काठमाडौं—ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले १८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) ल्याउने भएको छ । २१ माघदेखि ५ फागुनसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।
ओम मेगाश्रीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिने १८ लाख कित्ता शेयरमध्ये पहिलो चरणमा उक्त सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरुका लागि जारी हुनेछ ।
जसअनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि १ करोड ८० लाख कित्ता शेयर निष्काशन हुनेछ । यसैगरी, ३ प्रतिशत कर्मचारीहरुलाई, ५ प्रतिशत मर्चेन्ट बैक र बाँकी रहेको ८२ प्रतिशत कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठकाअनुसार सर्वसाधारणका शेयर फागुन दोस्रो हप्तासम्ममा निष्काशन हुनेछ । ‘पहिलो चरणमा २१ माघदेखि फागुन ५ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी हुन्छ,’ उनले भने, ‘फागुन दोस्रो सातातिर सर्वसाधारणका लागि सेयर जारी हुनेछ ।’
कम्पनीले आईपीओमार्फत थपिएको रकमबाट आंशिक कर्जा घटाउने, आई एण्ड इयर ड्रप प्लान्ट बनाउने, सेफ प्लान्ट र भेट प्लान्ट विस्तार गर्ने योजना बनाएको छ ।
ओम मेगाश्री वि.सं. २०७३ सालमा प्रा.लि.का रुपमा सुरु भएको हो । वि.सं. २०७९ बाट यो पब्लिक कम्पनीमा गएको हो । अहिले ओम मेगाश्रीले विभिन्न प्रकारका ३७ वटा औषधिहरु उत्पादन गरिरहेको छ ।
२१ माघबाट आईपीओ जारी भएसँगै ओम मेगाश्री फर्मास्युटिकल्स क्षेत्रबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुनेछ ।