विराटनगर—नेपाल चिकित्सक संघ (एमएमए)को नेतृत्वमा देशभरका आवासीय चिकित्सकहरूको आन्दोलनले कोशी अस्पतालसहित प्रदेशका अधिकांश स्वास्थ्य संस्थाहरूको सेवा प्रभावित भएको छ । शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरिएपछि सयौं बिरामीहरू प्रत्यक्ष रूपमा मारमा परेका छन् ।
नेपाल चिकित्सक संघ कोशी प्रदेश शाखाकाअनुसार आन्दोलनको मुख्य माग निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई पनि सरकारी मेडिकल कलेजमा झैं आठौं तह सरहको सेवा, सुविधा तथा निर्वाह भत्ताको व्यवस्था गर्नु रहेको छ । हाल यो सुविधा केवल सरकारी मेडिकल कलेजहरूमा मात्र सिमित छ ।
एमएमए कोशी शाखाका महासचिव डा. बालकृष्ण साहकाअनुसार आन्दोलनका अन्य प्रमुख मागहरूमा आवासीय चिकित्सकहरूको कार्य समय (ड्युटी अवधि) सम्बन्धमा स्पष्ट, व्यवहारिक तथा व्यावसायिक मापदण्ड तयार पार्नुपर्ने र चिकित्सकहरूको भावना र सम्मानप्रति सरकार गम्भीर हुनुपर्ने रहेका छन् ।
आन्दोलनका गतिविधिहरू
एमएमए कोशीका अध्यक्ष डा. राजेन्द्र चौधरीको नेतृत्वमा बिहीबार आवासीय चिकित्सक तथा मेडिकल अफिसरहरूको टोलीले मोरङ जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । संशनिहाटस्थित संघको कार्यालयबाट ¥यालीसहित प्रशासन कार्यालय पुगेको टोलीले प्रशासन परिसरमै धर्ना समेत दिएको थियो ।
यस्तै, संघको अर्को प्रतिनिधिमण्डल र इनरुवा अस्पतालका चिकित्सकहरूको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
स्वास्थ्य सेवामा परेको प्रभाव
आन्दोलनका कारण कोशी अस्पतालसहित मोरङ र सुनसरीका अधिकांश सरकारी तथा निजी अस्पतालहरूमा ओपीडी सेवा पूर्ण रूपमा ठप्प भएको छ । यसले गर्दा दैनिक औसतमा तीन भन्दा बढी बिरामीहरू प्रभावित भएका छन् ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाका अनुसार आकस्मिक कक्षमा मात्र सेवा जारी छ । ‘त्यहाँ पनि चाप बढेको छ । दैनिक ३५० भन्दा बढी बिरामीहरू आकस्मिक कक्षमा आइसकेका छन्, जुन सामान्य अवस्थाको तुलनामा दोब्बर हो,’ उनले भनिन् ।
विराटनगरका केही निजी हस्पिटलले पनि आन्दोलनको समर्थन गर्दै आफ्नो अस्पतालको पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
आन्दोलनले बिरामीलाई सास्ती
विराटनगर– ११ का ६६ वर्षीया वर्षीया माया खड्का मधुमेहको नियमित परीक्षण गराउन कोशी अस्पतालमा आएकी थिइन् । ‘डाक्टर भेट्न पाइएन, ओपीडी बन्द छ भन्छन् । अब औषधि सकिन लाग्यो, के गर्नु ?,’ उनको प्रश्न थियो । त्यस्तै, विराटनगर ९ का सन्नी श्रेष्ठ घाँटीमा समस्या भएपछि परीक्षण गराउन कोशी अस्पताल आएका थिए । ‘यहाँ आउँदा चिकित्सकको आन्दोलन रहेछ । चिकित्सक नभेटेपछि फर्किएर जानु प¥यो,’ उनले आफ्नो पीडा पोखे ।
कोशी अस्पतालको आकस्मिक कक्षमा भीड बढेको छ । धेरै बिरामीहरू आकस्मिक नभएपनि उपचारको लागि त्यहाँ आएका छन् । यसले गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा समेत चुनौती थपिएको आकस्मिक विभागमा खटिएका चिकित्सक बताउँछन् ।
आन्दोलनका बीच पनि केही ठूला अस्पतालहरूले वरिष्ठ विशेषज्ञ चिकित्सकमार्फत सिमित सेवा दिने प्रयास गरेका छन् । कोशी अस्पतालकी मेसु डा. झाले आकस्मिक कक्षमा थप चिकित्सकहरू खटाइएको र अत्यावश्यक सेवाहरू निरन्तर रहने बताइन् ।
संघका महासचिव डा. साहले वैशाख १२ गतेदेखि आन्दोलन चरणबद्ध रूपमा अगाडि बढाइने बताए । ‘पहिलो चरणमा आकस्मिकबाहेकका सेवाहरू बन्द गरिएको छ । यदि सरकारले माग सम्बोधन नगरे द्रुत गतिमा आन्दोलन अगाडि बढ्नेछ,’ उनले चेतावनी दिए।
चिकित्सक संघका अध्यक्ष डा. चौधरीले भने, ‘हामी बिरामीलाई दुःख दिन चाहँदैनौं तर आवासीय चिकित्सकहरूको हकहित र भविष्यको लागि यो आन्दोलन अपरिहार्य छ । सरकारले चिकित्सकहरूको समस्या बुझ्नुपर्छ ।’
आन्दोलनकारी चिकित्सकहरूले यदि सरकारले माग पूरा नगरे आगामी दिनमा आकस्मिक सेवा समेत बन्द गर्न सक्ने चेतावनी दिएका छन् । यसले गर्दा स्वास्थ्य क्षेत्रमा गम्भीर संकट उत्पन्न हुने चिन्ता उत्पन्न भएको छ ।