काठमाडौं–उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नाममा नक्सा पास भएको जग्गामा धरान उपमहानगरपालिकाले बनाउन लागेको तरकारी बजार तत्काल नबनाउन अन्तरिम आदेश जारी भएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीस धुर्वराज नन्दको एकल इजलासले तरकारी बजारको संरचना तत्काल नबनाउन धरान उपमहानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले सो जग्गा प्रतिष्ठानको ग्रीनबेल्ट हो वा स्थानीय सरकारको स्वामित्वको हो भन्ने विवाद कायमै रहेको अवस्थामा भौतिक संरचना निर्माण हुँदा प्रतिष्ठानलाई असुविधा, क्षति र स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अन्तरिम आदेश जारी भएको उल्लेख छ ।
एक हप्ताअघि धरान उपमहानगरका नगरप्रमुख हर्क साङ्गपाङ्गले सो जग्गा स्थानीय तहको हकअधिकार क्षेत्र भएको हुँदा त्यहाँ तरकारी बजार स्थापना गर्ने भन्दै भवनको शिल्यान्यास गरेका थिए । उनले शिल्यान्यास गरेको क्षेत्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ग्रीनबेल्ट एरिया भएको र नापीमा किता नं. १३ प्रतिष्ठानको नाममा रहेको भन्दै विरोध भएको थियो ।
उपमहानगरपालिकाले संरचना निर्माण गर्न लागेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सो स्थानमा बनाउन लागिएका संरचना नबनाउनका लागि उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।