काठमाडौं—नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले विश्व बजारमा नयाँ आएको रगतलाई पातलो बनाउने (एन्टिकोअगुलेन्ट) औषधि रिभारोक्साबन आफै उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कोवग्रीभ ब्रान्डको साथमा म्याग्नसले यो औषधि नेपाली बजारमा ल्याएको हो ।
नयाँ–नयाँ औषधिहरु नेपालमै उत्पादन गरी देशको औषधिमाथिको परनिर्भरता कम गर्न भूमिका खेल्दै आएको छ ।
रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधि हो । यसले रगतको थक्का बन्ने प्रक्रियालाई बन्द गरेर रगतलाई पातलो बनाउने काम गर्दछ । धेरै रगतको थक्का बन्ने हो भने त्यस्ले मुटु, मस्तिष्क, रक्तनली तथा शरीरको अन्य भागमा घातक समस्या निम्त्याउन सक्छ ।
कोवग्रीभको उपयोग नसामा रगत जम्ने र फोक्सोको नसामा रगत जम्नेको उपचार र रोकथाममा प्रयोग गरिन्छ ।
एट्रियल फाइब्रिलेशन वा कृत्रिम हृदय भल्वको कारणले हुन सक्ने स्ट्रोक रोक्नका लागि पनि यसको प्रयोग गरिन्छ । यस औषधिले रगतको थक्का बन्नको निम्ती आवश्यक पर्ने तत्व ‘फ्याक्टर टेन एलाई काम गर्न नदिएर रगत लाई पातलो बनाउने गर्दछ ।
रगत जमेर हुनसक्ने विभिन्न रोगका लागि करिब ७० वर्षदेखि वर्फारिनको प्रयोग हुँदै आएको छ । वार्फरिनको प्रयोगले बिरामीमा विभिन्न चुनौतीहरु देखिदैं आएकामा यो औषधि त्यो भन्दा बढी सुरक्षित रहेको दावी गरिएको छ । वार्फरिन खाइरहेको बिरामीले नियमित रुपमा अस्पताल गएर विशेष किसिमको आइयनआर मापनजस्तो झन्झटिलो काम गर्नुपर्ने हुन्छ । रिभारोक्साबनको प्रयोग गरेर यस्ता समस्यालाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार यसको प्रयोग गर्दा आइयनआर जाँच गर्नु आवश्यक हुँदैन, जसले गर्दा बिरामीले नियमित अस्पताल धाइराख्नु पर्दैन । साथै यसको खाना र अरु औषधिसँग पनि कुनै किसिमको अन्तरक्रिया नहुने भएकोले यस औषधिलाई रगत पातलो गर्ने अरु औषधिभन्दा निकै सुरक्षित मानिने म्याग्नसले जनाएको छ ।
हाल बजारमा अन्य नयाँ प्रकारका एन्टिकोअगुलेन्ट औषधि भएतापनि प्रभावकारिता र सुरक्षाको आधारमा चिकित्सकहरुको रोजाइमा रिभारोक्साबन नै सर्वोत्कृष्ट हुने कुरामा आफू विश्वस्त भएको कम्पनीका बजार निर्देशक सुधीरप्रकाश मास्के दाबी गर्दछन् । कोवग्रीभ १०, १५ र २० एमजीमा उपलब्ध छ । जसको हाल बजारमूल्य क्रमश ७५, ८५ र ९५ रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।