पछिल्लो पटक गरेको एक अध्ययनले कोरोना भाइरस (कोभिड—१९) संक्रमित भएका ४० देखि ४५ प्रतिशत व्यक्तिहरुमा संक्रमणका कुनै पनि लक्षण देखा नपर्ने बताएका छन् । विश्वभर संक्रमित भएका कुल संक्रमितमध्ये झण्डै आधा जति संक्रमितहरुमा संक्रमणका कुनै पनि लक्षण देखा नपर्ने उक्त तथ्य सिप्पस ट्रान्सलेशन इन्स्टिच्युट भर्खरै गरिएको एक अध्ययनले सार्वजनिक गरेको हो ।
यद्यपि त्यस्ता व्यक्तिहरु लामो समयदेखि श्वासप्रश्वास सम्बन्धिका समस्याबाट ग्रसित हुने गरेको दाबी पनि उक्त अध्ययनले गरेको छ । सार्स–कोभ–२ को गतिशील प्रसारित रोग व्यक्तिमा ‘असाइम्टोमेटिक’ (लक्षणविहिन) देखिएपछि विभिन्न विज्ञहरुले यसप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । यसले संक्रमणको दायरा झन बढाउने भएकाले विज्ञहरु हैरान भएका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गतका आकस्मिक रोग तथा सरुवा प्रमुखकी डा. मारिया भान केरखोभले पनि यसअघि दूर्लभ मात्रामा देखिएको यसको संख्या पछिल्लो चरणमा भने वृद्धि भएको बताएकी छिन् । यस अध्ययनले कसरी व्यक्तिमा लक्षणविहिन संक्रमण देखा पर्छ भन्ने विषयमा जोड दिएको छ ।
सिप्पस अनुसन्धानमा संलग्न मोलकुलर मेडिसिनका प्रमुख वैज्ञानिक डेनिल ओरन र एरिक टोपोलले यस्ता लक्षणविहिन संक्रमणका कारण अप्रत्यक्षमा रुपमा संक्रमितको संख्या तीव्र रुपमा ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन् ।
यसका साथै उनीहरुले लक्षण नदेखिएको संक्रमितहरुले कालान्तारमा गएर दीर्घ रोगको सामना गर्नुपर्ने स्थिति देखिने समेत बताएका छन् ।
बढ्दो लक्षणविहिन संक्रमितको संख्या
यी दुई वैज्ञानिकले संयुक्त रुपमा गरेको अध्ययन ‘एनल्स अफ इन्टरनल मेडिसिन’ पत्रिकाले प्रकाशित गरेको छ । यस अध्ययनका लागि उनीहरुले नर्सिङ होमका बिरामी, पानी जहाजका समुन्द्री यात्रु तथा कारागारका कैदीहरुलाई समावेश गरेका थिए ।
तीमध्ये धेरैमा लक्षणविहिन समस्या साझा रुपमा देखा परेको ओरनले बताए । अध्ययनमा संलग्न झण्डै ३ हजार व्यक्तिमध्ये ९६ प्रतिशतमा संक्रमण लक्षणविहिन रुपमा देखा परेको थियो ।
कोरोनाको औषधी विभिन्न देशले बनाएको दाबी गरेतापनि हाल ती राष्ट्रहरु ट्रायल परीक्षणकै क्रममा रहेका छन् । तसर्थ यस्तो अवस्था लक्षणविहिन संक्रमितको संख्या बढ्नु जोखिमपूर्ण चुनौती रहेको उनीहरुले बताए ।
एजेन्सीको सहयोगमा