काठमाडौं—सरकारले १ फागुनबाट नसर्ने रोगको जोखिम कम गर्न नसर्ने रोग पहिचानका लागि एक महिने अभियान सुरु गरेको छ । सो अभियान सुरु भएको जानकारी दिन स्वास्थ्य सेवा विभागले गरेको एक कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले नसर्ने रोग र आफूले भोगेको विषयलाई यसरी सुनाए :
मानिसको उमेर बढ्दैं जाँदा रोगले च्याप्दैं जान्छ । म मा पनि डाइवेटिजको समस्या छ । म पनि डाइवेटिजको औषधि खान्छु । चाहेको कुरा खान चाहिँ दिदैंनन् दुःख लाग्छ । सोचेको जस्तो खान पाइदैंन्, नपाउँदा कहिलेकाही विरक्तै लाग्छ । त्यही खान पाइयोस् भनेर औषधि खान खोज्छु म । औषधि खाएपछि मधुमेह कन्ट्रोल होला अनि अलिअलि खान पाइन्छ कि भनेर पनि हो ।
मुख्य कुरा म पढेलेखेको डाक्टर, एमडी गरेको डाक्टर जाँचिरहनुपर्छ भन्ने घमण्ड थियो । पढे लेखेका मान्छेमा होइन् भन्ने कुरा चिर्न पनि नसर्ने रोगको जाँच गर्नुपर्छ भन्ने अभियान आवश्यक भयो । मलाई रिंगटा लाग्यो केही होइन होला भनेर बसे । साह्रै रिंगटा लागेपछि एउटाले सुगर जाँचौं भन्यो । मलाई सुगर नै छैन, कहाँबाट हुन्छ । जबरजस्ती रगत लिएर गएका थिए, पछि रिजल्ट त २८० पुगेको रहेछ । त्यो व्यक्ति खङरङग भयो—डा. साब हजुरकै हो होइन् फेरि गरौ न । आफूलाई हो भन्ने थाहा भयो, बोल्न सकिएको छैन । त्यहाँबाट दिन सुरु भएका हुन् आज ६/७ वर्ष भयो । तनावमा यो झन बढ्छ भन्ने कुरा आफ्नो ठाउँमा छ । तर, यसलाई कन्ट्रोलमा राखेर अगाडि बढ्नु छ ।
हामीलाई जीवनशैली परिवर्तन गर्न गाह्रो छ । पहिलो कुरा शारीरिक व्यायाम गर्नुपर्छ भन्ने पनि थाहा छ । जाडरक्सी खान हुँदैन भन्ने पनि थाहा छ । चुरोट खान हुँदैन भन्ने पनि थाहा छ । तर, खाने व्यक्तिले खाइरहेकै हुन्छ । अहिले हामीले भनेको मेरो स्वास्थ्य मेरो सहभागिता भनेको आफ्नो चाहिँ पहिले गरौँ न भन्न खोजेको हो । अरुलाई ज्ञान हामी सजिलै दिन्छौं । आफूले त्यही बिगारेको हुँदा तपाईंले यो नगर्नुहोस् भन्नुभन्दा पनि मैले गरेको नगर्नुहोस् भन्ने हेतुले यो क्याम्पेन राखेको हो ।
रोग लाग्न नदिन के—के गर्नुपर्छ त्यो गरौं । रोग लागिसकेपछि उपचार गर्नैपर्छ । नसर्ने रोगको उपचारमा आयुर्वेद, एलोप्याथी कुन विधीबाट हुन्छ, त्यो विधीमा सधैँ ओपन हुनुपर्छ । हामीले बुझेअनुसार नसर्ने रोग लागिसकेपछि निको हुँदैन भन्ने छ तर कम गर्न सकिन्छ भन्ने बुझाइ छ । आयुर्वेदका साथीहरुको भनाइअनुसार यदि निको हुन्छ भने त्यही आधारमा जाउ मन्त्रालय तयार छ ।
अहिले ७१ प्रतिशत रोगको भार नसर्ने रोगको छ । जुन चिन्ताजनक विषय हो । जसलाई घटाउनुपर्नेछ । त्यही घटाउनका लागि नै यो अभियान हो । यो अभियानका लागि चार वाटा कुरालाई ध्यान दिएका छौं । पहिलो मधुमेहका लागि रगतमा चिनीको मात्र छ छैन भनेर हेर्ने । किड्नी रोगका लागि आधारभूत जाँच गर्ने, रक्तचाप नाप्ने र मोटोपन छ/छैन भनेर जाँच गर्ने । यी कुरा स्थानीय तहसँगको सहकार्यमा गर्ने र जाँच गर्दा आएको कुरालाई सम्बन्धित मानिसलाई अवस्था जानकारी दिने हो । यदि थप उपचार आवश्यक भए सम्बन्धित ठाउँमा उपचारका लागि पठाउने हो । यो अभियानको रुपमा एक महिना चल्छ । तर, अस्पताल आएकालाई सधैँ गर्छौ । तर, यो महिना विशेष ध्यान दिन खोजिएको हो ।