काठमाडौं—सरकारले एचपीभी खोप अभियानअन्तर्गत देशभरका १६ लाख ८८ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीको खोप दिने भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममाझ स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले १० देखि १४ वर्षका बालिकालाई दिइने खोप विद्यालय केन्द्रीत हुने बताए । ‘यो खोप हामी १० देखि १४ वर्षका किशोरीहरुलाई दिदैंछौं,’ उनले भने, ‘खोप अभियान विद्यालय केन्द्रीत हुनेछ ।’ उनले आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा एचपीभी खोपलाई राख्ने बताए । एक पटक दिइने यो खोपले पाठेघरको मुखको क्यान्सरबाट बचाउनले पोखरेलले उल्लेख गरे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले अहिले क्यान्सरको भार बढेको उल्लेख गर्दै रोग बर्डेनको ११ प्रतिशत हिस्सा क्यान्सरको भएको बताए । ‘वर्षेनी १६ हजारको मृत्यु क्यान्सरबाट हुन्छ,’ उनले भने, ‘४० प्रतिशत क्यान्सर पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सर हो । ’
डा. देवकोटाले १६ लाख ८८ हजार किशोरीलाई यो अभियानका क्रममा एचपीभी खोप दिइने जानकारी दिए । उनकाअनुसार ५ लाखको पाठेघरको क्यान्सरको स्क्रीनिङसमेत गरिनेछ ।
गाभी र नेपाल सरकारको संयुक्त लगानीमा बहुक्षेत्रीय सहकार्यमा सञ्चालनमा ल्याइएको यो खोप अभियान २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई यो खोप दिइनेछ ।