काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको बताएका छन् । उनले त्यसका लागि दुई चरणमा काम भइसकेको समेत उल्लेख गरे ।
सोमबार संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताए । उनले स्वास्थ्य बीमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजनाअनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको समेत जानकारी दिए ।
केही दिनअघि एक कार्यक्रममा यही विषयमा विकृतिका उदाहरणसहित मन्त्री पौडेलले बोलेको अभिव्यक्ति मध्ये यसरी सकिंदैन भन्ने क्लिपहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेकामा यता मन्त्री पौडेलको सचिवालयले पूरा भिडियो हेरेर मात्र धारणा बनाउन आग्रह गरेको छ ।
मन्त्री पौडेलले बीमामा विकृति देखिएका कारण विनियोजित बजेटले खर्च नधान्ने अवस्था रहेकामा विकृति हटाउँदै नीतिगत सुधार गर्ने काम भैरहेको बताएको सचिवालयले उल्लेख गरेको छ ।
‘गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ,’ सचिवालयले प्रेस नोटमा भनेको छ, ‘सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।’