विराटनगर- नेपालको औषधी उद्योगमा ऐतिहासिक मोड ल्याउनेगरी मोरङको बुढीगंगा गाउँपालिका–२ मा एक अर्ब रुपैयाँको लागतमा एलेक्सा लाइफ साइन्सेस प्रालिले स्लाइन पानी उत्पादन सुरू गरेको छ ।
बिरामीको उपचारमा अत्यावश्यक पर्ने स्लाइन पानी अन्तर्राष्ट्रिय मापदण्ड कायम गरिने तयारीको साथ उत्पादन सुरू गरिएको एलेक्सा लाइफ साइन्सेस प्रालिले जानकारी गराएको छ । स्वदेशमै गुणस्तरीय स्लाइन पानी उत्पादन गर्ने यो दोस्रो उद्योग हो, जसले मुलुकको स्वास्थ्य प्रणालीमा आत्मनिर्भरता बढाउने र आयातमा निर्भरता घटाउने लक्ष्य लिएको छ ।
यसअघि वीरगञ्जस्थित एभरेष्ट प्यारेन्ट फार्मास्युटिकल्सले मात्र स्लाइन पानी उत्पादन गर्दै आएको थियो । लामो समयदेखि विदेशबाट आयात हुँदै आएको स्लाइन अब स्वदेशमै उत्पादन हुने भएपछि यसको गुणस्तरीयता, सहज उपलब्धता र मूल्य नियन्त्रणमा महत्वपूर्ण सुधार आउने उद्योग सञ्चालकको विश्वास छ ।
साझेदारीमा अघि बढेको परियोजना
औषधी क्षेत्रमा नवप्रवेशी होइनन् — दिनेश ठाकुर स्वर्णकार र रञ्जीत भगत । ठाकुर लामोसमयदेखि स्वास्थ्य र औषधी क्षेत्रमा लागेका अनुभवी व्यक्ति हुन् । दुवैले संयुक्त लगानीमा स्थापना गरेको एलेक्सा लाइफ साइन्सेस प्रालिले ‘स्लाइन एलभिपी’ उत्पादन सुरु गरेको छ । मासिक ९ लाख बोतल उत्पादन क्षमताको यस उद्योगमा एभरेष्ट बैंकले ६० करोड रुपैयाँ ऋण उपलब्ध गराएको छ, जसमध्ये हालसम्म ४५ करोड प्रवाह भइसकेको छ ।
उद्योगले पहिलो चरणमा १०० एमएल, ५०० एमएल, १००० एमएल र ३००० एमएल क्षमताका स्लाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा साना खालका लिक्विड सुईहरू एक एमएलदेखि २० एमएलसम्मको उत्पादन सुरु हुनेछ भने तेस्रो चरणमा आँखा र कानमा हाल्ने ड्रप उत्पादन गरिने योजना रहेर्को एलेक्सा लाइफ साइन्सेस प्रालिका अध्यक्ष दिनेश ठाकुरले बताए ।

एलेक्सा लाइफ साइन्सेसको सुरुवात केवल व्यापारिक उद्देश्यले मात्र नभई, नेपाललाई औषधी उत्पादनमा आत्मनिर्भर बनाउने दिर्घकालीन सोचसहित गरिएको हो । हाल मुलुकमा ६० अर्ब रुपैयाँभन्दा बढीको औषधी कारोबार भइरहेको छ, तर ६० प्रतिशतभन्दा बढी बजार विदेशी कम्पनीको कब्जामा छ । यसले मुलुकको स्वास्थ्य सुरक्षालाई मात्रै होइन, अर्थतन्त्रलाई पनि दीर्घकालमा असर पार्ने अवस्था सिर्जना गरिरहेको छ ।
उद्योगले विराटनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष ठाकुरले राज्यको गलत नीतिका कारण गुणस्तरीय औषधी स्वदेशमै उत्पादन हुँदाहुँदै पनि विदेशबाट सस्तो दरमा सहजै आयात हुने अवस्था रहेको बताए । ‘स्थानीय उद्योगको संरक्षण र प्रोत्साहन विना हामी आत्मनिर्भर बन्न सक्दैनौं । त्यसको लागि राज्यले सही नीति अभिलम्बन गर्नु पर्दछ,’ उद्योगका अध्यक्ष ठाकुरले भने ।
उनका अनुसार उद्योग सञ्चालनको क्रममा नीति र कानुनको जटिलताले थुप्रै अवरोध सिर्जना गरेको छ । उद्योगमा प्रयोग हुने अत्यावश्यक उपकरण—प्यानल, चिलर, कम्प्रेसर, वोयलर, एसएस पाइप, ल्याब फर्निचर लगायतका सामग्रीमा राज्यले अनुदानको सट्टा चर्को भन्सार महसुल लिँदै आएको छ । यसले उत्पादन लागत बढाउनुका साथै उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा पनि असर परेको छ ।
औषधी उद्योग प्यानमा कारोबार गर्नुपर्ने तर सामान खरिद गर्दा मूल्य अभिवृद्धि कर भ्याट तिर्नुपर्ने अवस्थाले पनि उद्योगलाई अतिरिक्त आर्थिक भार सिर्जना गरिरहेको ठाकुरको भनाइ छ ।
उनले गुनासो गर्दै भने, ‘अन्य मुलुकमा स्थानीय उद्योगले जुन औषधी उत्पादन गर्छ, त्यसको आयातमा कडाइ गरिएको हुन्छ । तर नेपालमा एउटै खालको औषधी दर्जनौं उद्योगले उत्पादन गर्दा पनि विदेशी आयातलाई प्राथमिकता दिने नीतिका कारण हाम्रो उद्योग विदेशी कम्पनीसँग सिधा प्रतिस्पर्धामा छ ।’
स्वास्थ्य बिमा प्रणालीको प्रभाव
अर्को प्रमुख चुनौती भनेको स्वास्थ्य बिमा प्रणालीसँग सम्बन्धित रहेको ठाकुर बताउँछन् । हाल देशभरि प्रायः सबै सरकारी तथा निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएकाले औषधी खरिद प्रायः बाँकीमा हुन्छ । उद्योगले औषधी उपलब्ध गराए पनि भुक्तानीको प्रक्रिया बिमा रकम प्राप्तिपछि मात्र हुने हुँदा उद्योगले तरलता संकट झेल्नुपरेको छ । ‘सरकारले समयमै बिमा भुक्तानी नदिँदा उद्योगहरू आर्थिक संकटमा परेका छन्,’ ठाकुरको गुनासो छ ।
एलेक्सा लाइफ साइन्सेसले सुरुवाती चरणमै २०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगको सुदृढ सञ्चालनसँगै अप्रत्यक्ष रुपमा हजारौं जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ । यसले न केवल औषधीमा आत्मनिर्भरता कायम गर्न मद्दत गर्नेछ, तर ग्रामीण क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा पनि योगदान पुर्याउनेछ ।
उद्योगले निकट भविष्यमा स्लाइनको निर्यात गर्ने योजना पनि बनाएको छ । नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय स्लाइन आपूर्ति गरिएमा अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली उत्पादनको विश्वसनीयता स्थापित गर्ने सम्भावना रहेको ठाकुर बताउँछन् ।

मूल्य समायोजन र उपभोक्ता हित
औषधीको मूल्य निर्धारणमा समेत राज्यको ध्यान जान आवश्यक रहेको ठाकुरको सुझाव छ । ‘१५ वर्ष अगाडि निर्धारण भएको अधिकतम खुद्रा मूल्य अहिले पनि यथावत छ । यस्ता औषधीहरूको उत्पादन घाटामा जाँदा अन्ततः उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने स्थिति आउँछ,’ अध्यक्ष ठाकुरले भने, ‘ समयसापेक्ष मूल्य समायोजन प्रणाली लागू गरिनुपर्छ, जसमा औषधीको मूल्य अध्ययन, अनुसन्धान, उत्पादन लागत, कच्चा पदार्थको मूल्य लगायतका आधारमा परिवर्तन गरिन सकियोस् ।’
यदि राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर नीति बनायो भने हामी आफैं औषधीमा आत्मनिर्भर बन्न सकिने उनले बताए । ‘आयातमा अनावश्यक छूट दिने र स्थानीय उद्योगको उत्पादनमा करको भार थोपर्ने गलत अभ्यास बन्द हुनु आवश्यक छ,’ उनले भने, ‘एलेक्सा लाइफ साइन्सेस प्रालिको शुरुवात केवल एउटा उद्योग स्थापना मात्र होइन, स्वास्थ्य सुरक्षामा आत्मनिर्भर बन्ने दिशातर्फको महत्वपूर्ण कदम हो । यसले उत्पादन, रोजगारी, आयात प्रतिस्थापन, निर्यात, र नीति सुधारमा बहुआयामिक प्रभाव पार्नेछ । अब आवश्यकता छ, राज्यको स्पष्ट, प्रोत्साहनात्मक र संरक्षणमुखी नीतिले स्वदेशी उद्योगलाई मलजल गर्न सकोस् ।’
