२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट १८५ नेपाली ल्याउन ६ करोड ५० लाख खर्च हुने

चीनबाट १८५ नेपाली ल्याउन ६ करोड ५० लाख खर्च हुने


काठमाडौं—कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबेई प्रान्तबाट १८५ नेपालीको उद्धारमा ६ करोड ५० लाख रुपैयाँ बजेट खर्च हुने भएको छ । चीनबाट ल्याउदादेखि दुई हप्ता क्वारेन्टाइनमा राखी घर पठाउदाको अवधिसम्म ६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको हो ।

सबै मन्त्रालयले लाग्ने खर्चबारे मुख्यसचिव लोकदर्शन रेग्मीलाई लिखित जानकारी गराएका छन् । सरकारले २ फागुनमा जहाज पठाएर ३ गते काठमाडौं ल्याण्ड गराउने अनौपचारिक तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सबै तयारी पूरा गरेको बताएको छ । त्यस्तै, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चीन पठाउने जहाज तयारी अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सहरी विकास मन्त्रालयले खरिपाटीको नेपाल विद्युत प्राधिकरणको भवनमा वेडहरु तयारी गरेपछि जहाज उड्ने छ । हालसम्म करिब ६० वेडहरु मात्रै तयार भएका छन् ।

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा नगर्दासम्म नागरिक ल्याउन पाइदैन । नेपाललाई सो मापदण्ड पूरा गर्न निकै समय लागेको छ । स्वास्थ्य मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ड. हेमन्त ओझाको संयोजकत्वमा स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । सरकारले नेपाली सेना र नेपाल प्रहरीका ५ जना चिकित्सक चीन पठाउने तयारी गरेको छ । चीन जाने जहाजमा दुई चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहनेछन् ।

यसरी गरिन्छ क्वारेन्टाइन व्यवस्थापन

चीनको हुबेई प्रान्तबाट १८५ नेपालीलाई स्वदेश फिर्ता गरी सबैलाई दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ । सक्रमित व्यक्ति कोरोनाभाइरसले फोक्सोलाई आक्रमण गर्छ र तीब्र गतिमा फैलन्छ । चिकित्सकले बताएअनुसार क्वारेन्टाइन मा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिहरूसँग सम्पर्क हुन नदिने गरी व्यवस्था मिलाइन्छ ।

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार संक्रमित क्षेत्रबाट उद्धार गरिने व्यक्तिहरूलाई नियमित अनुगमन गरेर रोगका लक्षण भए नभएको निधो गरिन्छ । उनका अनुसार क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको नाक, घाँटी तथा श्वासप्रश्वाससम्बन्धी अंगको भित्री भागबाट विभिन्न नमुना परीक्षण गरिन्छ ।

चिकित्सकहरुका अनुसार क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य उपचारमा सक्रिय हुने चिकित्सक, नर्स तथा अन्य विज्ञ वा निगरानीमा रहने सुरक्षाकर्मी, खाना तथा ढुवानी लगायतको बन्दोबस्ती गर्ने व्यक्तिहरूले सुरक्षाको विशेष सावधानी अपनाउनु पर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ