काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवका लागि डा. संगीता कौशल मिश्र, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा डा. संगीता, दोस्रो नम्बरमा डा. टंक र तेस्रो नम्बरमा डा. देवकाेटाको नाम सिफारिस गरेको हो ।
१२ फागुनबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि तीन जना अतिरिक्त सचिवको नाम सिफारिस भएको हो । स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्य सचिव छन् ।
समितिले १२ औं तहमा सबैभन्दा पहिले बढुवा भएकाले डा. संगीताको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो । डा. टंक र डा. विकास भने ११ औं र १२ औं तहमा सँगै बढुवा भएका हुन् । त्यही कारण सचिव सिफारिस समितिले ९ औं तहमा झण्डै एक हप्ता अगाडि बढुवा भएका आधारमा डा. टंकलाई दोस्रो नम्बर र डा. विकासलाई तेस्रो नम्बरमा सचिवका लागि सिफारिस गरेको हो ।
नियुक्ति सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गर्नेछ ।