काठमाडौं—निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि ११ जनाको आवेदन परेको छ । मुख्यसचिव एकनारायण अर्याल अध्यक्ष रहेको अस्पताल विकास समितिले १० माघमा कार्यकारी निर्देशकका लागि आवेदन खुला गरेको थियो ।
१५ दिन समय राखेर खुलाइएको आवेदन दिने म्यादसम्म ११ जना चिकित्सकको आवेदन परेको हो । आवेदन दिनेहरुमा अहिलेका कार्यकारी निर्देशक प्रा.डा. विधाननिधी पौडेल छन् ।
डा. पौडेलसँगै सिभिल अस्पतालमै कार्यरत रक्त रोग विशेषज्ञ डा. विशेष पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोहनचन्द्र रेग्मी र डा. अनुजजंग रायमाझीले पनि कार्यकारी निर्देशकका लागि आवेदन बुझाएका छन् ।
यसैगरी, ट्रमा सेन्टरका पूर्व मेसुद्वय डा. रुद्र मरासिनी र डा. प्रमोद यादव, कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले पनि कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।
वीर अस्पतालमा अर्थोपेडिक्स सर्जन डा. श्रवण थापा, डा. रोशन न्यौपाने, डा. विश्वरमण पौडेल र डा. अजित खनालले पनि निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।
२५ फागुनबाट डा. पौडेलको चार वर्षे कार्यकाल सकिन लागेकाले निजामती कर्मचारी अस्पतालले एक महिना अगावै नयाँ कार्यकारी निर्देशक छनोटको प्रक्रिया अगाडि बढाएको हो । आवेदकहरुमध्येबाट व्यवसायिक कार्ययोजनाका आधारमा सर्टलिष्ट गरिनेछ । सर्टलिष्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्तापछि नयाँ कार्यकारी निर्देशक छनोट हुनेछ ।