काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्पूर्ण भवनको नक्सा पेश गर्न भन्दै पत्राचार गरेका छन् । प्रमुख साम्पाङले प्रतिष्ठानका सम्पूर्ण भवनहरुको कानूनमा व्यवस्था भए बमोजिम नक्सा पेश गर्न र नक्सा पास गर्न बाँकी भवनहरुको नक्सा पास गर्न भन्दै पत्राचार गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ को उपदफा १ बमोजिम नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भन्ने व्यवस्था रहेका कारण नक्सा पेश गर्न पत्राचार गरेको बताएका छन् ।
ऐनको दफा ३९ को उपदफा ४ र ५ बमोजिम यदि कसैले नक्सापास नगरी वा पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सापास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरी सो भवन वा त्यसको कुनै भाग भत्काउन सक्ने प्रावधान छ ।
त्यस्तै, भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा ८ बमोजिम निर्मित भवन नियमित अभिलेखीकरण गर्नै पर्ने व्यवस्था हुँदा भवनहरुको नक्सा पेश गर्न उपमहानगरप्रमुख साम्पाङले पत्राचार गरेका हुन् ।