रोगको कारण खोज्न १७ हजार जनामा २० वर्षे अनुसन्धान

काठमाडौं—मानिसमा लाग्ने रोगको कारण पत्ता लगाउन नेपाल फ्यामिली कोहर्टको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । देशका दुई वटा नगरपालिकाका ५०० घरपरिवारका १७ हजार मानिसमा २० वर्ष लामो अध्ययन भएको हो ।
अध्ययन भइरहेको नगरपालिकामा लुम्बिनी साँस्कृतिक नगरपालिका र वालिङ नगरपालिका रहेका छन् । अध्ययनका क्रममा ५ वर्षमाथिका ७ हजार ८ सय ६८ बालबालिका र ६५६९ अभिभावक लिइएको प्रारम्भिक रिपोर्ट सूचना प्रविधी तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् ।
रिपोर्ट सार्वजनिक पश्चात आयोजित पत्रकार सम्मेलनमा प्रमुख अनुसन्धानकर्ता कोभेन्ट्र विश्वविद्यालय बेलायतका डा. ओमकुमार कुर्मीले यो अध्ययनले स्वास्थ्य क्षेत्रको बहुआयामिक पक्षलाई समेट्ने बताए । उनले सन् २०२२ मा परियोजना तय गरेर नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृती लिइसकिएको र २०४४ सम्म नियमित रुपमा हुने बताए । ‘यो अध्ययनले फोक्सो स्वास्थ्यसँगै एउटा व्यक्तिको सम्पूर्ण स्वास्थ्य सम्बन्धी अध्ययन गरी रोकथामका लागि सहयोगी हुन्छ,’ उनले भने, ‘अध्ययनमा पारिवारिक हिस्ट्री, जाँच पड्तालदेखि लिएर उपचार सिफारिससम्मको प्रक्रिया पूरा हुन्छ ।’
अनुसन्धानका क्रममा शारीरिक क्रियाशीलता, पोषण तथा इन्डोक्राइन, मुटुरोग सम्बन्धी अध्ययन, दम, एलर्जी र फोक्सोको अवस्था, वातावरणीय संक्रमण, सुताइमा अनियमितता, नसा तथा मस्तिष्क विकास, मानसिक स्वास्थ्य, संक्रमण, प्रजनन स्वास्थ्य आदि विषयलाई ८०० भन्दा बढी प्रश्नावलीमार्फत सम्बोधन गरिने जनाइएको छ ।
के के आयो प्रारम्भिक तथ्यांकमा ?
प्रारम्भिक तथ्यांक संकलनका क्रममा प्रश्नावलीको उत्तरदाताका रुपमा बालबालिकाका अभिभावकको रुपमा बुबाभन्दा आमाको संख्या बढी पाइयो । ६५५९ जना उत्तरदाता अभिभावकमा ४८२५ जना आमा र १७३४ जना बुबा रहेका थिए ।
उत्तरदातामध्ये ४९९७ जनाले इन्धनमा खाना पकाउने गरेको पाइयो । जसमा ५४ प्रतिशतले दाउरामा, ३० दशमलव ३ प्रतिशतले ग्यास प्रयोग गर्ने, ११ दशमलव ४ प्रतिशतले गुइठा, ४ प्रतिशतले झिझा र शुन्य दशमलव ३ प्रतिशतले अन्य इन्धन प्रयोग गर्ने गरेको पाइयो ।
त्यसैगरी, अध्ययनमा सहभागी १२ दशमलव ४ प्रतिशतले सूर्ति सेवन गर्ने गरेको बताएका छन् । त्यसैगरी ६५२२ जनाको रक्तचाप मापन गरेकोमा १२ दशमलव ४ प्रतिशतमा उच्च रक्तचाप र ६ दशमलव ३ प्रतिशतमा न्यून रक्तचाप भएको पाइएको छ ।
६१११ जनामा सिओपिडीको आफै रिपोर्ट गर्नेको संख्या ० रहेको थियो भने ११४ जनामा मिल्दोजुल्दो लक्षण देखिएको थियो । २३७ जनामा भने जाँच पड्तालमा पत्ता लागेको थियो ।
अध्ययनमा बालबालिका
अध्ययनमा ७८६८ बालबालिकाको सहभागिता रहेको थियो जसमा ४१२३ बालक र ३७४५ बालिका रहेका थिए । अध्ययनमा सहभागी बालबालिकामा एक हप्ताको उनीहरुको सुत्ने समयावधि प्रति दिन प्रति घण्टाको हिसाबले निकालिएको थियो । जसमा पुरुषको ८.२ घण्टा र महिलाको ७.८ घण्टा पाइएको थियो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, कोभेन्ट्री युनिभर्सिटी, बेलायत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, एनआइआरआई, डिकोड, नटिङ्गम युनिभर्सिटी, नेसनल इन्स्ट्रीच्युट अफ हेल्थ रिसर्च, काठमाडौं, इन्स्ट्रीच्युट अफ चाइल्ड हेल्थलगायत रहेका छन् ।
धेरै पढिएका
- १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- २ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति
- ३ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- ४ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
तपाईको प्रतिक्रिया दिनुहोस