काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिन प्रतिदिन बिरामीको संख्या बढ्दैं जाँदा राज्यले उपचारमा थेग्न नसक्ने अवस्था आउन लागेको बताएका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नवनिर्वाचित कार्यसमिति तथा सल्लाहकारहरुलाई बधाई दिन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरेको बताए ।
उनले निदानात्मक काम भने हुन नसकेको बताउँदैं अब त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले बिरामी भएका नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भएतापनि अब निदानात्मक कार्यक्रममा जोड नदिए उपचार सेवा पूर्ण ढंगले पु¥याउन सक्ने अवस्था नरहने बताए ।
‘सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरिरहेको छ तथापी पर्याप्त भने छैन,’ उनले भने ‘उपचारात्मकको तुलनामा निदानात्मक क्षेत्रमा काम हुन सकेको छैन । त्यही कारण बिरामीको संख्या बढ्दै गएको छ र यसरी बढिरहने हो भने राज्यले जति नै चासो राखेतापनि सबै नागरिकलाई पूर्ण ढंगले उपचार सेवा पु¥याउन सक्ने अवस्था रहँदैंन् ।’
उनले मानिस इच्छाले बिरामी नहुने बताउँदै नागरिकलाई रोगहरु लाग्न नदिने विषयमा सचेत गराउन सके बिरामी हुने नागरिकको संख्या कम हुने बताए । पौडेलले सरकारले तोकेका ५ तहका अस्पतालमा एउटा तहलाई निदानात्मक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको जानाकरी दिए । पछिल्लो समय शारीरिक बिरामीभन्दा पनि मानसिक बिरामी बढ्दै गएको भन्दै त्यसलाई रोक्न सचेतना अभिवृद्धि गर्नुपर्ने र एउटा माध्यम स्वास्थ्य पत्रकारहरु रहेकोमा जोड दिए ।
मन्त्री पौडेलले बन्दै गरेको स्वास्थ्य प्रवर्द्धन तथा सञ्चार रणनीतिमा स्वास्थ्य पत्रकार मञ्चको संस्थागत सहभागिता गराएर अगाडि बढ्न आफू तयार रहेको बताए । उनले स्वास्थ्य पत्रकार र स्वास्थ्य मन्त्रालय दुवैको चासो नागरिकको स्वास्थ्य भएका कारण सहकार्य गर्न आफू र मन्त्रालय सधैँ खुला भएको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रदासाद मैनालीले पत्रकारहरुलाई सहज सूचना उपलब्ध गराउन सबै सूचना अधिकारीहरुलाई निर्देशन दिएको बताए । साथै, मञ्चसँग सहकार्य गर्न मन्त्रालय खुला रहेको बताए ।
स्वास्थ्य पत्रकार मञ्च, नेपालका अध्यक्ष भिषा काफ्लेले स्वास्थ्यमा लेख्ने पत्रकारहरु र सरकारको ध्येय साझा रुपमा नागरिकलाई स्वस्थ बनाउने रहेको हुँदा सहकार्य गर्न तयार रहेको बताए । उनले नीतिगत व्यवस्था गरी मञ्चलाई संस्थागत रुपमा नै दीर्घकालीन सहकार्यको प्रस्ताव गरेका थिए ।