काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले एकै पटक ५०० चिकित्सकको स्थायी दरबन्दी खुलाउने घोषणा गरेका छन् । मंगलबार ७५ औं नेपाली चिकित्सक दिवसको अवसरमा नेपाल चिकित्सक संघले आयोजना गरेको कार्यक्रममा बोल्दैं उनले ५०० चिकित्सकको दरबरन्दी थपेर लोक सेवाबाट पदपूर्ति गर्ने घोषणा गरेका हुन् ।
‘अब एकै पल्ट थप ५०० स्थायी चिकित्सकको दरबन्दी थपेर लोक सेवाबाट खुलाउँछौं,’ उनले भने, ‘क्याबिनेटबाट ओएनएमको सैद्धान्तिक सहमति लिएका छौं ।’
स्वास्थ्यमन्त्री पौडेलले चिकित्सा शिक्षा विश्वमा विश्वसनीय रहेको उल्लेख गर्दै चिकित्सक उत्पादन हुने क्रम पनि बढिरहेको बताए । ‘प्रति हजार एक चिकित्सक पुग्छ । तर, उपस्थिती छैन,’ उनले भने । यो समस्या नीतिगत रुपमै समाधान गर्नुपर्ने उनले बताए ।
चिकित्सक पेशालाई सम्मानित र विश्वसनीय बनाउनुपर्ने बताउँदैं मन्त्री पौडेलले आवश्यक जनशक्ति टिकाउनुपर्ने आवश्यकता रहेको बताए । उनले सिमित पूर्वाधार र सिमित जनशक्ति रहेको अहिलेको अवस्थामा सेवाभावले काम गर्नुपर्नेमा जोड दिए ।
‘व्यवसायिक बढी भयो भन्न खोजेको होइन्, आम्दानीका हिसाबले बाहिर राम्रो छ,’ उनले थपे, ‘तर जन्मभूमी र समाजको लागि यही बस्नुपर्छ ।’ चिकित्सकहरु विशिष्ट क्षमताको जनशक्ति भएको उल्लेख गर्दै उनले चिकित्सकले दबाबमा काम गर्न नसक्ने बताए ।
सरकार चिकित्सकको सेवा, सुविधा र सुरक्षा बढाउन लागेको बताउँदैं मन्त्री पौडेलले राज्यले यो पेशालाई विशिष्टिकृत गर्नुपर्ने बताए । चिकित्सकको पारिश्रमिक श्रम ऐनले तोकेअनुसार नहुने बताउँदैं उनले त्यसका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए । ‘चिकित्सकको उन्नयन गर्न व्यवस्थित गरी कानुनी प्रबन्ध गर्नुपर्छ,’ उनले थपे ।