२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने

वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने


काठमाडौं—देशकै पूरानो वीर अस्पतालमा कोक्लियर इम्प्लान्टको सेवा नियमित हुने भएको छ । मंगलबार दुई जना बिरामीको कोक्लियर इम्प्लान्ट सर्जरी गरेर सेवा सुरुवात गरिएको अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले जानकारी दिए ।

अस्पतालका सिनियर इएनटी (नाक, कान, घाटी) सर्जन डा. रविभूषण सुवालसहितको टोलीले दुई जना कान नसुन्ने समस्या भएका बिरामीको शल्यक्रिया गरेर सो इम्प्लान्ट राखेको हो । कानको भित्री भागमा रहेको कोक्लियरले काम नगरेपछि कृत्रिम कोक्लियर राखिन्छ । डा. सुवालका अनुसार जन्मजात कान नसुन्ने बच्चा तथा वयस्कमा शल्यक्रियामार्फत यो डिभाइस राखिन्छ ।

एक वर्ष अघि वीर अस्पतालका नाक, कान, घाटी रोग विशेषज्ञ प्रा.डा. दिपेन्द्र श्रेष्ठको अगुवाईमा भारतका ईएनटी सर्जन जेएम हंसले दुई जना बिरामीमा कोक्लियर इम्प्लान्ट गरेका थिए । तर, त्यसपछि नियमित हुन भने सकेन । इम्प्लान्ट राख्न महंगो हुने भएकाले नियमित हुन नसकेको चिकित्सकहरुले बताउँदैं आएका थिए ।

तर, अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इम्प्लान्टको लागि ६ लाख रुपैयाँ उपलब्ध गराउने भएपछि वीर अस्पतालमा पनि सेवा नियमित हुने निर्देशक प्रा.डा. शर्मा बताउँछन् । ‘महंगो उपचार भएका कारण नियमित हुन सकेको थिएन्,’ उनले भने, ‘अब स्वास्थ्य मन्त्रालयको सहयोगमा इम्प्लान्टका लागि ६ लाख उपलब्ध हुने भएको छ । वीरमा सेवा नियमित हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो इम्प्लान्ट राख्न त्रिवि शिक्षण अस्पताललाई ६ लाख रुपैयाँका दरले अनुदान दिइरहेकोमा अब वीर अस्पताललाई पनि दिने भएको छ ।

के हो त कोक्लियर इम्प्लान्ट

मान्छेको कानभित्र कक्लिया हुन्छ । यसैको माध्यमबाट मानिसले सुन्ने काम गर्छ । कक्लिया बिग्रियो भने व्यक्तिको श्रवणशक्ति हराउँछ र कान सुन्न सकिँदैन् । कक्लिया बिग्रनुमा विभिन्न कारण छन् । कुनै वंशाणुगत हुन्छ भने कुनै जन्मजात राम्रोसँग विकास हुँदैन् । कतिपय अवस्थामा विभिन्न खालका संक्रमणले कक्लियामा समस्या ल्याउँछ ।

सुत्केरी समयमा, बच्चामा अक्सिजनको मात्रा नपुग्ने जस्तो अवस्थामा कक्लियामा क्षति पुग्न सक्छ । बढी ज्वरो आउने, मेनेन्जाइटिस हुने, हाँडे आउनेजस्ता कारणले कक्लियामा क्षति पुगेको अवस्थामा व्यक्तिले सदाका लागि कान नसुन्न सक्छ । कानका संयन्त्रले काम नगरेको अवस्थामा र श्रवणयन्त्रले पनि सुनाइ फर्काउन नसकेको अवस्थामा कोक्लियर इम्प्लान्ट गर्नुपर्ने हुन्छ ।

कक्लियाले हाम्रो बाहिरी कानबाट भित्र जाने मेकानिकल इनर्जीलाई इलेक्ट्रोनिक्स इनर्जीमा बदलेर ब्रेनमा पु¥याउँछ । कक्लियाले काम नगरेको अवस्थामा पटक्कै कान नसुन्ने समस्या हुन्छ । त्यहीकारण यो डिभाइस कक्लियाको विकल्प हो । कोक्लियर इम्प्लान्ट संयन्त्र कानको शल्यक्रिया गरी राखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ