यदि तपाई पहिलोपटक अभिभावक बन्दै हुनुहुन्छ भने आफ्नो शिशु तथा बालबालिकाको उचित हेरचाह सम्बन्धि तपाइलाई पर्याप्त जानकारी नहुन सक्छ । अझ, भनौ उनीहरुको गोप्य अङ्ग कसरी सफा गर्ने? भन्ने विषयमा अधिकांश अभिभावक अझै पनि अन्योलमा परेको देखिन्छ ।
यस्तै, कतिपय केशमा पहिले नै अभिभावक भइसकेका दम्पतिमा पनि बालबालिकाको गोप्यअंगको सरसफाई र तरिकाबारे उचित ज्ञानको अभावमा यसले शिशु तथा बालबालिकामा विभिन्न समस्याहरु पैदा हुने गरेको पाइएको छ ।
सरसफाई एउटा यस्तो पक्ष हो, जसको अभावमा शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुनुका साथै यसैका कारण शिशुमा विभिन्न संक्रमणहरुको समेत भय रहन्छ । अझ, भर्खरै जन्मेका शिशु तथा बालबालिकाको छाला एवम् शरीर निकै नै संवेदनशिल हुने भएकोले हामीले उनीहरुको सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । शरीरको बाहिरी भागको सरसफाई सजिलै गर्न सकिएता पनि शिशुको गोप्य अङ्गको सरसफाई आफैमा जटिल एवम् महत्वपूर्ण पक्ष हो । तसर्थ आफ्ना बालबालिकाको गोप्यअंग सफा गर्दा अभिभावक निकै नै सजग रहनुपर्छ ।
सफाईको समयमा के गर्नुहुन्छ र के गर्नु हुँदैन ?
बालकको गोप्य अङ्ग सफा गर्दा ध्यान दिनुपर्ने पक्षहरु
- लिङ्गसँगै दुई तिघ्राबीचको काँपमा समय समयमा मनतातो पानी र नरम कपडा वा रसायनमुक्त वाइपको सहायताले पुछेर सफा गरिदिने,
- नुहाउँदा सम्पूर्ण शरीरसँगै गोप्य अङ्गलाई पनि सफा पानीले धोइदिने,
- भित्र लगाउने कपडा कसिलो एवम् कडा प्रकृतिको हुनुहुदैन अन्यथा यसले योनाङ्ग पोल्ने र पासने समस्या निम्त्याउँछ,
- लिंगको टुप्पो(फोरस्किन) को छाला विस्तारै हल्का फोल्ड गरेर साबुनपानीले राम्ररी सफा गरिदिने । यद्यपि यसरी सफा गर्दाे फोरस्किनलाई बेस्सरी फोल्ड गर्ने प्रयत्न भने गर्नुहुँदैन,
- बच्चाले पिसाब गरेको समयमा पिसाब निस्कने प्वाल बन्द भए वा नभएको ख्याल गर्ने,
- र, यदि शिशुको फोरस्किनको भाग रातो अथवा सुन्निएको र शिशुले पिसाब गर्दा रुने, चिच्याउने वा असहज महशुस गर्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिने ।
बालिकाको गोप्य अङ्ग सफा गर्दा ध्यान दिनुपर्ने पक्षहरु
- योनीसँगै दुई तिघ्राबीचको काँपमा समय समयमा मनतातो पानी र नरम कपडा वा रसायनमुक्त वाइपको सहायताले पुछेर सफा गरिदिने,
- महिलाको योनीकोभित्री भाग प्राकृतिक रुपमै सफा हुने भएकाले यसमा साबुनको प्रयोग गर्नु हुँदैन । अन्यथा यसले पोल्ने वा चिलाउने समस्या निम्तिन सक्छ,
- योनीको बीचमा रहेको उठेको भाग (लेयिबा)लाई भने विस्तारै सफा मनतातो पानीले पुछिदिने,
- भित्र लगाउने कपडा कसिलो एवम् कडा प्रकृतिको हुनुहुदैन अन्यथा यसले योनी सुख्खा बनाउने, पोल्ने र पासिने समस्या निम्त्याउँछ,
- बच्चाले पिसाब गरेको समयमा पिसाब निस्कने प्वाल बन्द भए नभएको वा पिसाब राम्ररी निस्किएको छ कि छैन ख्याल गर्ने,
- र, यदि शिशुको योनीको बाहिरी भाग रातो अथवा सुन्निएको र शिशुले पिसाब गर्दा रुने, चिच्याउने वा असहज महशुस गर्छ भने तुरुन्त चिकित्सकको सल्लाह लिने ।
-एजेन्सी