काठमाडौं—६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैं छ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याम्प्सुल खुवाउन लागेको हो ।
६ र ७ फागुनमै एक वर्षदेखि पाँच वर्षसम्मका १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । उनकाअनुसार सोही दिन ६ देखि २३ महिनासम्मका बालबालिकालाई बालभिटासमेत खुवाइनेछ ।
कार्यक्रमका लागि २७ लाख भिटामिन ‘ए’ क्याप्सुल र २३ लाख ट्याब्लेट जुकाको आपूर्ति भइसकेको पनि महाशाखाले जनाएको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमका लागि १५ हजार स्वास्थ्यकर्मी ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ । महाशाखाकाअनुसार दुई चरणमा गरी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
बालबालिकामा हुने स्वास्थ्य जोखिम र कुपोषणलाई न्यूनीकरण गर्नका लागि सरकारले वि.सं. २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रमलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको छ ।
जुकाको औषधी भने वि.सं. २०५६ सालदेखि खुवाउन थालिएको हो । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधी पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा कात्तिकमा खुवाउने गरिएको छ ।
वि.सं. २०६४ बाट ६ देखि २३ महिनाका बालबालिकालाई बालभिटा (सुक्ष्म पोषक तत्व) वितरण गरिदैं आइएको छ ।
वि.सं.२०५५ मा गरिएको राष्ट्रिय सूक्ष्म पोषक तत्व वस्तुस्थिति सर्वेक्षणमा ०.२७ प्रतिशत ६ देखि ५९ महिनाका बालबालिका रतन्धोको समस्या देखाएको थियो भने ०.३३ प्रतिशत बालबालिकामा बिटोट स्पोटहरुको समस्या देखिएको थियो । वि.सं. २०७३ मा गरिएको राष्ट्रिय सूक्ष्म पोषक तत्व वस्तुस्थिति सर्वेक्षणमा ११.१ प्रतिशत ६ देखि ५९ महिनाका बालबालिकाको रगतमा भिटामिन ‘ए’ को मात्रा ०.७० माइक्रो मोल प्रति लिटरभन्दा कम रहेको पाइएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार ६ देखि ५९ महिनाका बालबालिकाको कुल जनसंख्याको १० देखि १९ प्रतिशत बालबालिकाको रगतमा भिटामिन ‘ए’ को मात्रा ०.७० माइक्रो मोल प्रति लिटरभन्दा कम रहेमा भिटामिन ‘ए’ को कमीको समस्या मध्यम प्रकारको जनस्वास्थ्यको समस्याको रुपमा रहेको मानिन्छ ।