२०८२ वैशाख २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठवैकल्पिक चिकित्सासामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल

सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्छ : दाहाल


नवलपुर—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्प्ताल तथा विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने बताएका छन् । मंगलबार हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गर्दै दाहालले सो कुरा बताएका हुन् ।

दाहालले आफू सरकारमा रहँदा पनि चिकित्सालयको विकासमा निरन्तर सहयोग पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चिकित्सक अभावको विषय उठाउँदै आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिए। साथै, व्यवस्थापन र भवन निर्माणमा आवश्यक पहल गर्ने विश्वास पनि दाहालले व्यक्त गरे ।

चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे समेत चर्चा गरेका थिए । उनले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए ।

दाहालले यसअघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गरेका थिए । प्रधानमन्त्री रहेका बेला उनले संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई पनि थप लगानी गर्न आग्रह गरेको जानकारी दिए ।

‘स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ,’ उनले भने, ‘नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।”


क्याटेगोरी : वैकल्पिक चिकित्सा, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ