काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो भएको बताएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियानको शुभारम्भका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सरकारले नयाँ कामको थालनी गरेको बताए ।
‘एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो । हामीले नयाँ काम थालेका छौं,’ प्रधानमन्त्रीले भने । यसले साधारण होइन् क्यान्सर जस्तो लाग्नै नदिने उनको भनाइ थियो। ‘अब खुसी र सुरक्षित भविष्यतर्फ जादैछौं,’ उनले थपे ।
प्रधानमन्त्रीले सुखमय र रोगब्याधिबाट मुक्त समाज बनाउन चाहेको उल्लेख गर्दै ६ फागुनसम्म देशव्यापी रुपमा सञ्चालन हुने खोप अभियानमा १० वर्षदेखि १४ वर्षसम्मका विद्यालय भित्र र बाहिर रहेका किशोरीहरुलाई सहभागी हुन आग्रह गरे ।
‘मानिसले रोगलाई जित्न सक्छ भन्ने मान्यतालाई यो खोपले स्थापित गर्छ,’ उनले भने, ‘मानिस निरोगी होस रोग नलागोस् भन्ने हाम्रो ध्येय हो ।’ उनले स्वस्थ जीवनका लागि स्वस्थ आहार—विहार र आराममा ध्यान दिन समेत सुझाव दिए । प्रधानमन्त्रीले बिरामी भएकाले सहज उपचार पाउनका लागि अस्पताल जानुपर्ने बताउँदैं आकस्मिक उपचार, प्रजनन अधिकार र ट्रमाजस्ता समस्याका लागि अनिवार्य अस्पताल आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले बिफरबाट आमा गुमाएको स्मरण गर्दै अहिले विफर उन्मुलन भएको बताए । ‘फिरबाट मेरी आमा मर्नुभएको हो । त्यही भएर बिफरको खोप आउँदा म खोप सबैले लगाउन भनेर गाउँ—गाउँ कुद्थे,’ उनले स्मरण गरे, ‘अहिले बिफर उन्मुलन भयो । मलेरिया उन्मुलन भयो । अभियान चलायौं पोलियो उन्मुलन भयो । कोभिडले तीन पटक भेट्यो तर गाह्रो परेन ।’ उनले खोपकै कारण बाल मृत्युदर र मातृ मृत्युदर घटेको र औसत आयु बढेको बताए । ‘सबै सरकारका कार्यक्रम प्राथमिकताका कार्यक्रम हुन्,’ प्रधानमन्त्रीले थपे, ‘एचपीभी खोप अभियान विश्वको एजेन्डा हो, नेपालको मात्र होइन ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खोप अभियानमा २७ हजार स्वास्थ्य कार्यकर्ता र ५२ हजार स्वास्थ्य स्वयंसेविका खटिएको बताए । उनले देशभरका ८ हजार खोप केन्द्र स्थापना गरेर खोप अभियान अगाडि बढाइएको उल्लेख गर्दै खोप जोखिम रहित रहेको बताए ।
‘खोपले स्वास्थ्यमा प्रतिकूल असर गर्दैन्,’ उनले भने । उनले नेपालको भविष्यलाई पाठेघरको क्यान्सर नहोस् भनेर यो अभियान चलाइएको बताए ।
अहिलेकै जसरी बिरामी बढ्दै गएमा क्षमताभन्दा बढीको उपचार सम्भव नहुने बताउँदैं मन्त्री पौडेलले निरोगी बनाउने उपाय अवलम्वन नगरे गाह्रो अवस्था सिर्जना हुनेमा जोड दिए । ‘नेपालीलाई स्वस्थ बनाउने अभियान चलाउनु आवश्यक छ,’ उनले भने ।