काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ शिखर सम्मेलन २८ देखि ३० चैतसम्म गर्ने भएको छ । बुधबार परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले काठमाडौंको द सोल्टी होटलमा हुने उक्त शिखर सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको सहभागिता रहने जानकारी दिए ।
‘स्वास्थ्य, जलवायु र जनसंख्या परिवर्तनः दिगो र समतामूलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ भन्ने मूल नाराका साथ हुने उक्त शिखर सम्मेलनको औपचारिक उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराईले गर्ने कार्यक्रम छ । भारत, चीन, बेलायत, स्वीटजरल्याण्ड, अमेरिकालगायतका देशहरुको वैज्ञानिकहरुको सहभागिता रहने डा. जोशीले जानकारी दिए ।
सम्मेलनका लागि १४६ वटा मौखिक तथा १२३ वटा पोष्टर प्रस्तुतीकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्याकहरु प्राप्त भएका थिए । जसमध्ये साइन्टीफिक कमिटीले निर्धारण गरेको मापदण्डका आधारमा ८७ वटा मौखिक प्रस्तुतीकरण र ११५ वटा पोष्टर प्रस्तुतीकरण सम्मेलनमा प्रस्तुत हुनेछन् ।
सम्मेलन विशेषगरी जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका र हुन सक्ने सम्भावित चुनौतीहरु, स्वास्थ्य प्रणालीको उत्थानशीलता, स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताजस्ता विषयमा केन्द्रीत रहनेछ,’ डा. जोशीले भने, ‘यसका साथै स्वास्थ्य बीमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरुको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरु, मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरु र अनुसन्धान नियमनजस्ता स्वास्थ्य क्षेत्रका तडकारो विषयवस्तुमा केन्द्रीत भएर व्यापक छलफल र प्रस्तुतीकरण गरिनेछ ।’
हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर परिषद्ले राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनपछि समापन समारोहमा उत्कृष्टहरुलाई पुरस्कार प्रदान गर्ने गरिन्छ ।