काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव बढुवा सिफारिस समितिको बैठक साँझ ५ बजे बस्ने भएको छ । १२ फागुनबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेलको अनिवार्य अवकाश भएपछि नयाँ स्वास्थ्य सचिवका लागि सिफारिस समितिको बैठक बस्न लागेको हो ।
स्वास्थ्य सचिव सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी, लोक सेवा आयोगका अध्यक्षले तोकेको आयोगको सदस्य एक जना सदस्य, मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी सदस्य छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ सदस्यसचिव छन् ।
समितिले स्वास्थ्य सचिव नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले तीन जनाबाट एक जनालाई सचिवमा नियुक्त गर्नेछ ।
स्वास्थ्य सचिवका लागि अतिरिक्त सचिवहरु डा. संगीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टंक बाराकोटी प्रतिस्पर्धामा छन् । १२ औं तहको अतिरिक्त सचिव वा ११ औं तह भएर पाँच वर्ष काम गरेको कर्मचारी जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा स्वास्थ्य सचिव नियुक्त हुने व्यवस्था छ ।
अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ औं तह भएर पाँच वर्ष काम गरेको अधिकारीको संख्या ६० भन्दा बढी छन् । डा. मिश्रा, डा. देवकोटा र डा. बाराकोटीसँगै उनीहरु पनि स्वास्थ्य सचिवका लागि योग्य हुनेछन् । २४ बैशाख २०७० मा ११ औं तहमा बढुवा भएका सुनिलराज शर्मा घिमिरेदेखि लिएर २९ पुस २०७५ मा बढुवा भएका डा. अशेष ढुंगाना र डा. प्रदीप केसीसम्म सचिवका लागि योग्य छन् ।
११ औं तहबाट स्वास्थ्य सचिवका अन्य दाबेदारहरुमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. सुधा देवकोटा, डा. कृष्ण पौडेल, डा. वासुदेव जनार्दन शर्मा उपाध्याय, डा. विनोदविन्दु शर्मा, डा. रुद्र मरासिनी, डा. बद्री चापागाई, डा. पियुष दाहाल, डा. अशोक श्रीपाईली, डा. रुना झा, डा. अनन्त अधिकारी, डा. सरोज शर्मालगायत रहेका छन् ।
तर, सरकारले तीन जना अतिरिक्त सचिवहरुबाटै स्वास्थ्य सचिव बनाउने सम्भावना प्रबल छ ।