हामी अहिले नमस्कार गरिरहेका छौं,’ काठमाडौं उपत्यका पूर्व चर्चित ट्राफिक सुनाउँछन्, ‘उहाँहरुले खाएको चुरोटले उहाँलाई मात्रै होइन् घरपरिवार, सार्वजनिक ठाउँमा हिडडुल गरिरहेका अरुलाई पनि असर गर्छ ।’
ललितपुरका अन्य सार्वजनिक क्षेत्र, सडकलगायतका ठाउँहरुमा धुम्रपान नगर्नका लागि नगर प्रहरीले माइकिङ गरिरहेको छ । ‘एउटा चुरोटको खिल्लीको २० रुपैयाँ पर्छ,’ उनी गम्भीर देखिए, ‘२० रुपैयाँले त बच्चाका लागि कापी आउँछ ।’ अझ रमाइलो कुरा के भने दिनमै पाँच वटा चुरोट खाने एक व्यक्तिले अहिले जावालाखेलमा ध्रुमपान निषेधित क्षेत्र घोषणा गरेपछि एउटा पनि खान नपाएको उनलाई सुनाए । ‘घरमा श्रीमती र बालबच्चाको अगाडि खान नसक्ने, अफिसमा आएपछि त्यहाँ पनि बन्द र बाहिर निस्किएर खान महानगरपालिकाले दिदैन्,’ उनी भन्छन्, ‘ती व्यक्तिको दैनिक ६० रुपैयाँ बच्यो । यतिमात्रै होइन् धुम्रपानका कारण लाग्न सक्ने रोगबाट पनि उनी बच्ने भए ।’
नौला र फरक किसिमका कामहरु गर्न रुचाउने सीतारामले ललितपुर नगर प्रहरी कमाण्ड सम्हालेपछि यसलाई सफल मोडलका रुपमा अगाडि लैजादैछन् । नगरप्रहरीले सम्पदा क्षेत्र, पार्क क्षेत्र, मन्दिर क्षेत्रलगायतका बढी भिडभाड हुने क्षेत्रमा लक्षित गरेर यो अभियान चलाएको छ ।
ठूलो धनराशी डोनरबाट ल्याउने र धुम्रपान नियन्त्रणका लागि काम गरेको देखाउने विभिन्न संघसंस्था नेपालमै छन् । तर, उनीहरुले गरेको काम कति प्रभावकारी छ भन्ने कुरा सहरका व्यस्त सडकमा मस्तसँग धुँवा उडाइरहेका मानिसहरु देख्दा थाहा हुन्छ । तर, ललितपुर नगर प्रहरीले भने आफ्नै बलबुता र स्रोत साधनमा सार्वजनिक क्षेत्रलाई धुम्रपानमुक्त क्षेत्रमा रुपान्तरण गर्न कम्मर कसिरहेको छ ।
यो अभियानमा सीतारामले आफ्नो लामो ट्राफिक प्रहरी जीवनमा सिकेको अनुभव पनि प्रयोग गरिरहेका छौं । ‘मैले ट्राफिक प्रहरीमा सिकेर आएको हुँ । मापसे गरेको व्यक्तिलाई नमस्कार सर मापसे गर्नुभएको छ भन्दा खाएको मान्छे पनि १०० बाट ० मा झर्छ,’ सिर्जनशील सीताराम भन्छन्, ‘करोड रुपैयाँको गाडीमा चढेको मान्छे पनि नमस्कार सर, हजुरले मापसे गर्नुभएको छ, नगर्नुहोला भनेर रेस्प्याक्ट गरेपछि साइजमा आउँछ । धुँवाले मानिसलाई खरानी बनाउँछ ।’ उनकाअनुसार विवाद गरिरहेको मानिस पनि नमस्कार गरेपछि आफै साइजमा आउँछ ।
महानगरका मेयर चिरिबाबुको निर्देशनमै नगर प्रहरीले सरसफाइ र वातावरण प्रवद्र्धनमा पनि ध्यान दिइरहेको छ । ‘हामी महानगरको पिल्लर हो । पिल्लर बलियो भयो भने घर बलियो हुन्छ,’ ललितपुर नगर प्रहरी प्रमुख सीताराम भन्छन्, ‘नगर प्रहरी बलियो भयो भने महानगर बलियो हुन्छ ।’
काठमाडौंमाजस्तै ललितपुरमा पनि सडक—सडकमा फोहोर थुप्रिन्थ्यो । सीतारामले नगर प्रहरी प्रमुखका रुपमा घर अगाडि र सडकमा फोहोर जम्मा गर्नेलाई अबदेखि नफाल्न र गाडी आएपछि मात्रै बाहिर निकाल्न भन्दैं पत्र लेखे । धेरैले टेरेपनि एक जना घरबेटीले उनले पत्रमार्फत गरेको आग्रहलाई टेरेनन् । मानिसलाई हिड्नै समस्या पर्ने गरी फोहोर घर अगाडि सडकमा राखे । सीताराम २० जना नगर प्रहरीको टोलीलाई लिएर गए, त्यो बाटोमा थुपारिएको फोहोर घरभित्रै फालिदिए । घरबेटीको टुलुटुल हेरेको हे¥यै । त्यसपछि ती घरबेटीले फोहोर बाहिर फाल्न छाडे । अहिले नगर प्रहरीले सडकहरुमा सामाग्री थुपार्ने, अवरोध गर्ने र फुटपाथमा व्यापार गर्ने कार्यलाई पनि नियन्त्रण गरेको छ । उनले त्यसका लागि पार्किङ र सडकमा व्यापार गर्नेहरुका लागि निश्चित ठाउँ र समय छुटाइदिएका छन् ।
‘प्रहरीको सरुवा भइरहन्छ । हामी नगर प्रहरी भनेको ५८ वर्षसम्म यही काम गर्ने हो,’ सीताराम कठोर देखिए, ‘त्यही कारण नगर प्रहरीलाई कुन घरमा बच्चा जन्मियो भन्ने कुरा समेत थाहा हुनुपर्छ । हामी स्थानीय प्रहरी हो ।’ लामो समयसम्म काम गर्नुपर्ने भएकाले समुदायसँग मिलेर काम गर्नुपर्नेमा उनको जोड छ ।