काठमाडौं—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा.डा. दिनेशकुमार लम्साल नियुक्त भएका छन् । आइतबार बागमती प्रदेश सरकारले डा. लम्साललाई चार वर्षका लागि रेक्टरमा नियुक्त गरेको हो ।
यसअघि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनका रुपमा कार्यरत थिए । डा. लम्सालले राप्तीको डिन रहँदा एमबीबीएस कार्यक्रम सुरु गर्न र जर्नल प्रकाशित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका हुन् ।
त्यसपछि उनले लामो समय निजामती कर्मचारी अस्पतालमा बिताएका थिए । सन् २००९ देखि सन् २०२४ सम्म झण्डै १५ वर्ष निजामती कर्मचारी अस्पतालमा रहँदा उनले एसिस्टेन्ट डाइरेक्टरका रुपमा काम गर्नुका साथै लामो समय इमर्जेन्सी विभाग नेतृत्व गरे ।
डा. लम्सालअन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत रहेर ७ वर्षभन्दा बढी समय अध्यापनमा पनि सक्रिय रहे ।
सोभियत फेडेरेसनबाट एमबीबीएस गरेका डा. लम्साल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडी (जर्नल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन/फ्यामिली मेडिसिन) का पहिलो ब्याचका विद्यार्थी हुन् ।
लामो समय चिकित्सा क्षेत्रमा सक्रिय उनले तीन वर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा रहेका काम गरिसकेका छन् । डा. लम्सालले चिकित्सा शिक्षा आयोग, लोक सेवा आयोग, नीति तथा अनुसन्धान प्रतिष्ठान, विश्वविद्यालय अनुदान आयोग र काठमाडौं युनिभर्सिटीमा पनि विज्ञका रुपमा काम गरिरहेका छन् ।