काठमाडौं—शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
शिक्षकहरुको लगातार आन्दोलनका सम्बोधन गर्न नसकेपछि शिक्षामन्त्री दबाबमा परेकी थिइन् । कक्षा १२ को बोर्ड परीक्षा, नयाँ भर्नालगायतका विषयहरु थाती रहेर १९ दिनदेखि शिक्षकहरु सड्कमा धर्नामा बसेपछि सरकारलाई उनीहरुलाई स्कुलमा फर्काउनुपर्ने दबाब छ ।
तर, १९ दिनसम्म पनि शिक्षकका माग सम्बोधन गरेर स्कुलमा फर्काउन नसकेपछि विभागीय मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।
आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी मेडिकल अधिकृतसरह बनाउन शिक्षामन्त्री भट्टराईको भूमिका थियो । अहिले आवासीय चिकित्सकहरुको निर्वाह भत्ता सरकारी मेडिकल अधिकृत सरह ४८ हजार ६०० दिनुपर्ने निर्णय सरकारले लागु गरेको छ ।
तर, निजी मेडिकल कलेजहरुले अझै सरकारको यो निर्णय लागु गर्न आनाकानी गरिरहेका छन् । जसका कारण रेजिडेन्सी गरिरहेका चिकित्सकहरु समेत आन्दोलित छन् ।