यहाँ
पीपीई बिनै अस्पतालमा काम
गर्न विवश छन् डाक्टरहरु
तर, डाक्टरको कुरा बुझ्दिन
भन्छ सरकार,
यहाँ
दिनरात नभनी बिरामीको सेवामा
खटिन्छन् डाक्टरहरु
तर, डाक्टर साक्टर चिन्दिन
भन्छ पुलिसको लाठी,
यहाँ
ज्यान बाजी राखेर
महामारीमा खटिन्छन् डाक्टरहरु
तर
लाइसेन्स खारेजीको धम्की
दिन्छ सरकार,
कठै मेरो देश
र मेरो देशको सरकार ।
किन यति बिघ्न
खट्टिन परेको छ डाक्टरलाई?
हर हमेशा
सहानुभूति र मानवतामा
किन चमत्कारी बन्न परेको छ डाक्टरलाई?
यस्तो महामारीमा
उपकरण छैन, प्रोत्साहन छैन
भन्दै आराम गर्न
किन सक्दैन डाक्टर?
किनकी
डाक्टर अनभिज्ञ छ
नाम स्वास्थ्य मन्त्रालय भएर पनि
अस्वस्थ कमिसनको खेलहरुमा,
किनकी
डाक्टर आशावादी छ
गृह मन्त्रालयले
जारी गर्ने शान्ति सुरक्षाका
ग्यारेन्टीयुक्त हुकुमहरुमा,
अझै बुझ्दैन
एउटा सोझो डाक्टर
कसरी बिरामीको ज्यान जोगाउन
खोज्दाखोज्दै
हातपात हुन्छ उसको शरीरमाथि !
सायद
यति नै बेला
आलिशान सिंहदरबार
निच्च परेर गिज्याइरहेछ
चोटका डामहरुलाई,
अनि
देशको प्रशासन
मुसुमुसु हाँसिरहेछ ।
देख्नेहरुलाई
सेतो एप्रोन र
चिटिक्क पोसाकमा
रहरलाग्दो छ पेशा,
सरकारलाई
बिरामीको रोग किन
च्याट्टै पारिनस् भनेर
स्पष्टीकरण सोध्नलाई
कष्टदायी छ पेशा,
घर पुग्दा अध्यारो हुन्छ
घरबाट निस्कदा बल्ल
घाम झुल्किन्छ,
छोराले
ड्याडी भन्न पाउँदैन
दमका रोगी बाबुलाई
तातो पानी खुवाउन पाइदैन,
थाकेर बेलुका चाँडै सुतिन्छ
आडैमा सुतेकी
श्रीमती सुम्सुम्याउन
समेत
अर्लाम बजाउनु पर्छ,
एउटा डाक्टर
घर पुग्दा
परदेशी आएझै
सबै जना आँखा तन्काएर हेर्छन्
छुट्टिएर हिड्दा
कोरोना सम्झिएर
आँखा न्यास्रो पार्छन्,
आखिर पैसाकै लागि
डाक्टर दौडिएको त होइन नि,
तर समयजस्तै
डाक्टरको जिन्दगी
भित्तामा झुण्डाएको
घडिजस्तै छ
आफ्नै तालमा छ
सोच विचार गर्दैन
तर कुदिरहेछ
निःसन्देह निःस्वार्थ,
आखिर डाक्टर पनि त मान्छे न हो !
हातपात गर्नलाई
कुनै अपराधी त होइन नि ।
डाक्टरको जिन्दगी
खाली किटाणु—विषाणु
लब—ढब
मात्र रहेनछ,
समरभूमीमा
जसरी योद्धा लड्छ
उसैगरी महामारीमा
चेतावनीलाई लक्षण सम्झिएर
अभावलाई चुनौती सम्झिएर
हरेक आत्मजिज्ञासा र त्रासहरुमा
अस्पताल रुपी युद्धभूमीमा
एक्लै लड्दो रहेछ,
जति नै आँखा चिम्लिउन् शासकहरुले
दुनियाँ ढाकुन भाषणहरुले,
हातपात गरुन
बिरामीका आफन्तहरुले,
एक्लै लडिरहदो रहेछ
बस् एक्लै लडिरहदो रहेछ
तर आखिर कहिलेसम्म ?