काठमाडौं—सरकारले लुम्बिनी प्रदेशको दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुविधासम्पन्न राप्ती शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । घोराही उपमहानगरपालिका—२४ ट्राफिक चोकमा अनुमानित ४ अर्ब ८७ करोड ८९ लाख १७ हजार ९७६ रुपैयाँ लागतमा बन्ने उक्त ४०० शैय्याको आठ तलाको शिक्षण अस्पताल निर्माण सुरु भएको ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अस्पतालले गत मंसिरमा वन तथा वातावरण मन्त्रालयमा पेश गरेको वातावरणीय प्रभाव मुल्यांक प्रतिवेदन (ईआईए)अनुसार ४२६४.५७ वर्ग किलोमिटर क्षेत्रफलमा बन्ने उक्त अस्पतालमा दुई बेसमेन्ट, एक भुइँतला र पाँच तला हुनेछन् । यो अस्पताल बनेसँगै ११३ शैय्याको अस्पताल ४०० शैय्यामा स्तरोन्नती हुनेछ । भवनमा सात वटा लिफ्ट हुनेछन् । उक्त भवन भूकम्प प्रतिरोधी हुनेछ ।
प्रतिवेदनअनुसार लोयर बेसमेन्टमा स्टोर र ८४ कार र ९० बाइक पार्किङ क्षमताको पार्किङ रहनेछ । अपर बेसमेन्टमा रेडियोलोजी, सिएसएसडी, प्याथोलोजी, फार्मेसी, स्टोर, स्टाफ चेन्जिङ रुम र स्टोर हुनेछ । भुइँतलामा रजिष्ट्रेशन बिलिङ अफिस, स्टोर, इमर्जेन्सी, ओपीडी, प्रोसिडर रुम, ओटी, पोष्ट ओपी, नर्सिङ रुम, स्टाफ रुम, सीयु, स्याम्पल कलेक्सन, आइसोलेसन, एटीएम लाउन्ज, इलेक्ट्रीकल रुम र वेटिङ रुमलगायत रहनेछ ।
![](https://ap-south-1.linodeobjects.com/healthaawaj/2025/02/rapti-teching-hospital.png)
यसैगरी, नयाँ भवनको पहिलो तालमा ओटी, सिटिभीएस, क्याथ ल्याब, काउन्सिलिङ रुम, सीयु/मेड्स, आइसोलेसन, प्री पोष्ट ओपी, डक्टर रुम, डियु स्टोर, फार्मेसी, डक्टर लाउन्ज, रेजिडेन्ट डक्टर रुमलगायतका संरचना हुनेछन् । दोस्रो तलामा डायलाइसिस, इण्डोस्कोपी, कोलोनोस्कोपी, सीयु/मेड्स, डियु, प्री पोष्टअप, ईआरसीपी, आइसोलेसन, ईईसी, ईएमजी, आईसीयु, एनआईसीयु रहनेछन् ।
तेस्रो तलामा जनरल वार्ड, काउन्सिलिङ रुम, टियुटोरियल रुम, सीयु एण्ड डियु स्टोर र चौथो तलामा पनि जनरल वार्ड, काउन्सिलिङ रुम, टियुटोरियल रुम, सीयु एण्ड डियु स्टोर रहनेछन् । यसैगरी पाँचौ तलामा भने अडिटोरियम हल, लेक्चरर रुम, ग्रुप डिस्क्सन, स्टाफ रुम,रेजिडेन्ट डक्टर्स रुम, काउन्सिलिङ रुम रहनेछन् ।
प्रतिवेदनमा यो संरचना सञ्चालनमा आउँदा ५५९ जना जनशक्तिले रोजगारी पाउने उल्लेख छ । शिक्षण अस्पतालमा अस्पतालका सुशासन र व्यवस्थापनका लागि २५ जना कर्मचारी रहने आँकलन गरिएको छ । जसमध्ये मेडिकल डाइरेक्टर, नर्सिङ डाइरेक्टर, प्रशासकीय अधिकृत, अस्पताल व्यवस्थापन अधिकृत र सूचना अधिकृत १/१ जना गरी ५ जना रहनेछन् । यसैगरी, आईटी अधिकृत ४ जना, बायोमेडिकल इन्जिनियर/सहायक ५ जना, मेडिकल रेकर्डर (अधिकृत/सहायक) ६ जना, अस्पताल वित्तिय व्यवस्थापक (लेखा अधिकृत/लेखापाल/स.लेखापाल) ३ जना, स्टोर किपर (सहायक/अधिकृत) १ जना र रिसेप्सनिष्ट १ जना रहनेछन् ।
क्लिनिकल सेवाका लागि विशेषज्ञ चिकित्सक ४ जना (विशेषज्ञ विभागअनुसार थप १ प्रति विभाग प्रति १०० शैय्या) सहित ३४ जना विशेषज्ञ चिकित्सक, ९६ जना मेडिकल अधिकृत (२४ प्रति सय शैय्या), नर्सिङ सुपरभाइजर ३ जना, नर्सिङ अधिकृत, ३२ जना (८ प्रति सय शैय्या) , नर्सिङ स्टाफ १४० जना (४० प्रति सय शैय्या) पारामेडिकल स्टाफ/हे.अ. ४८ जना (१२ प्रति सय शैय्या), ब. औषधि व्यवस्थापक/फार्मेसी अधिकृत/फार्मेसी सहायक ४८ जना (१/२/५ प्रति सय शैय्या) एनेस्थेटिक सहायक १६ जना (४ प्रति सय शैय्या), डेन्टल हाइजिनिष्ट, डेन्टल सहायक, ओएम/अप्टोमेष्ट्री, अप्थाल्मिक सहायक २/२ जना, मेडिको लिगल र फोरेन्सिक सेवा ३ जना, फिजियो १६ जना, डाइटिसन र सिनियर डाइटिसियन १/१ जना रहेन प्रक्षेपण गरिएको छ ।
अस्पताल सहयोग सेवाका लागि २० जना अन्य कर्मचारी रहने र त्यसबाहेक सुरक्षा, ह.चा.स., सुरक्षा गार्ड, बगैचे, कार्यलय सहयोगी आवश्यकताअनुसार लिने सकिने उल्लेख छ । ४०० शैय्याको अस्पतालका लागि प्रस्ताव गरिएको यो जनशक्ति बिरामीको चाप हेरेर घटबढ हुने सक्ने प्रतिवेदनमा छ ।
२९ असोज २०७४ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन प्रमाणीकरण भएसँगै प्रतिष्ठान स्थापना भएको हो । मन्त्रिपरिषद्बाट ४०० शैय्याको अस्पताल पारित भएतापनि ११३ शैय्याको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण भएको थियो । प्रतिष्ठानले एमबीबीएस, एमडी, बिडिएस, नर्सिङ इत्यादि शिक्षा प्रदान गरी चिकित्सा जनशक्ति उत्पादन र स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।