२०८२ वैशाख २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटतीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा

तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा


काठमाडौं—निजी क्षेत्रकै अग्रणी अस्पताल नर्भिक इन्टरनेशनल अस्पताल १ वैशाखबाट ३२ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल तीन दशकभन्दा लामो यो अवधिमा मुलुकको ‘मल्टी स्पेसियालिटी अस्पताल’ बन्न सफल भएको छ ।

स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टिच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथ ल्याब, २०१३ मा गाइनोकोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइक्याट्रीक, आईभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरु सञ्चालन गरिरहेको छ ।

पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ । यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरिएको अस्पतालले जनाएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरेको अस्पतालले जनाएको छ ।

यसबाहेक अस्पतालले सब–स्पेसियालिटी क्षेत्रको रुपमा विकास भइरहेको इमर्जेन्सी सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ । जसका लागि एमडी तहका चिकित्सक, मेडिकल अफिसर, नर्सिङ तथा सिनियर प्यारामेडिकल टिम चौबिसै घण्टा सेवामा खटिनुभएको छ । प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ ।

‘स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेका छौं,’ अस्पतालले भनेको छ, ‘नर्भिक अस्पताल विदेशी नागरिकका लागि पनि विश्वसनीय गन्तव्य बन्दै गएको छ । हालसम्म हामीले सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएका छौं ।’

हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन निर्माण गरिरहेको छ । सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुनेछ । अस्पताल सन् २०२१ को जुलाई १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ र निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी छ ।

प्रविधिको विकाससँगै अस्पतालले डिजिटल प्रणाली अंगीकार गर्दै डिजिटलाइज्ड गर्ने क्रममा छुट्टै एप विकास गरेको छ । जसमार्फत चिकित्सकहरुले डिजिटल प्रेस्क्रीप्सन, ल्याब परीक्षणको रिपोर्टलगायतका सेवा लिन सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ