काठमाडौं–चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले प्रस्तावित वी एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई आफूले घुस मागेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनले लगाएको आरोपको विरुद्ध अदालत जाने चेतावनी समेत उनले दिए ।
बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्राडा गिरीले प्रसाइलाई त्यस्तो चुनौती दिएका हुन् । आजै प्रसाईंले पत्रकार सम्मेलन वी एण्ड सीलाई सम्बन्धन दिन आग्रह गर्दा डा. गिरीले २० करोड घुस मागेको बताएका थिए ।
डा गिरीले प्रसाईसँग एक पैसा पनि नमागेको र जुन स्थानमा घुस मागिएको भनिएको हो सो स्थानमा आफु १० वर्षदेखि नगएको दावी गरे । ‘मलाई द्धारिका होटलमा भेटेर पैसा मागेको भनिएको छ,’ उनले भने, ‘सो होटलमा नगएको १० वर्ष भयो ।’
प्रसाईले गत १५ मंसिरमा सम्बन्धनका लागि अपुरो कागजात लिएर आएको आफूले पूर्ण कागजात ल्याएपछि मात्र निवेदन दर्ता गर्छु भनेर फर्काइदिएको उनको भनाइ थियो । ‘अपुरो कागजात लिएर आउनुभएको थियो,’ डा. गिरीले भने, ‘पूरा कागजात लिएर आउनुहुन्छ होला भनेको मित्था आरोप पो लगाउनुभयो ।’
आफुलाई लगाएको संगीन आरोपको विषयमा अदालत जाने तयारी समेत रहेको उनले पत्रकार सम्मेलनमा बताए ।