काठमाडौं–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सहयोग नियोग (युएसएआईडी)का कार्यक्रम रोक्दा नेपाल सरकारको बजेटमा रहेको स्वास्थ्यतर्फको ५२ करोड २४ लाख ४० हजार रुपैयाँ रोकिएको छ । सो रकम रोकिदा स्वास्थ्यका १ सय ६८ वटा कार्यक्रम प्रभावित हुने देखिएको छ ।
९ वटा विषयगत कार्यक्रमभित्र ती कार्यक्रम रहेका थिए । युएसएआईडीको अनुदान रोकिदा सबैभन्दा बढी परिवार कल्याण कार्यक्रमलाई असर गरेको छ । सो अन्तर्गतका ३५ कार्यक्रमको १४ करोड ८० लाख रुपैयाँ रकम रोकिएको छ ।
दोस्रोमा स्वास्थ्य व्यवस्थापनका कार्यक्रमलाई असर गरेको छ । स्वास्थ्य व्यवस्थापनअन्तर्गत ४४ वटा कार्यक्रमको १३ करोड ६५ लाख रुपैयाँ रोकिएको छ ।
त्यसैगरी, महामारी नियन्त्रणका ४१ कार्यक्रमको ६ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको ३ करोड १७ लाख रुपैयाँ रोकिएको छ । मिल्क बैक स्थापना तथा सञ्चालनका लागि १ करोड ५१ लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको ३ करोड ५० लाख रुपैयाँ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको २३ वटा कार्यक्रमको ४ करोड ६ लाख रुपैयाँ रोकिएको छ ।
त्यस्तै, उपचारात्मक सेवा कार्यक्रमको ४९ लाख रुपैयाँ र नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमको ४ करोड ४६ लाख रुपैयाँ रोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबाहेक विभिन्न आईएनजिओअन्तर्गत यो भन्दा धेरै अनुदान रकममार्फत स्वास्थ्यमा कार्यक्रम संचालन भइरहेका छन् । जसमा एफएचआई, निक साइमन, आइपासजस्ता संस्थाले ठूलो अनुदान रकममार्फत काम गर्दै आएका छन् ।