काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि १ फागुनबाट एक महिने परीक्षण अभियान चलाउने भएको छ । उक्त परीक्षण अभियाननमा ३० वर्षमाथिका एक करोड मानिसलाई समेट्ने लक्ष्य मन्त्रालयको छ ।
१६ मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त अभियान सम्बन्धि निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले १ फागुनबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजनाअन्तर्गत अभियान थालिएको हो,’ मन्त्री पौडेलले भने, ‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
मन्त्रालयले यो सेवा निःशुल्क उपलब्ध गराउनेछ । ‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ डा. बुढाथोकीले भने ।
फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ ।