२०८१ चैत्र १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया

एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया

९ लाख ७ हजार ७१ जना विदेशीले लिए आँखा उपचार सेवा


काठमाडौं—नेपाल नेत्रज्योति संघले आफ्नो सञ्जालमार्फत एक वर्षमा ३४ हजारभन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको छ । संघले सन् २०२४ मा देशैभर रहेका २८ आँखा अस्पताल, २ सय २४ आँखा उपचार केन्द्र तथा विभिन्न वाह्य कार्यक्रमहरुमार्फत ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार संघद्वारा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । उनकाअनुसार सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परीक्षण गरिएको छ भने २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दकाअनुसार संघअन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरीय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगायकामुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । महासचिव चन्दका अनुसार सन् २०२४ मा मात्र संघको संजालमार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परीक्षण गरी १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको छ ।

‘नेपालको आँखा उपचारको गुणस्तरीयताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ,’ महासचिव चन्दले भने, ‘अब हामीले बढीभन्दा बढी नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल नेपाल सरकारसँगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडि बढाएका छौं।’

संघका अध्यक्ष प्रा.डा. चेजराज पन्त नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएतापनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बञ्चित रहेको बताउँछन् । ‘सन् २०२१ मा नेपालका ७ वटै प्रदेशमा गरिएको सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा सबैभन्दा बढी नागरिकहरु आँखा उपचार सेवाबाट बञ्चित रहेको देखाएको छ । त्यसैले सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक छ,’ उनले भने ।

वि.सं. २०३५ सालमा गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ । ४७ औँ नेत्रज्योति दिवसका अवसरमा संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्रा.डा. डि.एन. शाह, प्रा.डा. ताकेसी नाईतो, डा. जुनसुके आकुरा, डा. रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मानबाट सम्मानित गरिने भएको छ । त्यसैगरी, श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्रा.डा. दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाइफ टाईम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ