२०८१ माघ १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग

डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग


काठमाडौं—नेपाल फार्मेसी संघले गैरकानुनी न्युट्रासिटिकल्सहरु चिकित्सकहरुलाई सिफारिस गर्न नदिन माग गरेको छ । बिहीबार नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले जारी गरेको विज्ञप्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्युट्रासिटिकल्स बिक्री वितरणको सम्पूर्ण दोष फार्मेसी तथा खुद्रा औषधि पसलहरुलाई गरिएको भन्दैं आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ माघमा विज्ञप्ती जारी गर्दै न्युट्रासिटिकल्सलाई औषधिका रुपमा दर्ता गर्न र बिक्री गर्न नदिएको उल्लेख गरेको थियो । उसले यस्ता उत्पादनहरु बिक्री, वितरण गर्ने कार्य रोक्न वार्षिक ३ हजारभन्दा बढी फार्मेसी अनुगमन भइरहेको र जिल्ला अदालतहरुमा १०० भन्दा बढी मुद्धाहरु दर्ता गरिएको जनाएको थियो । यस्ता कार्यहरु रोक्न पनि मन्त्रालयले आग्रह गरेको थियो ।

मन्त्रालयको उक्त विज्ञप्तीपछि संघले आफूले गुणस्तरीय स्वास्थ्य सेवा, औषधि तथा स्वास्थ्य सामग्रीप्रति सचेत र जिम्मेवार रहँदैं आएको जनाएको छ । ‘पछिल्लो समय औषधि व्यवस्था विभागबाट जारी गरिएका विभिन्न सूचना र निर्देशनहरू फार्मेसी तथा खुद्रा औषधि पसलहरूलाई लक्षित गरिएको देखिन्,’ उसले भनेको छ ।

संघले न्युट्रास्युटिकल्स औषधीय गुण भएका उत्पादन भएको उल्लेख गर्दै जसलाई आयात गर्दा खाद्य सामग्रीका रूपमा दर्ता गरिने तर बिक्री गर्दा डाक्टरहरूको सिफारिसमा औषधिको रूपमा वितरण गरिने दावी गरेको छ । ‘बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवार आयातकर्ता र डाक्टरहरू नै हुन्,’ संघले भनेको छ, ‘तर, अहिले यस समस्याको दोष औषधि व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय, खुद्रा औषधि विक्रेता र फार्मासिस्टहरूलाई थोपर्न खोजिएको छ जुन अन्यायपूर्ण छ।’

संघ यस्तो एकतर्फी निर्णय अस्वीकार गरेको बताउँदैं डाक्टरहरू खुलेआम औषधि व्यवस्था विभागमा दर्ता नभएका उत्पादनहरू सिफारिस गरिरहेका दावी गरेको छ । ‘तर, मन्त्रालय र विभागले यसलाई रोक्न कुनै कदम चाल्न चाहिरहेको देखिँदैन्,’ उसले भनेको छ, ‘यदि औषधि ऐन, २०३५ सबैका लागि लागु हुन्छ भने डाक्टरहरूलाई अपवाद किन बनाइएको छ ? मन्त्रालयले गैरकानुनी वस्तुहरूको प्रयोग रोक्न डाक्टरहरूलाई सचेत गराउनु पर्दैन ?’

संघले यस्ता उत्पादनहरू गैरकानुनी भएमा डाक्टरहरूलाई सिफारिस गर्न नदिन निर्देशनसमेत आग्रह गरेको छ । ‘अन्याथा फार्मेसी व्यवसायीहरूलाई मात्र दण्डित गर्नु अन्याय हुनेछ। आवश्यकता परे हामी यस्ता न्युट्रिस्युटिकल्स वस्तुहरूको र्‍याक खाली गरेर प्रतिवेदन बुझाउन तयार छौं,’ संघले भनेको छ, ‘यस्ता पक्षपाती नीतिहरू स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्न सक्छन्, त्यसैले न्यायोचित कदम चाल्न अनुरोध गर्दछौं।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ