विराटनगर—कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजूलाई उल्लेख्य घटाएको छ । मन्त्रालयको विवरणअनुसार हालसम्म ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजू नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रुपैयाँ नियमित गरेको छ ।
यस्तै, असुल गर्नुपर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल गरेको छ । मन्त्रालयले अब १ करोड ७० लाख ३८ हजार २ सय ५९ रुपैयाँ असुल गर्न बाँकी देखिएको छ । यस्तै, नियमित गर्न बाँकी रकम अझै २५ करोड ६२ लाख २३ हजार ८६८ रुपैयाँ रहेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, १४ वटा आयुर्वेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् । त्यसमध्ये, जिल्ला स्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजू घटाउन कुनै प्रगति गरेका छैनन् ।
स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपर्ने बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने बताए । ‘सुशासनमा सम्झौता हुँदैन । शून्य सहनशीलता भनेको बेरुजूलाई शून्यमा झार्नु हो । त्यसपछि मात्रै हामीले भनिरहेको सुशासन कायम हुन्छ,’ राईले भने ।
मन्त्री राईले सम्हालेकै भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजूलाई पनि उल्लेख्य घटाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ सम्ममा मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजू रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सोमध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजू असुल भएको हो ।
मन्त्रालयका अनुसार असुल गर्नुपर्ने बेरुजू सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय मोरङअन्तर्गत थियो । उक्त कार्यालयमा १८ करोड ६२ लाख ९३ हजार २३५ रुपैयाँ थियो । जसमध्ये सो कार्यालयले १६ करोड १६ लाख ९४ हजार रुपैयाँ असुल गरेको छ ।
यस्तै, यातायात पूर्वाधार विकास कार्यालय मोरङ, पूर्वाधार विकास कार्यालय पाँचथर, पूर्वाधार विकास कार्यालय संखुवासभाले भने बेरुजू असुल गर्नै सकेका छैनन् । ती कार्यालयहरुमा असुल गर्नुपर्ने बेरुजू क्रमसः २ करोड ३६ लाख, ६ करोड १३ लाख, ९२ लाख र ७ लाख ७७ हजार रुपैयाँ थियो ।
सो मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजू रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ रहेको छ । जसमध्ये २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको मन्त्री राईले बताए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नियमित गर्नुपर्ने बेरुजूलाई १ अर्बले घटाउने लक्ष्य राखेको बताए । यस्तै, असुल गर्नुपर्ने बेरुजूलाई सकेसम्म शून्यमा झार्ने उनले बताए ।