२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनबाट नेपाल आएका नागरिक कहाँ राख्ने भन्ने मै अलमल सरकार

चीनबाट नेपाल आएका नागरिक कहाँ राख्ने भन्ने मै अलमल सरकार


काठमाडौं—चीनमा रहेका नेपाली स्वदेश फर्काउने तयारी थाले पनि फर्काइएकालाई दुई हप्ता कहाँ राख्ने भन्नेमा सरकार अन्योलमा देखिएको छ । सरकारले स्वदेश फर्कन चाहने नेपालीहरुलाई आइतबार बिहान ९ बजेसम्मको समय दिएर फर्म भर्न लगाएको थियो ।

कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको हो । ‘आफ्ना नागरिक ल्याउने निर्णयमा सरकार पुगेको छ । तर, उनीहरुलाई ल्याएर राख्ने सुरक्षित ठाउँको भने व्यवस्था भएको छैन्,’ स्वास्थ्य तथा जनसंख्या सचिव खगराज बरालले भने । सरकारले एयर लिफ्टमार्फत आफ्ना नागरिक फिर्ता ल्याउन आवश्यक प्रक्रिया सुरु गरेको छ । स्रोतका अनुसार आगामी मंगलबारसम्म ल्याउने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ ।

दूतावास उपनियोग प्रमुख सुशील लम्सालका अनुसार शनिबारसम्म हुबेई प्रान्तका ११ विश्वविद्यालयका एक सय ८८ नेपाली सम्पर्कमा आइसकेका छन् । विमानस्थलमा उनीहरूको पुनः स्थास्थ्य जाँच गर्दा कोरोना संक्रमण नदेखिए मात्रै स्वदेश फर्कन चीनले अनुमति दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, अहिलेसम्म कुनै पनि नेपालीलाई कोरोना संक्रमण भएको पाइएको छैन ।

नेपालमा आइसोलेसन छैन
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसारको आइसोलेसन वार्ड सुविधा कुनै पनि अस्पतालमा छैनन् । छुट्टै जुत्ता, लुगा, मास्क, पन्जा प्रयोगको सुविधा भएको हुनुपर्छ । बिरामी जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्ममिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरमात्र होइन, डाक्टरका लागि फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा)लगायत उपकरण छुट्टै हुनुपर्छ । संगठनले नेपाललगायत विकासोन्मुख मुलुकमा हावा पास ‘हेपाफिल्टरसहितको’ आइसोलेसन वार्ड’ हुनुपर्छ भनेको छ । तर, यस्तो सुविधायुक्त आइसोलेसन वार्ड नेपालमै छैन ।

उपचारमा चाहिने प्राइमर सीमित
नेपालमा कोरोना भाइरस संक्रमितको उपचारमा आवश्यक प्राइमर सीमित छ । उक्त प्राइमर आरएनऎ ल्याबमा हेरेर दिईने गरिन्छ। भाइरस परीक्षण गर्ने नेपाली संस्था ‘सिएमडिएन’ले कोरोना परीक्षणका लागि दुई सय प्राइमर दिएको थियो । ५० वटा प्रयोग भइसकेको छ । स्वास्थ्यकर्मीले लगाउनुपर्ने ‘फिजिकल प्रोटेक्टिभ इक्युपमेन्ट’ समेत सीमित छ । सिएमडिएनले ५० जोर सहयोग गरेको छ । डब्लुएचओले पाँच जोर दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ