काठमाडौं—जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकमाथि भएको हातपातको घटना छानविनबारे मन्त्रालय र आन्दोलनरत चिकित्सकहरुबीच भएको पाँच बुँदे सहमतिमा असन्तुष्टी व्यक्त भैरहेका बेला युवा चिकित्सक संघ पनि असन्तुष्टका पक्षमा उभिएको छ ।
बिहीबार युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेतले नेपाल मेडिकल कलेजका चिकित्सकहरुले जारी राखेको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको व्यवहोरासहित ज्ञापन पत्र स्वास्थ्य मन्त्रालयमा दर्ता गराएका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नाममा लेखिएको उक्त पत्रमा सचिवालयमा दर्ता गरिएको छ । ‘आफ्नो सहमति र संलग्नताबिना सम्झौता भएको भन्दैं नेपाल मेडिकल कलेजका चिकित्सकले आन्दोलन जारी रहने बताएका छन् । त्यसमा यस संघको ऐक्यवद्धता रहनेछ,’ युवा चिकित्सक संघको ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्रमा युवा चिकित्सक संघले कोभिड—१९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरिरहेका चिकित्सकमाथि हातपात गर्नेलाई बिना शर्त जेल चलान गर्न पनि माग गरिएको छ ।
बिहीबारै आन्दोलनरत चिकित्सकहरुको तर्फबाट उक्त सहमतिप्रति असहमति जनाउँदैं नेपाल मेडिकल कलेज संघर्ष समितिका संयोजक डा. गुन्जन खड्काले पनि ज्ञापन पत्र दर्ता गराएका छन् । उनले पीडित चिकित्सकको सहमति बिना गरिएको उक्त सहमति आफूहरुलाई मान्य नहुने बताएका छन् । उक्त पत्र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र गोकर्णेश्वरका मेयरलाई समेत बोधार्थ गरिएको छ ।
१४ जेठमा एक जना बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बिरामीका आफन्तले ड्युटीमा रहेका २ जना चिकित्सकमाथि हातपात गरेका थिए । त्यसपछि दोषीमाथि कारवाहीको माग गर्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा छन् ।