क्षयरोग (Tuberculosis, TB) एक संक्रामक रोग हो जसले प्रायः फोक्सो (lungs) लाई प्रभाव पार्छ । तर, यसले शरीरका अन्य अंगहरूलाई पनि प्रभावित गर्न सक्दछ। यो रोग Mycobacterium tuberculosis नामक ब्याक्टेरिया द्वारा लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट (खोक्दा, हाँस्दा वा कुराकानी गर्दा) सर्दछ। संक्रमित व्यक्तिको खकार वा थुकका छिटामा रहेका ब्याक्टेरिया अन्य व्यक्तिको श्ववासप्रणालीमा हावाद्धारा प्रवेश गर्छन्। फोक्सोमा लाग्ने क्षयरोग (Pulmonary TB) को लक्षणहरुमा लगातारको खोकी लाग्नु, ज्वरो आउनु, तौल घट्दै जानु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुने हुन्छ। क्षयरोग केवल फोक्सोमा मात्र सीमित रहँदैन। यसले मस्तिष्क, किड्नी, हड्डी, लिभर, लिम्फ नोड्स, लगायतका अन्य अंगहरूलाई पनि प्रभावित गर्न सक्छ, जसलाई Extra-Pulmonary TB वा फोक्सो बाहेक अन्य अङ्गमा लाग्ने क्षयरोग भनिन्छ ।
क्षयरोग (टिबि) विश्वभर जनस्वास्थ्य समस्याको रुपमा रहि आएको छ । यद्यपि क्षयरोग रोकथाम गर्न सक्ने तथा निको हुने रोग हो। विश्व स्वास्थ्य संगठनका (WHO) अनुसार, सन २०२३ मा करिब एक करोड आठ लाख मानिसमा क्षयरोग लागेको अनुमान छ । तीमध्ये झण्डै १२ लाख मानिसको मृत्यु हुने गरेको छ।
क्षयरोगको ६ प्रमुख कारक तत्वहरुमा कुपोषण, मधुमेह, एच.आई.भि, धुम्रपान, लागू औषधीको सेवन, र रक्सी सेवन पर्दछ। यी बाहेक अन्य व्यक्तिहरु जस्तै क्यान्सर, दम तथा लामो समयसम्म स्टोराइड औषधी सेवन गरेकाहरु लगायत अन्य व्यक्तिहरु पनि जोखिम समुहमा पर्दछन्। यी व्यक्तिहरूमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कमजोर भएको हुनाले क्षयरोग(टीबी) संक्रमण बाट रोगमा परिणत सजिलै हुने हुन्छ। त्यसैगरी गरिबी, अस्वच्छता, अस्वस्थ वातावरण, र स्वास्थ्य सेवामा पहुँच नहुनुले क्षयरोगको संक्रमणको जोखिम बढाउँछ। क्षयरोगको उपचार नगर्नु तथा पुरा अवधि सम्म क्षयरोगको औषधी सेवन नगरेमा क्षयरोग संक्रमणले गंभीर रूप लिन सक्नुका साथै औषधि प्रतिरोधी क्षयरोग पनि हुनसक्छ।
क्षयरोगलाई विभिन्न किसिमले वर्गीकरण गर्न सकिन्छ। क्षयरोगमा प्रयोग हुने औषधीहरुको प्रभावकारीता अनुसार क्षयरोग २ किसिमको हुन्छ:
- औषधि प्रतिरोध नभएको क्षयरोग (Drug – Susceptible TB): सामान्य किसिमको क्षयरोगको उपचार ६ महिनासम्म दैनिक रुपमा औषधी सेवन गरेमा निको हुने गर्दछ। यस रोगमा क्षयरोगको पहिलो चरणका ४ किसिमका औषधिहरु प्रयोगमा आउँछन्।
- औषधि प्रतिरोध भएको क्षयरोग (Drug Resistant-TB): क्षयरोगको कुनै पनि पहिलो चरणको औषधिहरुमा प्रतिरोध विकास भएको अवस्थामा क्षयरोगको दोस्रो चरणका औषधिहरुको आवश्यकता पर्दछ। औषधि प्रतिरोध विकास भएको अवस्थाको क्षयरोगलाई औषधि प्रतिरोध क्षयरोग भनिन्छ। यस किसिमको क्षयरोगको उपचार सामान्यतया ६ देखि १८ महिना सम्मको हुने गर्दछ।
क्षयरोग बिरामीको शिघ्र पहिचान तथा निदान गरी बिरामीलाई उपचारमा ल्याउनु नै क्षयरोग रोकथामको उत्तम उपाय हो । क्षयरोग रोकथामका लागि नवजात शिशुहरूलाई BCG भ्याक्सिन दिइन्छ। यद्यपि यसले शत् प्रतिशत सुरक्षा भने दिन सक्दैन। तर जटिल किसिमका क्षयरोग जस्तै TB meningitis हुन बाट भने रोक्न सक्ने हुन्छ। त्यसैगरी क्षयरोग बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, एच.आई.भि संक्रमितहरु तथा अन्य जोखिम समूहका व्यक्तिहरुलाई क्षयरोग रोकथामको लागि क्षयरोग रोकथाम उपचार (TB Preventive Treatment) पनि दिईने गरिन्छ।
दिगो विकास लक्ष्य (Sustainable Development Goals), २०३० ले सन् २०३० सम्ममा क्षयरोगको नयाँ बिरामी हुने दरलाई ८०% र मृत्यु संख्यालाई ९०% ले कम गर्ने लक्ष्य राखेको छ। विश्वभर क्षयरोगको समस्या अझै गंभीर छ, र यसलाई नियन्त्रण गर्नका लागि सबै देशहरूको साझा प्रयास र जनचेतनाको आवश्यकता छ। सन् २०२३ मा क्षयरोग संक्रामक रोगहरुमध्ये पहिलो मृत्यु गराउने कारणका रूपमा देखिएको छ । विश्वमा क्षयरोग प्रभावित व्यक्तिहरुमध्ये ४५% व्यक्तिहरु भारत, बंगलादेश, नेपाल लगायत दक्षिणपूर्वी एशियाका ११ देशहरुमा रहेका छन्।
नेपालमा क्षयरोग विगतदेखि नै प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालमा ६८ हजार क्षयरोगका नयाँ बिरामीहरु भएको अनुमान गरिएकामा ४० हजार ७ सय ७६ नयाँ बिरामी पत्ता लागेका थिए । त्यसैगरी ३ हजार जना औषधी प्रतिरोधी क्षयरोगका बिरामी रहेको अनुमान गरिएकामा ७ सय ५६ जना निदान भई ६ सय ३३ बिरामी उपचारमा आएका छन् । त्यसकारण सबै बिरामी पत्ता लगाउन र निदान भएकालाई उपचारको दायरामा ल्याउन चुनौती थपिएको छ । उपचारमा आएका बिरामीमध्ये सामान्य किसिमको क्षयरोग (Drug – Susceptible TB) को उपचार सफलता दर ९२.१५ प्रतिशत छ भने औषधी प्रतिरोधि क्षयरोग(Drug-Resistant TB) को उपचार सफलता दर ७८ प्रतिशत रहेको छ । क्षयरोगको सबैभन्दा धेरै भार मधेश प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशमा रहेको छ । यी प्रदेशले मात्र ६८ प्रतिशत भार ओगटेका छन् । साथै औषधी प्रतिरोधी क्षयरोगको भार पनि यिनै प्रदेशहरुमा उच्च रहेको छ ।
क्षयरोग अन्त्यको विश्वव्यापी रणनीति (सन् २०१६– २०३५ ले सन् २०३५ सम्म विश्वमा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । क्षयरोग अन्त्यको विश्वव्यापी रणनीतिलाई आत्मसात् गर्दै नेपालमा राष्ट्रिय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ तयार गरी हाल कार्यान्वयनमा छ । क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजना अनुसार आव २०७७/०७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकामा यसलाई ०८२/०८३ सम्ममा १८१ प्रतिलाख जनसंख्यामा झार्ने र मृत्युदरलाई ०७७/०७८ को ५८ जना प्रतिलाख जनसंख्याबाट ०८२/०८३ को अन्त्यसम्ममा २३ प्रतिलाख जनसंख्यामा झार्ने लक्ष्य छ । यस्तै, क्षयरोगको कारणले परिवारमा पर्ने Catastrophic Cost शून्यमा झार्ने तथा ०९१/०९२ सम्ममा क्षयरोग महामारीको अन्त्य र २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । United Nations High-Level Meeting on TB (UNHLM), End TB Strategy, Global Fund Strategy, र UN Sustainable Development Goals लगायतका अन्तर्राष्ट्रिय घोषणा र एक्यबद्दताहरु प्रति नेपाल सरकार प्रतिबद्ध छ र सोहि दिशामा आफ्ना कार्यक्रमहरु अगाडी बढाएको छ। साझेदारी र सामूहिक कार्यहरु गर्दै नेपालले क्षयरोग विरुद्धको विश्वव्यापी लडाइमा आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दै आइरहेको छ ।
नेपालले क्षयरोग अन्त्यको लागि विविध चुनौतीहरूको सामना गरिरहेको छ। ती चुनौतीहरूमध्ये प्रमुख चुनौतीहरु यस प्रकार रहेका छन्:
- अनुमानित क्षयरोग प्रभावित व्यक्तिहरु र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिहरुको संख्यामा ठूलो अन्तर (करिब ४०% अनुमानित क्षयरोग प्रभावित बिरामीहरुलाई उपचारको दायरामा ल्याउन नसक्नु)
- पर्याप्त स्रोतको अभाव [राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१/२२ देखि २०२५/२६ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन यूस डलर रहेकोमा ११० मिलियन मात्र अनुमानित उपलब्ध रहेको छ। (४३% बजेट अभाव रहेको छ)]
- क्षयरोगको कारणबाट अधिक आर्थिक व्ययभार पर्नु (राष्ट्रिय क्षयरोग लागत परीक्षण (TB patient cost survey), २०२४ का अनुसार नेपालमा ५१% क्षयरोग प्रभावित व्यक्तिहरु तथा उनीहरुको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ।)
- क्षयरोग अन्त्यका लागि सबै क्षेत्रहरुको सहकार्य नहुनु (क्षयरोग गरिबीसँग नजिकको सम्बन्ध राख्ने सन्दर्भमा यो रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्र सहीत, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरु जस्तै: शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्वपूर्ण योगदान रहनु आवश्यक छ। यसका साथै निजि क्षेत्र र समुदायको संलग्नता पनि मुख्य छन्।)
तथापि यि चुनौतीहरूलाई समाधान गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग विविध अवसरहरु पनि रहेका छन् साथै आफ्ना प्रयासहरुलाई समयानुकुल निरन्तर परिष्कृत गर्दै लगेको छ। क्षयरोग नियन्त्रण कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम रहेको छ । यो कार्यक्रममा राजनीतिक प्रतिबद्दता रहेको छ । देशभर क्षयरोग उपचारको लागि संस्थागत संरचना रहेका छन । सबै अस्पतालमा र स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु क्षयरोग व्यवस्थापनमा तालिम प्राप्त हुनुहुन्छ । नेपाल सरकारले क्षयरोगको पहिचान , निदान तथा उपचार लगायतका सबै सेवाहरु निःशुल्क उपलब्ध गरेको छ । क्षयरोग नियन्त्रण कार्यक्रममा सरकारी निजी गैह्रसरकारी सामुदायिक World Health Organization, Global Fund, US AIDS, लगायत दातृ संस्थाहरुको सहयोग प्राप्त छ । क्षयरोगको निदान र उपचारको गुणस्तर सुधारका लागि विभिन्न अनुसन्धान तथा नवीनतम प्रविधिको प्रयोग र विस्तार भइरहेका छन् । औषधी प्रतिरोधी क्षयरोगको वर्तमान अवस्था पत्ता लगाउन Drug Resistant TB Survey सम्पन्न भएको छ भने क्षयरोगका बिरामीको अधिक आर्थिक व्ययभार पत्ता लगाउन TB Patient Cost Survey पनि सम्पन्न भएको छ ।
औषधी प्रतिरोधी क्षयरोग पत्ता लगाउन जिन एक्सपर्ट सेन्टर १ सय १७ स्थानमा विस्तार गरिएको छ भने छोटो समयमा क्षयरोगको पहिलो चरणका साथै दोस्रो चरणका औषधीहरुको प्रतिरोध अवस्था पत्ता लगाउन एक्सपर्ट एक्सडीआर मेसिन २१ स्थानमा विस्तार गरिएको छ । क्षयरोगको स्क्रिनिङलाई सहज गराउन AI Based Portable Digital X-ray मेसिन सातै प्रदेशमा वितरण गरिएको छ । यसले गर्दा समुदायमा क्षयरोगका जोखिम समूह भएका स्थानमा सक्रिय खोजपडताल कार्यक्रममा सहयोग पुगिरहेको छ ।
नेपाल सरकारले क्षयरोग कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिरहेको छ भने ग्लोवल फण्ड तथा विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालबाट क्षयरोगको निवारणमा अर्थिक र प्राविधिक सहयोगहरु गर्दै आइरहेका छन् ।
त्यसैगरी संघीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम प्रयासको रुपमा स्थानीयतहहरुको नेतृत्व, सहभागिता, उत्तरदायित्व, स्वामित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासहरुलाई दिगो रुपमा गति दिनको लागि “क्षयरोग मुक्त नेपाल अभियान” २०७८ संचालनमा ल्याइएको छ । यस अभियान हालसम्म १४९ वटा स्थानीयतहहरुमा विस्तार गरिएको छ । यो एक उच्च राजनैतिक प्रतिबद्धता भएको कार्यक्रम हो र यस अभियानले स्थानीय तहका आवश्यकतालाई स्थानीय तहमा नै पहल गरी स्थानीय श्रोत तथा साधनहरु परिचालन गरि क्षयरोग मुक्त बनाउने दिशामा स्थानीय तहलाई नै प्रेरित गर्दछ। यस अभियानमा सक्रिय क्षयरोग बिरामीको खोजीकार्य गर्नु, उपचारको पहुँचमा वृद्धि, गुणस्तरीय सेवा सुधार, सामाजिक सुरक्षा, र समुदाय तथा निजी क्षेत्रको अर्थपूर्ण संलग्नता सुनिश्चित गरिन्छ। त्यसैगरी वडा स्तरमा सूक्ष्मयोजना निर्माण, क्षयरोग परीक्षण, र सामाजिक लेखा परीक्षणजस्ता चालकरू लागू गरिन्छन्। सबै तहमा क्षयरोग अन्त्यका समितिहरू गठन, सहकार्यात्मक योजना तथा मूल्यांकन प्रणाली स्थापना गरी अभियानलाई प्रभावकारी बनाइन्छ जसले समुदायस्तरमा क्षयरोग न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउदछ भनी परिकल्पना गरिएको छ ।
प्रत्येक वर्ष विश्व क्षयरोग दिवस (World Tuberculosis Day) मार्च २४ मा मनाइने गरिन्छ। यो दिवसको उद्देश्य क्षयरोग (टीबी) को बारेमा जनचेतना फैलाउने, यसको रोकथाम र उपचारका उपायहरूको जानकारी दिने, र यसका प्रभावलाई कम गर्नका लागि अन्तर्राष्ट्रिय प्रयासहरूलाई प्रोत्साहन गर्नु हो। विश्व स्वास्थ्य संगठन (WHO) ले १९८२ मा विश्व क्षयरोग दिवसको सुरुवात गरेको थियो, र यस दिनलाई १८८२ मा जर्मन बैज्ञानिक रॉबर्ट कोच द्वारा क्षयरोगको जीवाणु Mycobacterium tuberculosis को पहिचान गर्ने ऐतिहासिक उपलब्धि सम्झनाको रूपमा मनाइन्छ। यो दिवस विभिन्न कार्यक्रम र अभियानका माध्यमबाट क्षयरोगको प्रभाव घटाउन र यसको उपचारमा जनसमूहको संलग्नता बढाउनका लागि विशेष ध्यान दिन्छ।
विश्व क्षयरोग दिवसको मुख्य उद्देश्यहरू:
- क्षयरोगको बारेमा जनचेतना बढाउनु।
- क्षयरोगको प्रारम्भिक पहिचान र उपचारका उपायहरू प्रचार गर्नु।
- नयाँ प्रौद्योगिकिहरू र उपचार विधिहरूको पहुँच बढाउनु।
- यस रोगसँग सम्बन्धित सामाजिक र स्वास्थ्य समस्याहरूमा सुधार ल्याउनु।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले विश्व क्षयरोग दिवस २०२५ “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता।” (“Yes! We Can End TB: Commit, Invest, Deliver”) भन्ने मूल नाराका साथ २४ मार्च, २०२५ का दिन भव्यताका साथमा मनाउन गईरहेको घोषणा गर्दछ। यस दिवसले हामीलाई क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धताहरु, प्रयासहरु, तथा उपलब्धीहरु लाई सम्झिने अवसर दिने गर्दछ। साथै यस रोगका कारण नेपालमा हजारौं मानिसहरु प्रभावित भईरहेका छन् भन्ने वास्तविकतालाई उजागर गर्दछ। त्यसैगरी विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका साझा तथा सामूहिक संकल्पमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र कटिबद्ध रहेको जानकारी पनि गर्दछ। यस वर्षको नारा लाई विस्तृत रूपमा व्याख्या गर्ने हो भने नाराले हाम्रो कर्तव्य र कार्यलाई व्यापक रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता उजागर गर्छ ।
प्रतिबद्धता गर्नुहोस्
सन् २०२३ को संयुक्त राष्ट्रसंघ उच्चस्तरीय बैठकमा विश्व नेताहरूले क्षयरोग (TB) अन्त्य गर्न प्रयास तीव्र पार्ने प्रतिज्ञा गरे। अब, हामीलाई वास्तविक कार्य आवश्यक छ: डब्ल्यूएचओको मार्गदर्शन र नीतिहरूको द्रुत कार्यान्वयन, सशक्त राष्ट्रिय रणनीतिहरू, र पूर्ण वित्तीय सहयोग।
लगानी गर्नुहोस्
क्षयरोग (TB) उचित वित्तीय सहयोग बिना पराजित हुन सक्दैन। नवीनतम प्रयोगलाई वित्तीय सहयोग प्रदान गर्न, क्षयरोग रोकथाम, उपचार, र हेरचाहको पहुँचमा वृद्धि गर्न, साथै अनुसन्धान र नवीनतम प्रयोगलाई अगाडि बढाउन हामीलाई साहसी र विविध रणनीति आवश्यक छ।
कार्यान्वयन गर्नुहोस्
प्रतिबद्धतालाई कार्यान्वयनमा परिणत गर्नु भनेको डब्ल्यूएचओद्धारा सिफारिस गरिएको कार्यक्रम/क्रियाकलापहरु विस्तार गर्नु हो: समयमै रोग पहिचान गर्नु, निदान गर्नु, रोकथाम तथा उच्च-गुणस्तरिय क्षयरोग उपचार सेवा प्रदान गर्नु विशेष गरी औषधी-प्रतिरोधी TB का लागि समुदायको नेतृत्व, नागरिक समाजको सक्रियता, र विभिन्न क्षेत्रहरूबीचको सहकार्यमा सफलता निर्भर गर्दछ ।
निष्कर्ष
नेपालमा क्षयरोग अझै पनि एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा विद्यमान छ, जसको न्यूनीकरणका लागि नेपाल सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै निःशुल्क उपचार, प्रभावकारी औषधि वितरण, तथा नवीनतम प्रविधिहरूको प्रयोग गर्दै आइरहेको छ। तथापि, उपचार सेवाको पहुँच अभिवृद्धि, आर्थिक स्रोतको अभाव हटाउने, तथा समुदाय स्तरमा जनचेतना वृद्धि गर्ने कार्य अझै आवश्यक छ। नेपाल सरकारले “क्षयरोग मुक्त नेपाल अभियान” तथा अन्य प्रभावकारी रणनीतिहरू अघि बढाइरहेको छ, जसबाट आगामी दिनमा क्षयरोग निवारणमा थप सफलता हासिल हुने अपेक्षा गरिएको छ। यस अभियानलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय निकायहरू, तथा समुदायबीच समन्वय आवश्यक छ।
नेपालबाट क्षयरोगलाई सधैंका लागि अन्त्य गर्नको लागि हाल भइरहेका नीतिगत कानूनी संस्थागत प्रकृयागत जनशक्ति लगायतका क्षेत्रमा थप सुधार गरी क्षयरोगका बिरामीलाई सहजरुपमा सेवाको पहुँच पुग्ने वातावरण निर्माण गर्नु पर्ने छ । यसका लागि भक्तपुरको ठिमीमा निर्माण भएको केन्द्रीय छातीरोग अस्पताललाई संचालनमा ल्याएर उपचारमा सहजता दिलाउँन सकिन्छ ।
स्थानीय सरकार र प्रदेश सरकारको सहयोग र समन्वयमा हरेक पालिकामा र ७७ वटै जिल्लामा क्षयरोगका लागि दक्ष कर्मचारीको व्यवस्था अनिवार्य रहेको छ । औषधी प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारमा सहजता प्रदान गर्न हरेक जिल्लाउपतार केन्द्रको अनिवार्य आवश्यकता छ । हालसम्म पनि सरकारी अस्पतालहरुमा क्षयरोगका बिरामीको सहज उपचारको व्यवस्था भएको पाइदैन । यसले गर्दा क्षयरोग लागेका मानिसहरुमा नैरस्यता आउँनुका साथै अपहेलनाको महसुस भएको अनुमान गर्न सकिन्छ । यसको अन्त्यका लागि सबै सरकारी निजी र सामुदायिक अस्पतालमा सबै प्रकारका क्षयरोगका बिरामी उपचारकोसुनिश्चितता गर्नु अहिलेको अनिवार्य आवश्यकता हो । हाल १४९ पालिकाहरुमा संचालनमा रहेको क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमलाई बाँकी ६०३ वटा पालिकामा पनि विस्तार गरी ७३५ वटै स्थानीय तहमा संचालन गरी समुदायमा भएका क्षयरोगका बिरामीको पहिचान गरी उनीहरुलाई उपचारको दायरामा ल्याउँने र समुदायमा क्षयरोग फैलिन नदिने गरी कार्यक्रम संचालनमा ल्याउँनु पर्ने छ । यसो गर्न सकेमा पाँच वर्षभित्रैमा नेपालबाट क्षयरोगलाई विदा गर्न सकिनेछ ।
विश्व क्षयरोग दिवसले हामीलाई क्षयरोग निवारणको अभियानलाई थप मजबुत बनाउने प्रेरणा दिन्छ। हरेक नागरिक, स्वास्थ्यकर्मी, तथा नीति निर्माताले यस रोग विरुद्धको लडाइँमा योगदान दिएर नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य हासिल गर्न सक्दछौं। संयुक्त प्रयास, प्रतिबद्धता, तथा नवीनतम प्रविधिको प्रयोगमार्फत मात्र हामी क्षयरोगको अन्त्य गर्दै एक स्वस्थ नेपाल निर्माण गर्न सक्नेछौं ।