वीरगञ्ज–औषधि कम्पनी म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्ने भएको छ । ती औषधि उत्पादनका लागि नयाँ अत्याधुनिक प्यारेन्टल प्लान्ट निर्माण गरिरहेको छ ।
फर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक सुधीरप्रकाश मास्केले प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी बैशाखदेखि प्यारेन्टल तथा इन्जेक्टेबल औषधिहरु उत्पादन सुरु हुने जानकारी दिए । उनले नयाँ प्लान्टबाट थेराप्युटिक सेगमेन्टका विभिन्न औषधिहरु उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।
मास्केकाअनुसार नयाँ प्लान्टबाट अब क्रिटिकल केयर, पेन मेनेजमेन्ट, न्युरो, साइक्याट्री, अप्थाल्मिक, ईएनटी र एनेस्थेसिया सम्बन्धी उपचारमा प्रयोग हुने प्यारेन्टल तथा इन्जेक्टेबल औषधिहरु उत्पादन हुने छन् । नयाँ प्लान्टका लागि म्याग्नसले एक सय करोड बढी लगानी गरेको छ ।
‘औषधि उत्पादन आफैमा संवेदनशील कुरा हो । अझ त्यसमा पनि प्यारेन्टल तथा इन्जेक्टेवल औषधि उत्पादन अझ बढी संवेदनशील भयो । यसको गुणस्तरका लागि मापदण्ड, मेसिन तथा उपकरणहरु पनि महंगो हुने हुँदा लगानी बढेको हो,’ उनले भने, ‘हामी गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ, हाम्रो योजना अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने पनि छ । यसैले पनि हाम्रो प्लान्ट कुनै पनि कोणबाट विश्वस्तरीय छ।’
सो क्रममा उनले विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक प्यारेन्टेरल प्लान्ट (स्टेराइल प्लान्ट) निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । म्याग्नसले पत्रकार सम्मेलनअघि सञ्चारकर्मीहरुलाई उक्त नयाँ प्लान्ट भ्रमण गराएको थियो।
फर्माको क्वालिटी विभागका कमलेशकुमार यादवका अनुसार नयाँ विशेष प्रकारको उत्पादन प्लान्ट ल्याइएको छ । ‘यो सिधै ब्लडमा जान भएकाले ब्लड जस्तै शुद्ध बनाउनुपर्छ ’ यादवले भने ।
कम्पनीकी चिफ एक्जुक्युटिभ मञ्जुली श्रेष्ठले म्याग्नस तीव्र गतिमा विकास भएको औषधि कम्पनी भएको बताउँदै नयाँ बेञ्चमार्क तय गर्दै अघि बढिरहेको बताइन्।
म्याग्नस फर्मा सन् २००७ मा स्थापना भएर सन् २००९ देखि औषधि उत्पादन गर्न सुरु गरेको कम्पनी हो । विगत १६ वर्षको अवधिमा म्याग्नस फर्मा देशकै एक प्रमुख प्रतिष्ठित औषधि उत्पादकका रुपमा स्थापित छ ।
फर्माका अध्यक्ष सन्दिप तुल्सियानले म्याग्नस फर्माले अहिलेसम्म २०७ प्रकारका ओएसडी औषधिहरु ल्याइसकेको तथा यसको गुणस्तरीयता र विश्वसनीयता बजारमा स्थापित भैसकेको बताए।
‘अब आउन लागेको इन्जेक्टेबल औषधिहरु देशको स्वास्थ्य क्षेत्रको लागि अत्यावश्यक औषधिहरूमा पर्दछ । यी आउन लागेको औषधिहरुले गुणस्तरमा कुनै सम्झौता नगरिकन, देशको औषधि आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘यस अवसरमा म हाम्रो संस्थापक साथीहरु, कर्मचारी साथीहरु, सरकार, औषधि व्यवस्था विभाग तथा स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनु भएका पत्रकार साथीहरुप्रति सहयोग र सद्भावना का लागि आभार व्यक्त गर्न चाहन्छु।’
यो पनि पढ्नुस्