काठमाडौं—सत्तारुढ एमाले निकट राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडिएएन)ले चिकित्साशास्त्रको स्नातकोत्तर तह (पिजी)को सिट कटौंतीको सम्भावना नरहेको जनाएको छ । शुक्रबार एनडिएनएनका महासचिव डा. छवि पन्थीले एक विज्ञप्ती जारी गर्दै पिजीको सिट बाँडफाँड पहिलेजस्तै रहने बताएका छन् ।
‘पिजी सिट पहिलेजस्तै नै रहनेछ र कटौतीको कुनै सम्भावना छैन,’ उनले भनेका छन्, ‘वास्तवममा हामी सिट संख्या बढाउन सक्रिय रुपमा लागिरहेका छौं ।’ उनले त्यसकारण यसको चिन्ता नलिन आग्रह गरेका छन् ।
एनडिएनएनले रेजिडेन्सहरुले सम्मानका साथ अध्ययन गर्न पाउन र आठौं तहका सरकारी मेडिकल अधिकृत सरहको तलब प्राप्त गरुन भन्ने कुरा सुनिश्चित गर्न पनि अथक प्रयास गरिरहेको जनाएको छ । ‘आठौं तहको तलब ग्यारेण्टी गरिएका छ,’ विज्ञप्तीमा छ, ‘प्रधानमन्त्री र एमईसीद्वारा उच्चस्तरमा गरिएको निर्णय उल्टाउन सकिदैंन् ।’
डा. पन्थीले विज्ञप्तीमा आफूहरु पिजी सिट संख्या र आठौं तहको तलबको कार्यन्वयन सुनिश्चित गर्न समन्वय गरिएको उल्लेख गरेका छन् । ‘जसरी भएपनि हामी यसलाई सम्भव बनाउनेछौं,’ विज्ञप्तीमा छ, ‘हामी एकतावद्ध रहौं र सँगै अगाडि बढिरहौं ।’
पछिल्लो समय निजी मेडिकल कलेजले रेजिडेन्स चिकित्सकलाई आठौं तहको सरकारी मेडिकल अधिकृतसरहको निर्वाह भत्ता दिन नसक्ने भन्दैं पिजीमा भर्ना नलिने अडान राखेका छन् । जसका कारण प्रवेश परीक्षा उत्तीर्ण गरेका सयौं विद्यार्थीको पिजी अध्ययन अन्योलमा छ । जसका कारण रेजिडेन्स र प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु आन्दोलनमा छन् ।
