काठमाडौं—संगठन संरचनाअनुसार मुलुककै जेठो वीर अस्पतालको कार्यकारी निर्देशक १२ औं तहको अधिकारी रहने व्यवस्था छ । वि.सं. २०७८ मा वीर अस्पताललाई ९६६ शैय्यामा स्तरोन्नती गरेर कार्यकारी निर्देशक १२ औं तहको सरकारी अधिकारी रहने संगठन संरचना बनाइएको थियो ।
उक्त संगठन संरचना बनेको तीन वर्ष बितिसक्दा पनि वीरले १२ औं तहको नेतृत्व पाउन सकेको छैन । पुस २०७८ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले क्रान्तिकारी निर्णय गर्दै १२ औं तहका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीरको कमाण्ड सुम्पने साहस गरेका थिए ।
तर, डा. लोहनी वीरको कार्यकारी निर्देशक बनाइएपछि गएको पराकम्प सिंहदरबारसम्मै पुग्यो । जसका कारण उनको निर्णय तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेपका कारण मसी नसुक्दैं परिवर्तन भयो । यसमा वीरमै कार्यरत तत्कालीन प्रधानमन्त्री देउवाको पार्टी निकटका चिकित्सक र कर्मचारीहरुको भूमिका थियो । कतिसम्म भने डा. लोहनीलाई हाजिर लगाउन नदिनकै लागि केही कर्मचारी वीरको गेटमै प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएको अनौठो दृश्य देखिएको थियो ।
वीरको सुधारका लागि हक्की स्वभावका डा. लोहनीको नेतृत्वको आवश्यकता महसुस गरेरै मन्त्री खतिवडाले त्यो निर्णय गरेका थिए । तर, त्यो निर्णय एक दिन पनि टिक्न सकेन । त्यसयता वीर अस्पतालमा १२ औं तहको नेतृत्वको परिकल्पना गरिएको संगठन संरचना कार्यन्वयनमा आउन सकेको छैन । बरु, १० औं तहका चिकित्सकले वीर अस्पतालको निमित्त निर्देशकका रुपमा अस्पतालको नेतृत्व गरिरहेका छन् ।
रोचक त के भने वीरमा दुई दर्जनभन्दा बढी ११ औं तहका चिकित्सकहरु छन् । तर, १२ औं तहका अधिकारीको नियुक्ति त एकादेशको कथा भएको छ नै, अस्पतालभित्रकै सिनियर चिकित्सकले पनि नेतृत्व पाउन सकेका छैनन् । ती दुई दर्जन चिकित्सक जुनियरमुनि रहेर काम गर्न विवश वीरको दशाले नेपालको समग्र प्रणालीगत संरचनामा रहेको त्रुटिलाई दर्शाउँछ ।
४ फागुन (आज)बाट वीरका निमित्त निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएको छ । अब युवा स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई वीर अस्पतालको संगठन संरचनाअनुसार नै १२ औं तहको निर्देशक नियुक्त गरेर प्रणालीमा रहेको त्रुटिलाई सच्चाएर संस्थालाई बलियो नेतृत्व सुम्पने अवसर छ । यसअघि उनले भेरी, कोशी र नारायणी अस्पतालमा अस्पतालको संगठन संरचनाअनुसार नै ११ औं तहका चिकित्सकलाई नेतृत्वमा ल्याएका थिए । तर, भरतपुर अस्पतालको नेतृत्व ल्याउँदा भने उनले त्यसलाई निरन्तरता दिन सकेनन् । स्रोतकाअनुसार मन्त्री पौडेलले ११ औं तहका चिकित्सकलाई नै भरतपुरको नेतृत्व दिन चाहेका थिए तर पावर सेन्टरहरुको रुचिका अगाडि उनी नतमस्तक बन्न पुगे ।
मन्त्री पौडेल वीर अस्पतालको निर्देशक नियुक्ति संगठन संरचनाअनुसार गर्छन् कि पूर्ववर्तीकै मार्गमा हिड्छन् त्यो केही दिनमै देखिनेछ । मुलुकको स्वास्थ्य प्रणालीको ऐना वीर अस्पतालको ‘प्याराडाइम सिफ्ट’ पनि उनको यही एक निर्णयमा निर्भर रहेको वीरका कर्मचारीहरु बताउँछन् । ‘जुनियरलाई हाकिम मानेर काम गर्ने अवस्थाबाट वीर अस्पतालाई मुक्त गरेर संगठन संरचनाअनुसार मन्त्रालयले १२ औं तहको सिनियर अधिकारीलाई निर्देशकमा नियुक्त गर्नुपर्छ,’ वीरका एक चिकित्सकले भने, ‘प्रभावशाली व्यक्तित्व भएको सिनियर आएपछि सबै काम गर्नका लागि बाध्य हुन्छन् । त्यसले वीर अस्पतालको अहिलेको अवस्थामा परिवर्तन ल्याउने छ ।’ ९ औं तहसम्मका कर्मचारी कासमु १० औं तहका निर्देशकको हातमा हुन्छ तर १० औं तह र ११ औं तहका कर्मचारीहरुको कासुम उनीहरु स्वयंले भर्ने भएकोले उनीहरु निमित्त निर्देशकलाई टेर्दैनन् ।
स्वास्थ्यमन्त्री सामु १२ औं तहको कार्यकारी निर्देशक दिन नसकेपनि ११ औं तहका दुई दर्जन बढी चिकित्सकहरुमध्येबाट नेतृत्व छान्ने अर्को अवसर पनि छन् । एक अर्का चिकित्सकले भने वीरमा अहिलेका मन्त्रीले पनि आफ्नो राजनीतिक अनुकूल हुने निर्णय लिन सक्ने सम्भावना व्यक्त गरे । ‘उहाँले आफू अनुकूलको मान्छे ल्याएर वीरको निर्देशक बनाउने सम्भावना छ,’ ती चिकित्सकले भने ।
स्वास्थ्यमन्त्री तथा सत्तारुढ दलले वीरको निर्देशक नियुक्तिमा आफूअनुकूल व्यक्ति ल्याउन १० औं तह वा सह—प्राध्यापकले पनि अस्पतालको निमित्त निर्देशक हुन सक्ने व्यवस्थालाई कानुनी छिद्रलाई रुपमा प्रयोग गरिरहेका छन् । स्वास्थ्यमन्त्री पौडेल पनि त्यही छिद्र प्रयोग गरेर आफूअनुकूल कनिष्ठलाई वीरको नेतृत्व सुम्पन्छन् वा अस्पतालको संरचनागत सुधारमा आफ्नो अठोटलाई प्रमाणित गर्छन् त्यो केही दिनमै थाहा हुनेछ ।